फाल्गुन २७ गते
फागुनको कृष्ण त्रयोदशी तथा चतुर्दशीको दिनलाई शैव सम्प्रदायका लागि विशेष दिन मानिन्छ । शैव सम्प्रदाय भनेको शिवलाई आराध्य देव मान्ने समुदाय हो । यो हिन्दू समुदायभित्रकै एक समूह हो । उसो त समग्र हिन्दूहरुले शिवलाई उत्तिकै श्रद्धा र भक्तिपूर्वक पूजा तथा अर्चना गर्दछन् । हिन्दु धर्मअनुसार सृष्टिका त्रिदेवमध्ये ब्रह्मा, विष्णु र महेश हुन् । ब्रह्माले सृष्टि गर्ने, विष्णुले परिपालन गर्ने तथा शिवले संहार गर्ने मान्यता रहेको छ । सामान्यतया मन्दिरको स्थापना गरी ब्रह्मा, विष्णु र महेशमध्ये महेशकै पूजा बढी गरिएको पाइन्छ । उसो त विष्णुलाई विभिन्न रुपमा विभिन्न स्थान र दिनमा पूजा गर्ने चलन रहेको छ तर शिवलाई विशेष पूजा भने महाशिवरात्रीकै दिन गरिन्छ । महाशिवरात्री भन्नु चाहिँ यही दिन हो । यस दिन विभिन्न शिवालयहरुमा ठूलो भीडभाड देख्न सकिन्छ । यस दिन भगवान शिवको पुजाआजा धुमधामसित गर्ने गर्दछन् । भक्तजनहरु बिहानदेखि नुहाइ धुवाई चोखिएर मठ, मन्दिरहरुमा पुजामा व्यस्त देखिन्छन् ।
यो पर्व किन यसै दिन मनाइन्छ भन्ने विषयमा विभिन्न मान्यताहरु रहेका छन् । माता पार्वतीे पतिको रुपमा शिवलाई पाउनका लागि घोर तपस्या गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ भन्ने एउटा मान्यता हो भने अर्को मान्यता यो पनि रहेको छ कि यस दिन नै शिवको प्रादुृर्भाव भएको हो । अर्थात महाशिवरात्रीकै दिन भगवान शिवको जन्म भएको हो र उनको जन्मजयन्ती मनाउन शिवभक्तहरुले शिवरात्रीलाई महाशिवरात्री बनाएका हुन् । के पनि मानिन्छ भने यो दिन शिवलाई एक वर्षमा सबैभन्दा बढी मन पर्ने दिन हो । मानवको एक वर्षमध्ये सबैभन्दा बढी मन पर्ने दिन भएकोले यस दिनलाई शिवरात्री र शिवपूजकहरुले महाशिवरात्री बनाएका हुन् ।
विश्वभर आजको दिन शिवको विभिन्न रुपको पूजा गर्ने चलन रहेको छ । शिवसँग सम्बन्धित मन्दिर तथा घरमा शिवको फोटो वा प्रतीक राखेर पूजा नगर्ने हिन्दु निकै कम होलान् आजको दिन । यसै कारणले शिव मन्दिरमा आजको दिन बढी भीड लाग्ने गरेको हो । हाम्रो परिवेशमा रौतहट, बारा तथा सर्लाहीका दर्जनौँ स्थानमा शिवको मन्दिरमा पूजा गर्ने गरिन्छ । निस्सन्देह सर्लाही, रौतहट र बारा गरी तीन जिल्लामा सबैभन्दा चर्चित र प्रसिद्ध रौतहटको गरुडा नगरपालिकामा रहेको शिवनगरको महादेव मन्दिर नै हो । विश्वेश्वरनाथ महादेव नाम रहेको शिवनगर महादेवको मेला र मन्दिरको चर्चा सबैतिर रहेको देखिन्छ । शिवनगरबाहेक रौतहटको ईशनाथ महादेव, मौलापुरको पुरातात्विक महादेव, गढीमाई नगरपालिकाको समनपुरमा रहेको प्राचीन भीमेश्वर महादेव, चन्द्रपुरको नुनथर महादेव र चन्द्रपुरकै नयाँ बस्तीको महादेव, गौरको महादेवपटीस्थित महादेव मन्दिर, मर्यादपुरको महादेव मन्दिरलगायत अन्य शिवालयहरुमा पनि निकै भीड लाग्ने गरेको छ । यसै गरी बाराको काँटघाट महादेव मन्दिर पनि निकै प्रसिद्ध रहेको छ भने कलैयाको सिद्धेश्वर मन्दिर पनि त्यत्तिकै चर्चित रहेको छ । यसै गरी सर्लाहीको मूर्तिया लगायतका विभिन्न महादेव मन्दिरहरु रहेका छन् । महोत्तरीको जलेश्वरनाथ महादेव र पर्साको पर्सागढी महादेव र अलखिया मठ महादेव पनि हाम्रो परिवेशमा प्रसिद्ध महादेव मन्दिरहरु हुन् । सर्लाहीको सिमानानजिक भारतमा रहेको सुकेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरुको निकै भीड लाग्ने गरेको छ ।
