चैत्र ०६ गते।
कुनै पनि चिज वा वस्तु आफैँमा राम्रो वा नराम्रो हुने होइन त्यो त केवल हाम्रो हेराइ वा विचारमा भर पर्ने कुरा हो । यस पृथ्वी वा ब्रह्माण्डमा जे जति सजीव वा निर्जीव वस्तुहरु छन् ती आफैँमा प्रकृतिका सुन्दर रचनाहरु हुन् । न तिनीहरु सुगन्धित छन् न दुर्गन्धित छन् । कुनै एकलाई साह्रै मन परेको फूल र त्यसको वास्ना अर्कोलाई मन नपर्न सक्छ । एकातिर विविध कारणवश प्रकृतिले सिर्जना गरेका ती मूल्यवान जैविक वस्तुहरु विस्तारै लोपोन्मुख अवस्थामा पुग्ने क्रम जारी छ भने अर्कोतर्फ अजैविक वस्तुहरुको स्वरुपमा परिवर्तन भई चिन्न र चिनाउन समेत गाह्रो पर्ने अवस्था सिर्जना भइसकेको छ । होइन मानवले आज जे जति उन्नति प्रगति तथा आविस्कार गरेको छ ती सबै उपलब्धि प्रकृतिलाई आधार बनाएर गरेको न हो । र मानवले प्रकृति नै सबै थोक हो भनेर नबुझेको पनि होइन । यसलाई बचाउनु पर्छ भनेर विभिन्न किसिमका राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि नभएका होइनन् । नीति नियम लगायत विभिन्न प्रतिबद्धता पनि भएका छन् । यी सबै सकारात्मक पक्षका बावजूद पनि व्यवहार सकारात्मक भइदिएनन् । नकारात्मक व्यवहार भएकै कारण अवस्था सहज रहेन । दिनप्रतिदिन प्रतिकूल बन्दै गएको यस परिवेशले प्रत्यक्ष असर पारिरहेको छ ।
मानव मन एकदमै तरल अवस्थामा रहेकोले ठोस पदार्थलाई पनि तरल देख्छ र तरलतालाई ठोस देख्छ । मानिस स्वभावैले कुनै कसैप्रति त्यति साह्रैै नराम्रो चाहना राख्ने त होइन यद्यपि कहिलेकाहीँ आफ्नो स्वार्थ पूर्ति हुने अवस्था आएका शत्रुप्रति पनि उसले देखाउने व्यवहार सकारात्मक बन्न पुग्छ । यहाँनेर स्पष्ट पार्न खोजेके कुरा के हो भने आंशिक रुपमा भन्दा पनि समग्रमा मान्छेले जहिले पनि सकारात्मक र राम्रो कुराको चाहना राखिरहेको हुन्छ भन्ने हो । विडम्वना ! भित्री आत्माबाट यो कुरा राम्रोसँग गर्नुपर्छ वा मेरा सम्पूर्ण इच्छा आकांक्षा मैले चाहे बमोजिम होऊन् भन्दा भन्दै पनि उसको आफ्नो व्यवहार भने यसप्रति त्यति सकारात्मक भएकोे पाइँदैन । यहाँनेर भित्री आध्यात्मिक इच्छा र बाहिरी भौतिक व्यवहार बीच समायोजन हुन नसक्नु नै मानिस स्वभावैले असफल बन्नु हो । महत्वपूर्ण कुरा त यो हो कि मान्छे जति कल्पनामा डुब्छ त्यति प्रयोगात्मक रुपमा जान सम्भव पनि छैन र जान पनि चाहँदैन । भनिन्छ कल्पना असीमित हुन्छ भने ज्ञान र सीप सीमित हुन्छ । आज जे जति प्रगति, विकास र आविस्कार भएका छन् ती सवैको आधार कल्पना नै हो । कल्पना भनेको एक किसिमको हावा नै हो । जे जति कामहरु बन्छन् ती सवै पहिले हावामा नै बन्ने हुन् । अन्ततः व्यवहारमार्फत ती कुराहरु प्रयोगमा आउँछन् । मानवको त्यही आन्तरिक कल्पना र बाहिरी व्यवहारलाई जसले समायोजन गरेर अगाडि बढे उनीहरु नै महान बनेर संसारलाई जिती इतिहास रच्न पुगे । जसले त्यसलाई पुष्टि गर्न सकेनन् उनीहरु “छेपाराको शास्त्र” उखान चरितार्थ गर्न पुगे । हामीमा जे जति कथा, व्यथा र व्यवहार छन् ती सबै सोही उखानसँग मेलखाने खालका छन् ।
