फाल्गुन २८ गते
पृथ्वी, एउटा ग्रह जो व्रह्माण्डमा भएका विभिन्न ग्रहहरुमध्ये जीवित ग्रहको रुपमा स्थापित छ । पृथ्वी र यसको बारेमा विभिन्न कालखण्डमा पृथक पृथक समाचार र सूचनाहरु प्रेषित भइरहन्छन् । कहिले भ्रामक र कहिले वास्तविक गरी विवादित तर्क वितर्क पनि नआएका होइनन । भलै ग्यालिलियोले बनाएको टेलिस्कोपले पृथ्वीलाई यसको गोलाद्र्धको आधारमा चेप्टो देख्यो । त्योभन्दा अगाडि पृथ्वी गोलो थियो । कालान्तरमा यसको “अध्ययन र अनुसन्धान हुँदै जाँदा के थाहा यसको आकार प्रकार मानवले सोचेको जस्तो नहुने पो हो कि । आँखाले एकैचोटि एउटा भकुण्डोलाई परिधीय रुपमा हेरेर गोलो छ भनेजस्तै पृथ्वीलाई गोलो छ वा चेप्टो छ भन्ने कुरा यही पृथ्वी वस्ने बहुसङख्यक मानवले बनाएको त होइन र यसलाई एक जोडी आँखाले जहाँसम्म देख्छन् त्यसलाई मात्र पृथ्वी भन्ने कि मान्छेले बनाएको कृत्रिम यन्त्रले देखे जतिलाई भन्ने । यो कुरा चर्चाको विषय होला नहोला तर वास्तविक रुपमा पृथ्वी भनेको हावापानी ढुङ्गामाटो, बोटविरुवा, कीटपतङ्ग, पशुपंक्षी लगायत अनगिन्ति सूक्ष्म जीवाणु तथा जैविक जगतको सुरक्षित वासस्थान भन्ने हो भन्ने कुरामा दुविधा नहोला । यसरी जैविक जगतलाई आदिम कालदेखि वर्तमानकालसम्म अस्तित्वमा टिकाइराख्न अजैविक तत्वको भूमिका पनि अहम नै छ ।
पृथ्वी के हो ? यो कसरी उत्पत्ति भयो ? यसको उत्पत्तिका बारेमा धार्मिक, पौराणिक तथा वैज्ञानिक कथ्य तथा प्रमाणित सिद्धान्तहरु के के छन् भन्ने कुरा पनि आ–आफ्नो कोणबाट निक्र्योल गर्न जरुरी देखिन्छ । वैदिक दर्शनअनुसार ब्रह्माले यसको सृष्टि गरेका हुन् विष्णुले लालनपालन र महेश्वर (शिव)ले संहार गरिरहेका छन् । त्यसै गरी अन्य धर्मअनुसार पनि आ–आफ्नै तर्क र विश्वास होलान् । यी जे जस्ता धार्मिक तथा पौराणिक आधार भए तापनि प्रामाणिक आधार भने विज्ञानलाई नै छोड्नु पर्ने देखिन्छ । आखिर प्रमाण विनाको कुनै तथ्य तथ्याङ्क तथा घटनालाई सहजै स्वीकार गर्न पनि त सकिदैन । विज्ञानलाई नै आधार मानेर पृथ्वीको बारेमा वकालत गर्दा यो आजै आगोको अथाह ठूलो डल्लो सूर्यबाट विविध कारणवस एक सानो टुक्रा चोइटिएर करीब ४.५४ विलिएन वर्ष पहिले ९ करोड २९ लाख माइल वा १ सय अढ्चालिस दशमलव २८ मिलियन किलोमिटर टाढा आएर शून्य वातावरणमा अडिएको वा झुण्डिएको पाइन्छ । यसको आफ्नै क्षेत्रफल भने ५ सय १० दशमलव ९ मिलिएन स्क्वाएर किलोमिटर छ । यहाँनेर अडिनका लागि कुनै उँधोको आधार र झुण्डिनका लागि पनि उँभोबाट कुनै अवलोकन गर्न सकिने तथ्य पाइदैन तर ब्रह्माण्डीय संरचनामा उथलपुथल भयो, विकास निर्माण चरम विन्दुमा पुग्यो, अव पृथ्वीले थाम्न सक्दैन भने कतै अव पृथ्वीले थाम्न सक्दैन यो कतै ठोकिन्छ कि भासिन्छ वा आफ्नो यथास्थानबाट हलचल हुन्छ कि भन्ने चर्चा परिचर्चा पनि चल्ने गरेको पाइन्छ । जे जस्ता आधार अध्ययन वा अनुसन्धाानलाई माने पनि नमाने पनि यो सम्पूर्ण प्राणी जगतका लागि एउटा आधारस्तम्भ भने हो । यसको आफ्नो गति छ विशेषता छ र आफ्नै किसिमको वहन क्षमता तथा सुन्दरता छ जुन कुरा अहिलेसम्मको अत्याधुनिक खोज तथा अनुसन्धानले अन्य ग्रहमा छ भनेर ठोकुवा गर्न सकेको छैन ।
