काठमाडौँ, २० श्रावण। अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा बाग्लुङको ढोरपाटन नगरपालिका-५ घर भई ललितपुर महानगरपालिका-२ बस्ने ४८ वर्षीया मिना कुँवरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
मिनाले अमेरिका पठाइदिन्छु भन्दै एकजना पीडितबाट ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।