एउटा किसान स्वभावैले आफ्नो लगानी र परिश्रम अनुसार बालीनाली राम्रो होस् भन्ने चाहन्छ । उसको अपेक्षा एकदमै महत्वाकांक्षी हुनसक्छ । समग्र कृषि क्षेत्र हराभरा भएको, लटरम्म फलफूल वा अनाज फलेको होस भन्ने चाहन्छ र अन्तमा सोही उत्पादनबाट आफ्ना असीमित इच्छा चाहना पूरा गरी एउटा पूर्ण जीवन जिउने सपनामा मस्त भइरहेको हुन्छ । आखिर यी सव कुराको पछाडि उसको व्यवहार कस्तो छ भन्ने कुरा प्रधान रहन्छ । “धावन्ती खेती रटन्ती विद्या” भने झैँ उसको कृषिप्रतिको लगाव कत्तिको छ ? त्यसमा कति समय दिन्छ ? समय र परिस्थितिअनुसार गोडमेल, मलपानीको व्यवस्था, कीटनाशक औषधीको प्रयोग गरिन्छ कि गरिँदैन भन्ने कुराको साथसाथै सम्वन्धित विज्ञमार्फत लिइने सरसल्लाह तथा सुझाव लगायत विविध पक्षबाट त्यसप्रति खटिनुले मात्र अपेक्षित प्रतिफल प्राप्त गर्ने हो । अन्यथा अपेक्षा यथावत रहिरहन्छ र प्रतिफल शून्य हुनसक्छ । त्यस कारण भन्न सकिन्छ कि अपेक्षित उद्देश्य प्राप्त गर्ने सिंढी भनेको त्यसप्रति गरिने व्यवहार हो, लगानी र खटाइ पनि हो । जुन कुरा सत्य पनि हो ।
शिक्षक वा अभिभावकको पनि त्यस्तै कथा दोहोरिन्छ । एउटा कुशल शिक्षक भनौँ वा सचेत अभिभावक ती दुवैले आफ्ना शिष्य वा सन्तान कहिले पनि नराम्रो होऊन भन्ने कुरा सोच्न त के कल्पना समेत गर्न सक्दैनन् । विडम्वना ! जसरी सोचेका हुन्छन् त्यसरी व्यवहारमा उतार्ने कुरामा कत्तिको लागिपरेका छन् त ! यो प्रश्न गम्भीर छ वर्तमान शैक्षिक क्षेत्रमा । शिक्षकले पढ – पढ राम्रो र असल बन, ठूलो मान्छे बन भनेर इच्छा मात्र जाहेर गरेर हुने भए यी जति पनि शैक्षिक पूर्वाधार, अत्याधुनिक प्रविधि किन सिर्जना गर्नु पथ्र्यो । अभिभावकले पनि मेरो सन्तान इज्जतदार एक सभ्य नागरिक भई सामाजिक प्राणीको रुपमा स्थापित होस् भन्ने चाहना मात्र राख्छन् भने कस्तो होला सन्तानको भविष्य । बढ्दो उमेर, बदलिँदो वातावरण र समयअनुसार निर्देशन, परामर्श, दण्ड र पुरस्कारको व्यवस्था नगर्ने हो भने कल्पना गरौँ कस्तो हुन्छ होला सन्तानको भविष्यको यात्रा । यो सोचनीय विषय हो । यसका लागि जति आफ्ना सन्तान वा शिष्यप्रतिको सकारात्मक अपेक्षा छ त्यो भन्दा सयौँ गुणा सकारात्मक व्यवहारले त्यो कुराको पुष्टि गर्छ । म कार्टुन हेरौँ ? हुँदैन । म साथीकोमा जाऊँ ? हुँदैन । खेल खेल्न जाऊ ? हुँदैन । म कतै घुम्न जाऊ ? हुँदैन । जति पनि प्रश्नहरुको उत्तर हुँदैन भन्ने आएपछि हुन्छ भन्ने के त ? शिक्षक वा अभिभावले यी र यस्ता अन्य तमाम प्रश्नहरुको उत्तर हुँदैन हुँदैन किन भन्न बाध्य हुन्छन् भने आफ्नो अपेक्षा त ऊ राम्रो र सफल बनोस भन्ने हो नि । यसको मतलव के हो भने चाहने “यस” गर्ने वा भन्ने “नो” । अनि कसरी