वर्तमानकाल समाचारदाता । रौतहट । फागुण २० गते
पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई अनिर्णयको बन्दीबाट जोगाउन कांग्रेस जस्तोसुकै चुनौतिको सामना गर्न तयार रहेको बताउनुभएको छ ।
देशलाई दुर्घटनाबाट जोगाउन नेपाली कांग्रेस सत्यको पक्षमा मात्र लाग्ने सभापति देउहाले बताउनुभएको छ ।
सभापति देउवाले देशको वर्तमान राजनितिक अवस्था हेरेर आफु चिन्तित रहेको र आउँदा दिनमा अब सत्यलाई मात्र साथ दिने बताउनुभएको छ ।
रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित बुधवार श्री विष्णु महायज्ञको उदघाटन गर्न आउनुभएका कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्ने बताउनुभएको हो ।
यज्ञको उदघाटन गर्नुभन्दा अघि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै देउवाले यस्तो बताउनुभएको छ ।
कांग्रेस आम नेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई साथ दिन भन्छ उसैलाई नै आफुहरुले साथ दिने सभापति देउवाले बताउनुभयो ।
मुलुकलाई निकास दिन तथा विकास र समृद्धिको दिशामा अगाडि बढाउन कांग्रेस जुनसुकै चुनौतिलाई पनि सामना गर्न तयार रहेको उहाँले बताउनुभयो ।
एक अर्को प्रसंगमा बोल्नुहुदै सभापति देउवाले रौतहटबाट सांसदमा निर्वाचित भएर जेलमा रहेका पार्टीका नेता महम्मद अफताव आलमलाई सर्वोच्च अदालतले न्याय दिनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
यस्तै पुर्व प्रधानमन्त्री देउवाले कोरोना भाइरस निकै घातक रोग रहेकोले यसबाट सुरक्षित रहन सबै देशबासीलाई आग्रह समेत गर्नुभएको छ ।
देशमा अझै कोरोना भाइरसको जोखिम उच्च रहिरहेकोले यसबाट बच्न आवश्यक सुरक्षा सतर्कता अपनाउन उहाँले सबैलाई आग्रह गरेका हुन ।
कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादव, पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्र, गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव लगाएत पार्टिका विभिन्न नेता कार्यकर्ता सहित रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गरुडाका प्रहरी नायव उपरीक्षक रवि रावल लगाएतको उपस्थिती रहेको थियो ।