हो पृथ्वी एउटा सुन्दर रचना हो चाहे धर्म मानौँ चाहे विज्ञान मानौँ जसले करोडौँको जीवन रक्षा गरिरहेको छ । यो निशुल्क उपहार हो समग्र जगतका लागि विडम्वना । यस्तो उपहारलाई मान्छेले क्षणिक स्वार्थका लागि दुरुपयोग गर्दै गइरहेको अवस्था छ । यसलाई विभिन्न खण्ड उपखण्डमा सीमित बनाउँदै लगियो । यस निःशुल्क उपहारलाई सशुल्क बनाइयो । भागवण्डा गरियो । सीमा नाका कोरियो । हत्या, हिंसा, युद्ध लगायत नानाथरिका वितण्डा मच्चाइयो । हजारौँको ज्यान गयो, लाखौँ घाइते भए, करोडौँ चिन्तित छन् । यद्यपि न यो पहिले आफ्नो थियो न अहिले छ र न कालान्तरमा हुनेछ । व्यर्थमा मानवीय किचलो बढेको मात्र हो । समयको वहावसँगै जननी मानिने यस पृथ्वीलाई अधिकतम रुपवाट दोहन गरियो र अन्तमा बिरामी पारियो । विभिन्न रोगवाट संक्रमण हुनका लागि किटाणु, परजीवी वा भाइरसको अहम भूमिका भएझँै पृथ्वीलाई विरामी बनाउने प्रमुख कारक मानव नै देखियो ।
लक्षणहरु
पृथ्वी आफैमा निष्पक्ष, गुणवान, सुन्दर र विविध छटाले भरिपूर्ण भएर पनि नचाहँदा नचाहँदै विभिन्न प्रकारका समस्याहरु झेलिरहनु परेको छ । यस्तो हुनुमा जनसंख्या वृद्धिलाई प्रमुख कारण मानिन्छ । जनसंख्या वृद्धि तिव्रदरमा हँुदै जाँदा आवश्यकताहरु पनि दिनप्रतिदिन वृद्धि हुँदै गए । आवश्यकताहरु अनगिन्ति र असीमित हुँदै थिए भने ती असीमित आवश्यकता परिपूर्ति गर्ने साधनस्रोत भने सीमित भएकोले प्रत्यक्ष रुपमा पृथ्वीमा भएका साधन र स्रोतको अत्यधिक रुपमा दोहन हुँदै गयो । मान्छेले आफ्नो मस्तिष्कको उच्चतम प्रयोग गर्दै जाँदा विभिन्न अत्याधुनिक शस्त्र, अस्त्र, औजार तथा प्रविधिको पनि विकास गर्दै गयो । फलस्वरुप पृथ्वीमा विभिन्न प्रकारका नकारात्मक असर र परिणामहरु देखा पर्न थाले किनभने हर प्रकारका मानवीय क्रियाकलाप पृथ्वीको आफ्नो वहन क्षमताभन्दा बढी छन् । मानवीय आविष्कार तथा क्रियाकलापले गर्दा पृथ्वीमा उत्पन्न विभिन्न विषालु ग्याँसले पृथ्वी भन्दा औसतमा ३० कि.मि.माथि रहेको ओजोन तह हरेक वर्ष पातलिँदै जाँदा प्वाल पर्ने अवस्था सिर्जना भएपछि सूर्यबाट आउने परावैजनिक किरण, ताप र विषालु ग्याँसले पृथ्वीको तापक्रम बढ्दै जान थाल्यो जसलाई ग्लोबल वार्मिङ्ग भनिन्छ । जलवायु परिवर्तन यसैको कारण हो । तापक्रम बढ्दै जाँदा हिमाली मुलुकका हिमश्रृङ्खलाहरुको साथै अन्टाकेटीकामा भएको आइस पग्ँिलदै गयो जसले समुन्द्री सतह बढ्न पुग्यो । मालदिभ्स लगायत विश्वका कतिपय टापु मुलुकहरु विश्व मानचित्रमा आफ्नो नक्सा नक्सा नै नरहने हो कि भन्ने चिन्ताले ग्रसित भएका कारण यसको समाधानका लागि चिन्तित गरिरहेका छन् । अर्कोतर्फ नेपाल लगायत हिमचुचुराहरुले पहिचान वनाएका कतिपय मुलुकहरु सोही हिउँ पग्लेर उचाइ घट्दै जानाले आफ्नो उँचो भएको राष्ट्रिय शिर झुकाउने अवस्था निम्तिदै गएको व्यथा पनि टड्कारो छ । यसका साथै सीमित खेतियोग्य जमिनले खाद्यान्नको आपूर्ति पूरा गर्न नसक्दा वन विनाश बढ्दै गएको छ । वनजंगल क्षेत्र कृषि उत्पादनका लागि र कृषि उत्पादन गर्ने क्षेत्र भवन, पुल, आरोधारो, औधोगिक क्षेत्रतर्फ विस्तार हुन थालेपछि एकातिर वन विनाश र अर्कोतिर विभिन्न किसिमका प्रदुषण पनि बढ्दै गइरहेको अवस्था छ । खाद्यान्न उत्पादन वृद्धि गर्न गराउनका लागि प्रयोग गरिने विभिन्न रासायनिक मलहरुले सीमित समयसम्म उत्पादनमा वृद्धि भएता पनि कालान्तरमा माटोको उर्वराशक्ति ह्रास हुँदै गइरहेको छ ।