हुन्छ सपना साकार ! भन्नु पथ्र्यो के भने – तिमी बरु कार्टुन धेरै नहेर यसले तिम्रो आँखा खराव हुन्छ र पछि गाह्रो पर्न सक्छ । यसको सट्टामा पाठ्यपुस्तकसँग मिल्ने कुरा वा अन्य कुनै ज्ञानवर्धक कुरा हेर । साथीकोमा अहिले तुरुन्तै होइन म तिमीलाई बिदाको समयमा पु¥याइदिउँँला । हामी सवै जना एक छिनपछि मिलेर खेलौँला । समय मिलाएर घुम्न पनि जाऔँला भनियो भने उनीहरु तुरुन्तै नकारात्मक वन्दैनथे कि ! यस्ता “यस” र “नो” का ठाडा आदेश वा व्यवहारले गर्दा अपेक्षित उद्देश्य पूरा नहुन सक्छ । अर्कोतर्फ सिकारु पनि सोही व्यवहारमा सहमत हुनु पर्दछ ।
राजनीति पनि त्यही हो । कुन पार्टीको घोषणापत्रमा छ हाम्रो पार्टीले विकास गर्दैन । हाम्रो पार्टी जनताका कुरा सुन्छ । हामी चुनाव जित्छौँ । निष्पक्ष र समावेशी सिद्धान्तका आधारमा अगाडि बढ्छौँ । देश विकास गरी सम्पन्न बनाउँछौँ । यी र यस्तै अरु थुप्रै कुराहरु राजनीतिक पद्धतिमा परापूर्व कालदेखि चल्दै आएको पाइन्छ । यदि त्यस्तो हो भने खोइ त व्यवहारमा परिवर्तन ? यी विविध पक्षलाई मध्यनजर राखी अगाडि बढेको भए राष्ट्र आज यो दलदलमा किन फस्थ्यो । बेरोजगार, विदेश पलाएन, भ्रष्टाचार, चोरी डकैती, हत्या हिंसा, अपहरण, गरिवी, रोगव्याधि, भोकमरी, कालोवजारी, नातावाद, कृपावाद आदि इत्यादि मौलाउँदै जाँदा खोइ त देश अग्रगामी छलाङ्ग मार्न सफल भएको ? देश त अधोगतितर्फ धकेलिरहेको छ । यी विविध आधार पछाडिको रहस्य एउटै छ । त्यो हो व्यवहार नकारात्मक हुनु ।
यातायातका क्षेत्रमा पनि विभिन्न नीति नियमका चर्का वहस सुनिन्छन् । चालक अनुमति पत्र, सिट संख्याअनुसार यात्रीको व्यवस्था, ट्राफिक नियमको जानकारी तथा पालनमा, उचित वा तोकिएको भाडादर, समयमा गन्तव्यमा पुग्ने पु¥याउने, चालक सह–चालक र यात्रीहरुबीच पारिवारिक वातावरण, सुरक्षित यात्रा लगायत अरु थुप्रै पक्ष छन् । आज यिनै माथि उल्लिखित विविध पक्षबाट एक होइन अनेक गुनासा एक पटक होइन पटक पटक आइरहेका छन् । भैपरी घट्ने घटना मानव पहुँच बाहिरका होलान तर सुनियोजित रुपमा घट्ने घटना पनि त कम छैनन् । सबै कुरामा सकभर पूर्वाधार तयार भएर पनि त्यसप्रति हुने र गरिने व्यवहार भने अपेक्षाअनुसार सकारात्मक हुन नसकेर नकारात्मक बनिदिँदा यसले समग्रमा भन्दा जताततै दिनानुदिन प्रभाव पार्दै गइरहेको अवस्था छ ।
यी माथिका केही परिवेश वा घटना प्रतिनिधि मात्र हुन् । हामीले जहाँ र जहिले पनि त्यही काममा ठक्कर खाइरहेका हुन्छौँ । जसको कारण हामी र हाम्रो व्यवहार हो । जुन चाहेर वा नचाहेर परिवर्तन गर्न गाह्रो भइरहेको छ । उदाहरणका लागि कसैलाई भोलि विहान ४ बजे उठेर ५ बजे वसपार्कमा पुग्नु छ लामो यात्राका लागि । तर विहान उठ्न अल्छी लागेर ५ मिनटपछि उठ्नुपर्ला भनेर पुनः ढल्कियो तव ब्युँझदाँ ८ बजेको हुन्छ भने कल्पना गर्नुस् त्यस वेला ऊ कुन गीत गाउँछ होला ?