फाल्गुन २९ गते
हामी दिनहु सार्वजनिक यातायातका साधनको प्रयोग गरिरहेका छौँ । मुख्यरुपमा सार्वजनिक बस तथा साना बसहरुका साथै सुमोमा यात्रा गर्नेहरु छौँ । यात्रा गर्दा हामीले सुविधा खोज्ने गरेका छौँ । यातायातका कर्मचारीले सकेसम्म बढी यात्रु चढाएर तुलनात्मकरुपमा बढी आम्दानी गर्न खोजेका हुन्छन् । यात्रुलाई आरामसित जानु छ भने यातायातकर्मीलाई बढी नाफा कमाउनु छ । सुविधा र नाफा दुवै कानुनअनुसार निर्धारित भएका छन् र कतिपय सबालमा सरकारको निर्देशन जारी भएको छ । तिनीहरुलाई सबै पक्षले परिपालन गर्नु पर्दछ ।
सार्वजनिक यातायातमा यात्रुका लागि सुविधाहरु निर्धारित छन् जस्तो कि विद्यार्थीलाई भाडामा केही प्रतिशत भाडामा छुट दिइएको हुन्छ । सबारी साधनमा यात्रा गर्ने ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका मानिसका लागि केही सिट आरक्षण गरिएका छन् । हामीले यात्रा गर्दा एक सचेत नागरिकको दृष्टिकोणले कहिल्यै यस्ता पक्षप्रति ध्यान दिने गरेका छौँ कि ? यात्रा गर्दा आफूले सिट पाएर बस्न पाएपछि आरक्षित समूहका कोही आउँदा हामीले उचित सम्मानका साथ सिट उपलब्ध गराउने गरेका छौँ त ?
यातायातकर्मीले यस पक्षमा ध्यान दिने गरेको पाइँदैन । यसले गर्दा झन् लापरवाही बढेको छ । हामीले सबै क्षेत्रमा अधिकारको कुरामात्र गर्ने र कर्तव्य पक्षप्रति उदासीन रहन खोज्ने हो भने हाम्रो समाजमा एकपछि अर्को लापरवाहीको क्रम कहिल्यै पूरा हुँदैन । अधिकार भनेर लेखिएका सबै कुराहरु कागजमा सीमित बन्न पुग्छन् । हामीले हाम्रो व्यवहारले यस प्रकारका सानातिना लाग्ने तर महत्वपूर्ण व्यावहारिक पक्षमाथि ध्यान दिनु पर्ने हो कि सधैँ अरुलाई नकारात्मक रुपमा हेर्ने तर सकारात्मक किसिमले नहेर्ने दृष्टिकोण नै सच्याउनु परेको छ त्यो पनि व्यावहारिक रुपबाटै ।