फाल्गुन २८ गते
कोशीभन्दा पश्चिम, नारायणीभन्दा पूर्व चुरे पर्वतशृङ्खलाभन्दा दक्षिण गंगासम्म भूभाग प्रागैतिहासिक कालदेखि शिवपूजनको क्षेत्र मानिएको छ । यसै क्षेत्रबाट नेपाल उपत्यकामा प्रवेश गरेका लिच्छविहरूको वैशालीमा अति प्राचीन शिव मन्दिर फेला पर्नु, मौलापुरको पतौरामा पनि झन्डै लिच्छविकालकै पुरातात्विक महादेव मन्दिर र संरचना फेला पर्नु, वि.स. १११४ मा रौतहटकै ईशनाथमा ईशनाथ महादेव मन्दिरको स्थापना हुनुजस्ता तथ्यहरूका साथै यस क्षेत्रमा प्रचलित शिवपूजनका विशिष्ट लोकपरम्पराहरूले यसलाई पुष्टि गर्दछन् । शिवपूजनको यस्तै विशिष्ट लोकपरम्परामध्ये मधानी यज्ञ पनि एक हो ।
मधानी यज्ञमा कुनै पण्डित पुरोहित वा पूजारीको आवश्यकता पर्दैन । मुख्य गरी प्रदेश दुईको बारा र रौतहटमा प्रचलित मधानी यज्ञ गराउने कमरथुआहरू नै हुन् । कमरथुआ भनेका विशिष्ट बोलबमहरू हुन् जो निर्धारित समयका लागि शिवका विशिष्ट भक्त बन्दछन् र सम्पूर्णतः साधुजीवन व्यतीत गर्दछन् । भाकल वा मनोकामना पूरा भएका तथा गराउन सर्वसाधारण मानिस नै निश्चित समयका लागि कमरथुआ बन्दछन् ।
शिव–पार्वती विवाहको विशिष्ट उत्सव मधानी हो । शिव–पार्वतीको विवाहका सम्पूर्ण विधि तथा पद्धतिहरू कमरथुआहरूले निर्वाह गर्दछन् । शिव, पार्वती, नन्दी, भिरंगी तथा गणहरू सबैको भूमिकामा कमरथुआ नै हुन्छन् । डमरूसहित विभिन्न बाजा बजाउने, गीत गाउने, नृत्य गर्ने पनि कमरथुआहरू नै हुन्छन् ।
मधानी यज्ञ जहिले पनि हुँदैन । कमरथुआहरूले नै यज्ञका सबै विधि र पद्धति पूरा गर्नुपर्ने हुँदा यज्ञकर्ताले पनि कमरथुआका मान्यजन, खजान्ती वा सिपाहीसित समन्वय गरेर कहिले सम्पन्न गर्ने भन्ने निश्चित गर्नुपर्ने हुन्छ । मुख्य गरी श्रीपञ्चमी र महाशिवरात्रीको समयमा कमरथुआहरूले शिवालयमा पूजा गरी घर फर्किनुअघि निर्धारत सबै मधानी यज्ञ सम्पन्न गरिसक्नु पर्ने हुन्छ ।
शिव–पार्वतीको विवाहोत्सवको अवसरमा गरिने विशेष सांगीतिक तथा लोकसांस्कृतिक अनुष्ठान मधानी यज्ञमा शिव र पार्वतीको विधिपूर्वक पूजा, अर्चना, प्रार्थना र आरती पनि गरिन्छन् । यज्ञकर्ताको सहभागितामा पूजाको विधि सम्पन्न हुन्छ । र, मधानीमा यज्ञकर्ताको भूमिका भनेको व्यवस्थापन पक्षमात्र हुन्छ ।
