फाल्गुन २८ गते
देशका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सीमानाका संचालनमा आउने विश्वास दिलाउनु भएको छ । देशको उपप्रधानमन्त्रीले सीमाक्षेत्रका बासिन्दाको समस्या बुझेर छिट्टै समाधान हुने विश्वास दिलाउँदा सर्वसाधारणले पनि पत्याएका छन् । उपप्रधानमन्त्री पोखरेलले अहिले सर्वसाधारण पैदल आवागमन गरिरहेकामा अबदेखि भन्सार पनि खुल्ने र यातायात पनि आवागमन हुने प्रतिबद्धता वा वचन दिएका छन् । सीमानाका क्षेत्रको जनजीवन भारतसित जोडिएको र नेपाल भारतबीचको विशिष्ट सम्बन्धको रुपमा रहेको अवस्थालाई विचार गरेर सीमानाका खुलाउने विश्वास दिलाउनुलाई सबैले स्वागत गरेका छन् ।
अहिलेको अवस्थामा सीमानाकाबाट औपचारिक रुपमा मानिसहरुमात्र आउजाउ गरिरहेका छन् । छेउछाउ भएर केही मोटरसाइकल पनि वारपार गरिरहेका छन् सीमानाका । केहीले बडो दुख गरेर घरायसी प्रयोजनका सामान ल्याउन पाइरहेका छन् तर असहजता भने निकै रहेको छ । निर्वाध आवागमन नहुँदा मनोवैज्ञानिकरुपमा मानिसलाई यो लाग्ने गरेको छ कि अझै पनि सीमानाका पूर्णतया बन्द नै छ । अहिले लगनको समय भएकोले सीमा वारपार हुने बिहे तथा अन्य सांस्कृतिक सम्बन्धमा पनि यातायातको साधन नचल्दा धेरै अप्ठ्यारो परेको यथार्थ हो । यस यथार्थलाई संघीय सरकारले बुझ्नु आवश्यक थियो र अहिले बुझेको छ । एकजना जिम्मेवार उपप्रधानमन्त्रीजस्तो व्यक्तित्वले सीमानाका खुलाउने वचन दिँदा विश्वास त गर्नुपर्छ । यद्यपि समय नतोकिँदा कति छिटो होला भन्ने आशाको नजर सरकारतिर रहिरहन सक्छ ।
दुई देशको सम्बन्ध प्रगाढ रहेको छ । खुल्ला सीमाना हुनु नेपाल र भारतको विशिष्टता हो । दुई देशका नागरिक एक अर्काको देशमा निर्वाध आवागमन गर्न पाउँछन् । खुल्ला सीमाना भएको यी दुई देशका नागरिकहरु एकापसमा घनिष्ट र असल छिमेकीको रुपमा अनादिकालदेखि रहँदै बस्दै आएका छन् र कोरोनाले गर्दा सीमानाका बन्द भएकोमा अब फेरि खुल्ने आशाले सर्वसाधारण उत्साहित भएका छन् ।