पवन कुमार उपाध्याय
रौतहट,२७ श्रावण। पछिल्ला केही वर्षयता गरुडा नगरपालिकामा विकासको गति तीव्र भएको छ। नगरको सडक, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय सुधार देखिन थालेको छ। नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको नेतृत्वमा प्रशासकीय भवन, सडक विस्तार, पोल लाइट जडान, मठ–मन्दिर निर्माणदेखि कृषि तथा खानेपानी योजनासम्मका कामले नगरवासीको दैनिकीमा सकारात्मक प्रभाव पारिरहेका छन्।
गरुडा नगरपालिकाले कृषिलाई प्राथमिकतामा राख्दै जनताको आय वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न विगतदेखि नै ठूलो लगानी गर्दै आएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित नगरप्रमुख कन्थमनी प्रसाद जैसवालले पदभार सम्हालेपछि पहिलो निर्णयमध्ये नै किसानका लागि कृषि मिटर निःशुल्क गर्ने नीति लागू गरेका थिए।
सो निर्णयअनुसार किसानले प्रयोग गरेको कृषि मिटरको सम्पूर्ण बिजुली बिल पालिकाले भुक्तानी गर्दै आएको छ। खेतमा सिँचाइ सहज बनाउन खेत–खेतमा ३०० भन्दा बढी पोल गाडी कृषि मिटर जडान गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत सञ्चालित “कृषि, पशु, डेरी यान्त्रीकरण तथा भैँसी वितरण कार्यक्रम” अन्तर्गत हालै नगरभित्रका कृषकहरूलाई १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० वटा मिल्क्यान, १ हजार र २ हजार लिटर क्षमताका चिलिङ भ्याट, ८०० लिटर क्षमताका डिफ्रिज, दुईवटा मिल्क पम्प, तीनवटा मिल सेपरेटरलगायत सामग्री वितरण गरिएको छ।
पालिका भित्र तीनवटा कुखुराको खोर र तीनवटा पोखरी निर्माण सम्पन्न भइसकेको छ भने कोल्ड स्टोर, एग्रोमार्ट र बजार सेड निर्माण कार्य क्रमिक रूपमा अगाडि बढिरहेको छ।
कृषकहरू यस पहलबाट लाभान्वित भएको जनाउँदै गरुडा नगरपालिका–१ जयनगरका किसान सुरेश यादवले भने, “पहिले दूध बेच्न टाढासम्म जानुपर्थ्यो, तर अब मिल्क्यान र चिलिङ भ्याट पाएपछि गाउँमै दूध संकलन गरेर बिक्री गर्न सजिलो भएको छ।” वडा नं–५ का रामबाबु साहका अनुसार, पम्पसेट र भैँसी पाएपछि सिँचाइ र दूध उत्पादन दुवैमा फाइदा पुगेको छ।
नगरपालिका–३ मलाही टोलकी गीता देवी भन्छिन्, “पहिले विद्युत मिटर र पम्पको अभावले खेतीमा ठूलो समस्या थियो, अहिले पालिकाले सहयोग गरेपछि उत्पादन बढ्नेमा ढुक्क छौं।”
नगरपालिकाले कुलो सरसफाइ र कृषि सडक निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। जयनगर, गेडही, मलाही टोललगायत पाँच वडामा कृषि सडक निर्माण सम्पन्न भइसकेको छ।
शिक्षा क्षेत्रमा पनि गरुडा नगरपालिकाले महत्वपूर्ण पहल गर्दै पालिका भित्रका विद्यालयमा छात्राहरूलाई विद्यालय आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरेको छ। नगरप्रमुख जैसवालका अनुसार, “साइकल वितरणले छात्राको विद्यालय जाने दर बढाउने र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं।”
स्वास्थ्य क्षेत्रमा, गरुडा नगरपालिका–२, गेडही गुठीमा शावण २३ गते स्थानीय बासिन्दाको दीर्घकालीन आवश्यकता पूरा गर्ने उद्देश्यले निर्माण गरिएको दुई तले आधुनिक अस्पताल भवनको उद्घाटन गरेका थिए । नगर प्रमुख जैसवाल र वडा अध्यक्ष कृष्णनदन्न सहनीले संयुक्त रूपमा उद्घाटन गरेको भवन करिब रु. २० लाख लागतमा, नगरपालिकाको विशेष पहल तथा मधेश प्रदेश सरकारको सहयोगमा बनेको हो।
स्वस्थ नगर निर्माणको अभियानअन्तर्गत स्वास्थ्य पूर्वाधार सुदृढीकरण योजनामा समेटिएको यस भवनमा पर्याप्त वार्ड कक्ष, आपतकालीन उपचार कक्ष, मातृ–शिशु सेवा कक्ष, प्रयोगशाला, फार्मेसी र चिकित्सकहरूको लागि छुट्टै कार्यालय कक्षको सुविधा छ।
नगरप्रमुख जैसवाल केवल विकासमै सीमित छैनन्, सामाजिक उत्तरदायित्वप्रति पनि संवेदनशील छन्। अनाथ तथा विपन्न बालबालिकाहरूलाई नियमित सहयोग गर्ने, उनीहरूको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा ध्यान दिने उनले प्राथमिकता दिएका छन्। स्थानीयवासीका अनुसार, “नगर प्रमुख जैसवाल सहयोगी मन र दयालु स्वभाव भएको कारण धेरै विपन्न र असहाय बालबालिका लाभान्वित भएका छन्।”
विकासदेखि सामाजिक कामसम्मको प्रभावकारी नेतृत्वका कारण नगरवासीले खुलेर नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको प्रशंसा गरेका छन्। उनका अनुसार, आगामी वर्षहरूमा कृषिजन्य भण्डारण, प्रशोधन, बजार व्यवस्थापनसँगै शिक्षा र स्वास्थ्य सेवा विस्तारमा अझ ठूलो लगानी गरिनेछ।