आफूले चिताएको कुरा वा भाकल पूरा हुने भएकाले शिवप्रति भक्तहरुको विश्वास बढ्दो छ । शिवालय तथा मन्दिरहरुमा हरेक वर्ष शिवको पूजा गर्नेहरुको भीड बढ्दो रहेको छ । आजको दिन भारतको झारखन्ड राज्यको बाबाधाममा पनि उत्तिकै भीड हुन्छ भने नेपालको राजधानी काठमाडौँमा रहेको पशुपतिनाथको मन्दिरमा पनि झन् भीड लाग्ने गरेको छ दर्शनार्थीहरुको । विभिन्न जिल्लाहरुबाट र भारतबाट आउने भक्तजनहरु दुई चार दिन पहिलेदेखि नै काठमाडौँमा पुगी बसेका हुन्छन् । पशुपतिनाथ मन्दिरको छेउछाउमा सन्त महात्मा, जोगी तथा माग्नेहरुको उतिकै भिड देख्न सकिन्छ । महादेव मन्दिरको वरिवरि जहाँ पनि माग्नेहरुको संख्या बढी हुनुलाई स्वाभाविक मानिन्छ । झन्डै यो सर्वत्र देखिएको छ र पाइएको छ । कतिपयले माग्ने र शिवको यज्ञ वा पूजालाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् ।
हाम्रो परिवेशको शिव मन्दिरहरुका शिवरात्रीमा मात्र नभएर श्रीपन्चमीका दिन पनि ठूलो मेला लाग्दछ । यो हाम्रो समाजको विशेषता हो । यस क्षेत्रमा रहेका हरेक शिवालयमा श्रीपन्चमीको मेला लाग्दछ र महाशिवरात्रीको मेलालाई सामान्य भाषामा तेरस भनेर चिनिन्छ । उसो त हरेक तेरसमा पनि शिवालयहरुमा मानिस पुग्ने गरेका छन् तर बढी मात्रामा वैशाखको तेरस, साउनको तेरस, भदौको तेरस र फागुनको तेरसको दिन मानिसहरु शिव मन्दिरहरुमा बढी पुग्ने गरेका छन् । सामान्यता के बुझाइ रहेको छ भने जुन सुकै महिनाको जुनसुकै पक्षको तेरस (त्रयोदशी) को दिन शिवलाई मनपर्ने दिन हो । यस दिन शिवको पूजा गर्नाले शिव प्रसन्न हुन्छन् र चिताएको पूरा हुन्छ । यो त विश्वास नै हो मानिसको कि मनको कामना पूरा हुन्छ र यही विश्वासले मानिसहरुले शिवको पूजा गर्दछन् ।
यो समग्र हिन्दु समुदायको विशेष पर्व हो । यसैले गर्दा हरेक हिन्दुले शिवको पूजा गर्दछन् । मुख्य गरी अझै पनि थारु समुदायको विशेष उपस्थिति रहेको देखिन्छ । थारु समुदायका महिला तथा पुरुष समान रुपमा रौतहटका विभिन्न शिवालयहरुमा अत्यधिक मात्रामा पुग्ने गरेका छन् । हुन त अन्य समुदायको महिला वापुरुष कम हुन्छन् भन्ने होइन । अन्य समुदायका मानिसले पनि शिवलाई उत्तिकै मान्ने गरेका छन् तर पनि शिवालयहरुमा थारु समुदायको उपस्थितिले यो पनि स्पष्ट हुन्छ कि यस क्षेत्रका आदिबासीको संज्ञा पाएका थारुहरुले आदिकालदेखि नै शिवको पूजा तथा अर्चना गर्दै आएका छन् । यो क्रम अहिलेसम्म चलिरहेको छ तथा शिवको पूजाको विभिन्न प्रकारमा थारुहरुको पनि विशेष योगदान तथा स्थान रहेको छ ।
शिवलाई के चढाउने भन्ने कुरामा अनेकता पाइएको छ । सामान्यता शिवलाई मन पर्ने भनेको जल र बेलपत्र हो भनिन्छ तर गाँजा र भाङ पनि शिवलाई खूब चढाइएको पाइन्छ । यसै गरी धतुरो पनि चढाइन्छ । धतुरो नभएमा धतुरोको फूल वा पात जे भए पनि चढाउँछन् । यी नशालु पदार्थहरु हुन् । यसले समाजलाई यस्ता कुरा सेवन गर्नेतर्फ पनि प्रेरित गर्दछ तर हाम्रो संस्कृतिमा यो चलिआएको परम्परा हो । परम्परालाई मान्नु पर्दछ भन्ने मान्यता पनि रहेको छ । शिवलाई चढाइएको सामग्री चढाउनेले खानु हुँदैन भन्ने मान्यता पनि रहेको छ । यसले गर्दा यो पनि बुझ्न सजिलो हुन्छ कि शिवलाई चढाइने त्यस किसिमका सामग्री आफूले खानु हुँदैन कि ? जे होस्, यो चलन हाम्रो समाजमा परम्परादेखि नै चलिआएको छ ।
महाशिवरात्रीलाई देशले राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक विदा दिने गरेको छ । यस वर्ष पनि सार्वजनिक विदा रहेको छ । यसले गर्दा महाशिवरात्रीको महत्व अझ बढेको छ । महाशिवरात्री सबै हिन्दूहरुको साझा पर्व हो तर यस पर्वको अवसरमा विभिन्न ठाउँमा मेला लाग्ने तथा मेलामा अन्य धर्मावलम्बीले पनि आर्थिक तथा अन्य किसिमको लाभ लिन सकिने वातावरण बनेको छ । यसले गर्दा यसको स्वरुप साझा पर्वको बन्दै गएको छ । शिवको पूजा र प्रसिद्धि हाम्रो समुदायमा हरेक वर्ष बढ्दै गएको छ ।
महाशिवरात्रीको सम्पूर्ण हिन्दु समुदायमा शुभकामना । यस पर्वका श्रद्धालु तथा व्रतालुहरुको मनोकामना पूरा होओस् भन्ने कामना पनि छ ।