फाल्गुन २९ गते
घुम्नु राम्रो कुरा हो तर घुमेर विर्सनु सामान्य कुरा हो भने याद राख्नु उत्तम हो । घुमाइबाट ज्ञान र आनन्द लिनु अतिउत्तम कुरा हो । यस्ता व्यक्ति घुमन्ता अर्थात यायावर कहलाउँछन् । ती व्यक्तिहरु घुुमेर ज्ञान र आनन्द मात्र लिँदैन । त्यसलाई लेखेर अरु समक्ष बाँड्ने काम पनि गर्छन् । कुनै साहित्यकार घुमन्ता हुनु सुखद कुरा हो । हाम्रा लक्ष्मीप्रसाद देवकोटा पनि घुमन्ता थिए । पहाडी जीवन निबन्धमा उनको यायावरी प्रवृत्ति मज्जाले प्रस्ट भएर आएको छ । अर्का हुन् महापण्डित राहुल सांकृत्यायन । उनी त यायावरीहरुका सरदार नै थिए । दुनियाँका सम्पूर्ण कुनाको भ्रमण र सम्पूर्ण धर्म संस्कृतिको अध्ययन गरी महापण्डितको उपाधि प्राप्त गरे । उनको वोल्गासे गंगा पुस्तक यायावरी प्रवृत्तिकै उपज हो । घुम्न त म पनि घुम्ने गरेको छु तर यायावर भने होइन म । म ज्ञानकै लागि घुम्न कहिल्यै निस्केको छैन । मलाई सबै धर्मको ज्ञानको जरुरी पनि छैन । एकदम्मै जरुरी पर्दा वा साथीहरुको सङ्गतमा योजनै बनाएर पनि ननिस्केको होइन । म निस्कन्छु र घुमेको गाउँठाउँबाट ज्ञान र आनन्द पनि प्राप्त हुन्छन् तर लेखेर कुनै पत्रिकामा प्रकाशित गराइहालूँ भन्ने उत्सुकता भने ममा हुँदैन । प्रायः अरुको घचघचाइले र प्रेरणाले मात्र यस्ता संस्मरण लेख्ने गरेको छु । मलाई सधैँ घचघचाइरहने र प्रेरणा दिरहने व्यक्ति हुन् सञ्जय मित्र । उनकै घचघचाइ र प्रेरणाले मैले धेरै लेखहरु लेखेर गोरखापत्र राष्ट्रिय दैनिकमा छपाएँ । आजको लेखको पनि बाध्यतै छ । देवकोटा र सांकृत्यायनको चरणको धुल बराबर छैन म ।
कुरा हो विक्रम संवत् २०७७ पौष १७ गते शुक्रवारको । म र मेरो भान्जा सचिन दूबै जना बिहान मोटरसाइकल लिएर सुदामाबाट बरहथवा निस्कयौैँ । भोलिपल्ट सचिनको परीक्षा थियो खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा । उसले सशस्त्र प्रहरी बलमा जवान पदको लागि फारम भरेको थियो । सबै प्रक्रिया पार गरिसकेर त्यस्तो अन्जान र विकट ठाउँमा ऊ एक्लै नजाने कुरा गर्यो । बरु जागिर नभए नहोस् तर एक्लै दिक्तेल जान्न भन्दै थियो । अरु प्रक्रियाहरुमा ाथीहरु त थिए तर लिखित परीक्षासम्म ऊ एक्लै पुगेकोले साथीको अभावले ऊ यस्तो भन्दै थियो । अन्ततः म उसको सहयात्री बनेँ । बरहथवामा उसले मोटरसाइकल आफ्नो छिमेकी काकाको डेरामा राख्यो । त्यहाँबाट हामी मामा भान्जा बस समातेर नयाँ रोडतिर लाग्यौँ । कुन बाटो भएर दिक्तेल जाने निक्र्यौल भइसकेको थिएन । तीन तीन अप्सन थियो हामी सामु । एक बर्दीबासबाट हूँदै, दोस्रो मिर्चैयाबाट कटारी हूँदै र तेस्रो इटहरीबाट उदयपुर हुँदै । हामी अगाडि र पछाडिको बाटो छोडेर मिर्चैया कटारीबाला बीचको बाटो भएर जाने टुङ्गोमा पुग्यौँ । बरहथवाबाट हजारबिघा हुँदै बस अगाडि बढिरहेको थियो । दुबैतर्फ सागरनाथ बनले अँध्यारै देखिने सडकमा बिहानै बाँदरका झुन्डहरु देखेर मलाई नयाँपन लागेन तापनि अनुहारमा मुस्कानका तरङ्गहरु उथलपुथल गरिरहेका थिए । बस बढ्दै नयाँ रोड पुग्यो । त्यहाँ हामी पूर्वतिर जाने बस आउने वित्तिकै समात्यौँ । पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्गमा गाडी सलल बगीरह्यो । अरु गाडीहरु पनि अघिपछि बगिरहेको थियो । दायाँतिर जङ्गलका हरिया हरिया रुखहरु मनलाई एक किसिमले शान्ति र सन्तोष दिरहेका थिए भने बायाँतर्फका चुरे शिवालिकका साना थुम्का थुम्कीहरुले मनभित्र गौरवका टुसाहरु उमारिरहेको थियो । बीच बीचमा साना ठूला बजारहरुले राजमार्गको शोभामा चार चान्द लगाइरहेको थियो । नभन्दै हामी मिर्चैया पुग्यौँ । त्यहाँ एक होटलमा खाना खाएर कटारीको लागि मैजिक गाडी समात्यौँ । भाडा अलि महङ्गो लाग्यो । भाडातिर उति ध्यान गएन । गाडीमा हामी सुन्तला खाँदै कुराकानी गरिरहेका थियौँ । गाडीभित्र बसेका अरु यात्रीहरुसँग पनि म कुरा गरिरहेको थिएँ । भान्जाको हातमा एन्ड्रोइड मोवाइल थियो जसमा गुगल म्यापद्वारा हामी गाडी गति नापिरहेका थियौँ र कसरी मौवाइल सेटमा गाडी अगाडि बढिरहेको छ, कसरी एकपछि अर्को स्थान छुटिरहेको छ सो हेरिरहेका थियौँ । सिमनपुर हुँदै कटारी पुग्यौँ दश एघार बजे मिर्चैया छोडेका थियौँ कटारी आइपुग्दा एक बजिसकेको थियो । त्यहाँ हामी दिक्तेलको बस खोज्यौँ तर त्यहाँबाट दिक्तेलको लागि बस नजाने रहेछ । सानो गाडी पनि त्यस समयमा नजाने रहेछ । घुर्मीसम्म मात्र जाने रहेछ । लगभग सत्तरी किलोमिटरको बाटोको भाडा छ सय पचास सुनेर मेरो हनुहारको रङ्ग फेरियो । वास्तवमा भाडा अति थियो । सुमोका चालक मलाई देखेर हाँसिरहेका थिए । दाइ पहाडी बाटो छ त्यसमाथि सानो गाडी भाडा महङ्गो भइ नै हाल्छ । यो समथर बाटो भएको भए कमै भाडा लिन्थेँ भनेर चालकले भन्यो । उसको कुराले मेरो चित्त बुझ्यो । हामी मामा भान्जा सुमोमा बस्यौँ । लगभग बीस वर्षका चालक बहादुर एवम् साहसी थिए । अति उकालो ओरालोमा पनि गाडी तीव्र गतिले चलाइरहेका थिए । उसले सुमोलाई हवाइ जहाज बनाइदिएका थिए । उकालो ओरालोमा गाडी टेकअप र लैंड गरेजस्तो लाग्थ्यो । गाडी माथि माथि चढ्दा दायाँ बायाँका महाभारत शृंखलाका पर्वतहरु तल तल छुटेजस्तो लाग्थे भने तल तल गाडी ओरालो झर्दा श्रेणीका पर्वतहरु माथि माथि चढेजस्तो लाग्थे । गाढा निलो पानी बगिरहेको सुनकोशी दायाँ कहीँ पातलो त कहीँ चौडा आकार लिएर घरि लुक्थ्यो घरि प्रकट हुन्थ्यो । यो लुकामारीको आनन्द हृदयभित्र अटाइ नअटाइ रुमलिरहेको थियो । सल्लाका सानातिना जङ्गलहरुमा तेर्सिरहेको घामका किरणहरु अजीव रङ्गका अमूर्त चित्रकारिता गरिरहेका थिए । अगाडि लाग्थ्यो हाम्रो बाटोलाई ठूलो पहाडले छेकिरहेको छ । त्यसमा लामो पातलो तेर्सो रेखा हेर्थेँ । अरु त्यस रेखालाई मिलान चिन्ह बनाएजस्तो माथिबाट दुईचार रेखाहरु पुरै काटेको हेर्थैँ । आखिर जब गाडी त्याहाँ पुग्थ्यो । थाहा पाउँथे, त्यो पातलो रेखा बाटो नै रहेछ भन्ने कुरा अनि ती माथिबाट ठाडै तल गिरेका रेखा पहिरो खसेर त्यसको चिनो बनेको कुरा । गाडी माथि माथि चढ्दै जान्थ्यो । मलाई पनि आकाशिदै गएको जस्तो भान हुन्थ्यो । विलकुल स्वगीय आनन्दजस्तो लाग्थ्यो । गाडीभित्र एकदम्मै सन्नाटा थियो । गाडीको आवाजबाहेक अरु कुनै ध्वनि सुनिदैनथे । मेरो मनमा एक किसिमको डर पलाइरहेके थियो । आज दिक्तेल पुग्छु कि पुग्दिनँ भन्ने कुराको । सचिन मौन गौन छेउमा चुपचाप बसिरहेको थियो । सायद उसमा पनि यसै कुराको डर थियो । उसको मनमा के चलिरहेको थियो उनै जानून् मेरो मन भने अगाडितिर हिमाल खोजिरहेको थियो । बाटो थियो सिद्धिचरण राजमार्ग । म कवि सिद्धिचरण श्रेष्ठलाई सम्झेर ओखलढुङ्गा कविता मनमनै गुनगुनाइरहेको थिएँ । त्यो पथ, त्यो ठाउँ किन किन मलाई तीर्थजस्तो लागिरहेको थियो । एक चोटि त म भावुक पनि बनिसकेको थिएँ । म कवि श्रेष्ठको छविचित्र मनभरि अटाउने कोसिस गर्थैँ । ती पहाड र गाउँ ठाउँसँग जोडेर मनभित्र उनका हर वयका हर चित्र उतारी त्यहाँ हेर्ने कोसिस गर्थैँ । केहीँ चित्रहरु बनेर आउँथे लाग्थ्यो म कविलाई प्रतयक्ष हेरिरहेको छु । हेर्दा हेर्दै छिनमा सबै मेटिएर जान्थे । यस्तै मनमा भावका आरोह अवरोहहरु लिएर हामी घर्मी पुग्यौँ ।