मृगौला बचाउने कि ?– सम्पादकिय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २६, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
मृगौला बचाउने कि ?– सम्पादकिय


फाल्गुन २६ गते
मानव शरीरमा मृगौलाको महत्व धेरै छ । सामान्य अवस्थामा मृगौलाले गर्ने कामबारे सर्वसाधारणलाई जानकारी हुँदैन र अन्य रोगजस्तो मृगौला रोग होइन भन्ने पनि चिकित्सकहरुको भनाइ हुन्छ । मृगौला खराब भएपछि वा फेल भएपछि मात्र कसैलाई थाहा हुन्छ । यसकारण मृगौलामा किन खराबी आउँछ भन्ने विषयमा चिकित्सकहरुले आफ्नो विचार प्रकट गरेका छन् । मृगौला किन खराब वा रोगी हुन्छ त ?
चर्को नुनको सेवन गर्ने, पर्याप्त आराम नगर्ने, प्रशस्त पानी नपिउने, समयमा पिसाब नफेर्ने, पत्रु खानाको सेवन गर्ने, पेन किलर औषधिहरुको सेवन गर्ने, मधुमेह रोगको उपचार नगर्ने, धेरै माछा मास अन्डा खाने, नियमित रक्सी सेवन गर्ने, उच्च रक्तचापलाई अनियन्त्रित छाडिदिने, भारी धातुहरु मिसाइएको औषधि सेवन गर्ने, कृत्रिम रंगहरु मिसिएको खानेकुराहरु खाने, लामो समयसम्म पिसाब रोकेर राख्ने तथा संक्रामक रोगहरुको बेलैमा उपचार नगर्ने जस्ता कारणले मृगौलामा खराबी हुने चिकित्सकहरुको भनाइ रहेको छ ।
वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले वर्षको एकपटक कम्तीमा मृगौला परीक्षण गर्नु पर्दछ भन्ने सल्लाह दिन्छन् । मृगौला रोगबाट बच्न सामान्य अवस्थामा पर्याप्त मात्रामा शुद्ध पानी पिउनुपर्ने सल्लाह चिकित्सकहरुले दिने गरेका छन् । उसै पनि हरेक दिन कम्तीमा साढे दुई लिटर पिसाब एकजनाले गर्नु पर्दछ भन्दछन् । पानी कति पिउने भन्ने कुरो शरीरको आवश्यकता र काम तथा मौसमको आधारमा मात्र सम्भव हुन्छ तर शरीरलाई पर्याप्त पानी पुगेको र नपुगेको भन्ने कुरा पिसाबको रंग हेरेर सजिलै भन्न सकिने भनाइ पनि रहेको छ । पिसाबको रंग पानीको जस्तो हुनुपर्दछ र जति पहेंलो हुन्छ त्यत्ति नै शरीरलाई पानी कम छ भन्ने बुझ्नु पर्दछ ।
मृगौलाबारे यो कुनै चिकित्सकीय सल्लाह होइन तर आज मृगौला दिवस भएकोले मृगौलाबारे अन्य माध्यमले आधिकारिक जानकारी लिन यसले प्रोत्साहन गर्न सक्छ । मृगौला रोगबारे समयमै सचेत हुन सकियो भने शरीर, स्वास्थ्य र सम्पत्ति तथा तनाव आदिबाट मुक्त भएर बाँच्न सकिन्छ । मृगौलाको स्याहार बुझेर गरौँ, जानेर गरौँ । यसबारे आधिकारिक जानकारीहरु लिइराखौँ र सम्भव भएसम्म वर्षमा एकचोटि मृगौलाको परीक्षण गरौँ वा मृगौलामा कुनै समस्या छ कि भनी कम्तीमा पिसाब परीक्षण गराऔँ ।

ताजा अपडेट

खोजी गर्नुहोस