ओम प्रकाश यादव । फागुण २० गते
रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुरमा आजदेखी शुरु भएको श्री विष्णु पुराण महायज्ञमा विवाद शुरु भएको छ । सार्वजनिक यज्ञमा वडा अध्यक्ष राम सिंहासन यादवले आफना व्यक्तिगत फोटो सहितको बैनर टाँसेपछि यज्ञमा विवाद शुरु भएको हो । सार्वजनिक यज्ञ भएकोले यसमा साधु सन्तको फोटो राख्नुपर्ने स्थानीयहरुको माग छ तर वडा अध्यक्ष यादवले यज्ञ स्थल र त्यसको वरीपरी बासँबाट बनाइएको गेटहरुमा आफनै फोटो सहितको बैनर टासेका छन । सार्वजनिक यज्ञमा वडा अध्यक्षले आफना व्यक्तिगत फोटो सहितको बैनर टास्न नपाउने भन्दै स्थानीयहरुले विरोध गरेका छन । फोटोकै विषयलाई लिएर आज विहान स्थानीय र वडा अध्यक्षको समुहबीच झडपको स्थिती समेत सृजना भएको थियो । स्थानीयहरुले वडा अध्यक्षको फोटो सहितको बैनर च्यातन खोज्दा वडा अध्यक्ष पक्षले रोकेपछि विवाद भै झडपको स्थीती आएको स्थानीय सुनिल यादवले बताएका छन । सो क्रममा स्थानीयहरुले कतिपय गेटमा टाँसिएको वडा अध्यक्ष यादवको फोटो च्यातेर फालिदिएको छ भने केहि गेटमै अझै उनको फोटो टासिएको नै छ । बैनर च्यातनेलाई नाकको हडी भाचिदिने वडा अध्यक्षको पक्षबाट धम्की समेत आएको स्थानीयहरुले बताएका छन । तर वडा अध्यक्ष यादवले यज्ञ हेर्न आउने आगन्तुकहरुलाई वडा अध्यक्षको हैसिएतले स्वागत गर्नका लागि मात्र फोटो टाँसेको र यसलाई अन्याथा नलिन आग्रह गरेका छन ।