यसका साथै वन विनाशको कारण खोलानाला सुक्दै जानु, खडेरी पर्नु, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, अम्लीय वर्षा, हिले वर्षाको प्रत्यक्ष असर देखिँदै आएको छ । यसले पार्ने अशर के कस्तो हुन्छ र भइरहेको छ भन्ने कुरा हामीहरु मझ छर्लङ्ग छ । वन विनाशका कारण विश्व पर्यावरणीय पक्षमा गहन अशर पर्न गई सम्पूर्ण प्राणीको जीवन नै खतरामा छ । प्रदूषणले गर्दा मानव मात्र नभई जलचर, थलचर, उभयचर र वायुमण्डलीय प्राणीको अस्तित्व नै लोप हुने अवस्थामा छ । मुल्यवान तथा निश्चित परिमाणमा उपलब्भ प्राकृतिक स्रोत साधन दिनान’दिन लोपोन्मुख अवस्थामा छन् । मानवले विकासका नाममा गरेका यी र यस्ता विविध क्रियाकलापले गर्दा नै वाढी पहिरो, भूक्षय, प्रदुषणलगायत अरु थुप्रै घटनाहरुले साँच्चिकै पृथ्वीलाई विरामी नै पारेका छन भन्ने कुरा पुष्टि हुन्छ । उद्योग कलकारखाना, अस्पताल प्रयोगशाला लगायत घर परिवारबाट निस्कने ठोस, अर्धठोस, तरल र ग्याँस पदार्थलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा पनि जल, जमिन र वायुमण्डल पूर्ण रुपमा प्रदूषित भई पृथ्वीको आयु नै छोटिदै गएको आभाष भइरहेको छ । यी र यस्ता उदाहरण त प्रतिनिधि लक्षण मात्र हुन विरामी पृथ्वीका । त्यसकारण पनि यथासक्य विलम्व नगरी विश्व मानव कल्याणका लागि बिरामी पृथ्वीलाई मरुभूमि हुनबाट बचाई हराभरा र सदावहार बनाई वास्तविक जिवन जीउनका लागि सिङ्गो मानव समुदाय हातमा हात मिलाई मनोवैज्ञानिक तवरले विश्ववन्धुत्वको भावना जगाएर उपचार गर्ने बेला आएको छ । अन्यथा वर्तमान पुस्ताभन्दा पनि आगामि पुस्ता कसरी अगाडि बढ्ला भन्ने कुरा चिन्ताको विषय बन्न पुगेको छ ।
उपचार
माथि उल्लिखित विविध समस्याका बावजूद आज विश्व मानव यसको उपचारका लागि नजुटेका भने होइनन् अन्ततोगत्वा जे जस्ता सकारात्मक पहल भएका छन् ती त्यति व्यावहारिक नभएका मात्र हुन् । यसका लागि सम्पूर्ण मानव जाति एक भएर निस्वार्थ रुपबाट अगाडि बढ्नु जरुरी छ । जनसंख्या नियन्त्रण पहिलो पक्ष हो । यसका साथै वृक्षारोपण, चनचेतना अभियान, प्रदूषण व्यवस्थापन, बैकल्पिक उर्जाको कार्यान्वयन, बमबारुद तथा हातहतियारको निस्तेजीकरण, रासायनिक पदार्थलगायत अन्य हानिकारक वस्तुको परीक्षणमा निषेध, दीगो विकासको अवधारणा र यसका सिद्धान्तको प्रयोग, लोपोन्मुख जैविक पक्षको संरचना तथा अस्तित्व कायम, सही र सकारात्मक ज्ञान र विवेकको उच्चतम प्रयोग, विश्ववन्धुत्वको भावना स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन तथा गोष्ठीको आयोजनाजस्ता अनेकौँ प्रकारका कार्यक्रम संचालन गरी पृथ्वीलाई आफ्नै गति र अवस्थामा राख्नु हामी सबैको कर्तव्य र अन्तिम अस्त्र हो ।