रौतहट । फाल्गुन २० गत
मानव विकास सूचकांकमा रौतहट निकै पछाडि छ । देशको करिब अन्तिम स्थानमा रहेको रौतहटमा मेला र महायज्ञहरुको भने खूब आकर्षण हुन्छ । मेला र महायज्ञलाई रोजगारीसित कत्तिको जोडिएको छ र यसले स्थानीयलाई दिने फाइदा के हो भन्ने कुरोतर्फ खासै ध्यान दिइने गरिएको पाइएको छेन । कतिपय ठाउँमा परम्पराको नाउँमा मेला लगाउने र मेलापछि मेलाको उपलब्धिको गणना नगर्ने प्रवृत्ति रहेको छ भने कतिपय ठाउँमा महायज्ञ आफ्नो गाउँमा मानिसलाई बोलाउन तथा त्यसमा आफ्नो भूमिका देखाउनका लागि गरिएको हुन्छ । मेला लगाउने पक्षले मेलाको संस्कृति र महायज्ञ गराउनेले महायज्ञको मूल मर्मलाई आफ्नो गाउँ वा जीवनमा कत्तिको लागू गर्दछन् भन्ने लेखाजोखा गर्ने हाम्रो समाज बन्न सकेको छैन । यस दिशामा हाम्रो समाजले अझै धेरै कुरा गर्न बाँकी नै रहेको छ ।
महायज्ञ र मेला दुवै कुन रुपमा समाजका लागि फाइदाजनक हुन सक्दछन् ? कसरी समाजमा असल संस्कृतिको निर्माण तथा विकासमा यी दुवै सहायक हुन सक्छन् ? जुन क्षेत्रमा हाम्रो समाज पछाडि परेको छ, त्यस क्षेत्रलाई अगाडि बढाउन यस्ता कामहरुले कसरी सहयोग गर्न सक्दछन् भन्ने विषय र पक्षमा पनि अहिलेको पुस्ताले विचार पु¥याउनु आवश्यक देखिएको छ । मेला वा महोत्सव वा महायज्ञ कुनै खराब होइन, यस्ता कुराको विरोध पनि गरिएको होइन तर अझ फाइदाजनक कसरी बनाउन सकिन्छ र तिनीहरुमा देखिएका विकृतिलाई कसरी कम गर्न सकिन्छ भन्ने कुराले पनि निकै महत्व राख्दछ ।
रौतहटबासीको महायज्ञ र मेलाप्रति निकै धेरै आकर्षण रहेको छ । यस आकर्षणलाई कम नगरी यसलाई यस जिल्लाको विकास तथा मानव विकास सूचकांकसित कसरी जोड्न सकिन्छ भन्ने पक्ष महत्वपूर्ण रहेको छ । जिल्लाको भौतिक पूर्वाधार नेपालको सन्दर्भमा अब धेरै नराम्रोमा गन्न सकिन्न । अहिलेको आधारमा आगामी पाँच वर्षभित्रमा जिल्लाले भौतिक विकासको क्षेत्रमा फड्को मार्ने देखिएको छ तर अन्य क्षेत्रमा पनि जिल्लाले विकास गर्नु आवश्यक छ । महायज्ञ र मेलाले जिल्लाको विकासमा पनि सहयोग गर्ने हो भने थप उपलब्धिमूलक हुने देखिन्छ ।