चैत्र ०६ गते।
सर्वसाधारणले टेम्पु भन्ने गरेको ई–रिक्साले व्यापक लापरवाही गर्ने गरेको छ । प्यासेन्जर चढाउनेदेखि लिएर भाडा असुल्नेसम्म ई–रिक्साचालकले मनोमानी गरिरहेको छ । ई–रिक्साको बढ्दो मनोमानीविरुद्ध कोही बोल्ने गरेको पाइँदैन । दिनदहाडै ई–रिक्साले गरिबहरुबाट मन लाग्दो भाडा असुले पनि कोही बोल्न सकेको छैन । निमुखा नागरिकको आवाज कसैले नउठाउँदा तिनीहरु झन् पीडित बनेका छन् ।
ई–रिक्सामा बढीमा तीन जना यात्रुलाई राख्न सकिन्छ । ई–रिक्साको अनुमतिपत्रमै यो कुरा उल्लेख गरिएको हुन्छ । यसभन्दा बढी यात्रु चढाउन नपाइने नियम भए पनि छ जनासम्म सजिलै चढाइरहेका छन् । यसै गरी ई–रिक्साले उठाउनु पर्ने भाडा दर पनि कायम गरिएको छ तर जथाभावी भाडा असुलेका छन् । जति जना चढाए पनि हुने र जति धेरै भाडा असुले पनि हुने ई–रिक्साचालकको अहिलेको अवस्थाले जरुरी परेर कतै जान लागेका तथा काम विशेषले कतै पुग्नु परेकाहरु सबैभन्दा बढी ठगिएका छन् ।
अलिकति साँझ पर्नासाथ चन्द्रनिगाहपुरमा ई–रिक्साबालाहरुले गरुडाको भाडा प्रतिव्यक्ति दुई सय रुपैया भन्न थाल्छन् । एक जनाको दुई सय रुपैया भन्ने र ग्राहकसित मोलाइ गरेर सय रुपैयामा भए पनि असुल्ने गरेका छन् । अझ कतिपयलाई निक्कै अप्ठ्यारो परेको छ भने एकै जनाबाट पाँच सय रुपैयासम्म पनि असुल्ने गरेका छन् । ई–रिक्साबालाहरुले हाकाहाकी भन्ने गरेका छन् – नाइटको भाडा दोब्बर हो । ई–रिक्सालाई नाइटमा चलाउने छुट्टै अनुमति छ ? वा नाइटको भाडा दोब्बर असुल्ने अनुमति छ ?
ई–रिक्सामा बालबालिका, महिला र वृद्धहरुसमेतलाई मिलाएर नौ जनासम्म पनि बोकेर प्रहरीकै अगाडिबाट लैजाने गरेको पाइएको छ । यसरी भाडा पनि जथाभावी र यात्रु पनि कोचाकोच गरेर लैँजादा कसले ध्यान दिनुपर्ने हो ? ई–रिक्सालाई अनुमगन गर्ने, नियमन गर्ने तथा ई–रिक्साको मनपरीलाई रोक्ने कुनै संयन्त्र छ कि ?