मधानी सँगसँगै लखराँवको पनि प्रचलन रहेको छ । लखराँव वास्तवमा शिवको राज्याभिषेकको प्रतीक यज्ञ हो । काँचो माटोको लाखौँ शिवलिङ्ग बनाएर बेलपत्रसहित अन्य सामग्रीले विधिपूर्वक शिवको पूजा गरिने चलन रहेको लखराँवमा पण्डित पूजारीको आवश्यकता हुन्छ । लखराँव र मधानी दुवै यज्ञ एकैचोटि गराइँदा अन्य पूजापद्धतिहरू अपनाइनु पर्ने हुँदा मधानी महायज्ञ बन्न पुग्दछ ।
लोपोन्मुख अवस्थामा पुगेको मधानीलाई बारा र रौतहटका मुख्य गरी थारू समुदायले बचाएर राखेका छन् । संस्कृतिप्रति तुलनात्मक सचेत थारूहरूले मधानी यज्ञको पुनरुद्धारमा विशेष योगदान दिएका छन् । यस क्षेत्रका अन्य जाति तथा समुदायको पनि मधानी यज्ञप्रति श्रद्धा र सम्मान हुनुका साथै बचाउनमा योगदान रहेको छ ।
मधानी सम्पन्न भएपछि शिवका गण हुँ भन्दै सयौँ मानिस (मुख्य गरी कलैया र सरभङ जातिका) यज्ञकर्तासित अन्न, द्रव्य र वस्त्र माग्न आइपुग्छन् । मधानी यज्ञमा शिवका गणहरूको हक नै लाग्दछ भन्ने लोकमान्यता रहेको छ । सबैलाई सन्तुष्ट पारेपछि मधानी यज्ञकर्ता आफूलाई गौरवान्वित भएको ठान्दछन् र समाजमा सम्मानित पनि हुन्छन् ।
यस क्षेत्रको शिवपूजासम्बन्धी विशिष्ट लोकपरम्पराको रूपमा रहेको मधानी यज्ञलाई मौलापुर नगरपालिकाले पहिलोचोटि औपचारिक सार्वजनिक महायज्ञको रूपमा सञ्चालन गरी पुनर्जीवन दिइरहेको छ । लोपोन्मुख अवस्थामा पुगेको कमरनथुआ र मधानी परम्परालाई मौलापुरको पतौरामा रहेको यस पुरातात्विक महादेव मन्दिरको उत्खननपश्चात पुनरुद्धार भएको छ । यस परम्परागत यज्ञको निरन्तरता यस परम्परागत पुरातात्विक महादेव मन्दिरमा हुनु सुखद ऐतिहासिक संयोग हो ।
पुरातात्विक महादेवको मन्दिरको चारैतिर धरतीको गर्भभित्र अनेक पुरातात्विक संरचनाहरू रहेका छन् । तिनीहरूको वैज्ञानिक अध्ययन, अन्वेषण र उत्खननका साथै संरक्षण हुनु आवश्यक छ । नेपाल उपत्यकामा लिच्छवि शासन रहेको समयको आसपासकै यो पुरातात्विक महादेव मन्दिर रहेको अनुमान हुन्छ । यस मन्दिरको संरचना र अवशेष वि.सं. २०५४ मा प्राप्त भएको हो । वि.सं. १११४ मा स्थापित ईशनाथ महादेव मन्दिरको भग्नावशेष अहिलेसम्म रहिरहनु र पुरातात्विक महादेवको भग्नावशेष धरतीमा विलीन भई हालै मात्र प्राप्त भइरहनुले यो मन्दिर कर्नाटकालीन मात्र हो भन्नु त्यत्ति युक्तिसंगत देखिँदैन ।
मौलापुर नगरपालिकाले इतिहास, संस्कृति र मौलिकताको संरक्षणमा विशेष तदारुकता देखाइरहेको र यस मन्दिरलाई सम्पदा सूचीमा सूचीकृत गराउने, पुरातात्विक उत्खनन तथा अन्वेषण गराउने र सुन्दर शिवधामको रूपमा यस नगरीलाई चिनाउने उद्देश्य राखिनु आफैँमा स्तुत्य कार्य हो ।