चैत्र ११ गते ।
यात्रा भनेपछि हुरुक्क हुने मान्छे अझै पहाडको यात्रा ! सुन्दा बित्तिकै मन त पहाडको माथी माथी उडिहाल्यो । चिसो हावा चिसो पानी ! मन शीतल भयो । कोणधारी जंगल बीचका खोल्साखाल्सीमा बगिरहेको खोलीको संगीत सुन्दै चराहरुको चिरबिर र सल्लाहरुको सुस्याइको लयमा मन मग्न हुन थाल्यो ।
मनलाई जस्तो सहज म लाई थिएन । मनको के छ र जतिखेर जहाँ पुग्न सक्छ । तर म ? मात्र भ्रमणको उद्देश्यले कहाँ पो पुगेकी छु भनेर सम्झिने हो भने १,२ औँलामै सिमित हुन्छ गन्ती । जागिर , छोराछोरी , घर व्यवहार हामी सधैँ अल्झिरहेका हुन्छौँ । यसपाली त झन लकडाउनले थन्किएका धेरै कार्यक्रम धमाधम सुरु भएकाले व्यस्त भएकी थिएँ । विगत ३ महिनादेखि कुनै शनिबार पनि घरमा छैन म । हम दो हमरा दो वाला परिवारमा एक जना हिँड्नु भनेको बाँकी सबै जिम्मेवारी अर्को एकको टाउकोमा थुप्रिनु हो । नभए आफ्नै लागि काम साँचिनु हो । नजाऊँ केरे । होस । पटक पटक दिमागले यसै सोच्यो । अन्त्यमा परिस्थिति एकातिर र मनस्थिति अर्कोतिर भयो ।
कालिन्चोक ! मनले पटक पटक तय गरेको तर पुरा नभएको यात्रा थियो । यसपटक यात्राले नै तय गरेको थियो मलाई । जानु त छ तर कसरी ? अवसर त चुनौती दिएर नै आउँछ । शनिबारका लागि साँचिएका मिल्ने जति काम बिहीबार राती पूर्ण भए । केही काम यात्रापछिका लागि साँचिए । विकल्पहरुको खोजी गर्दागर्दै मध्यरातमा दराजमा थन्किएका आमा छोराको न्यानो कपडा झोलामा पट्टिएर खुम्चिएर बसे । तीनै झोला बोकेर फागुन २१ को बिहान ८ बजे चपुर चोकदेखि २ वटा स्कारपिओ पूर्व लागे । हाम्रो कालिन्चोक यात्रा सुरु भयो ।
बर्दिबासबाट उत्तर लागेपछि मेरो अनुहारमा उमङ्ग बढ्दै गयो कारण हामी तेस्रो बाटो छोडेर उकालोको यात्रामा थियौँ । जिन्दगी उकालो र ओरालोको यात्रा हो । समथर भूभागमा उभिएर पनि त जिन्दगी उकालो ओरालोको यात्रा गरिरहन्छ । घुम्तीहरुमा फन्को मार्दै , पारीपट्टीका पहाडी दृश्यहरु आँखाभरी कैद गर्दै ऐतिहासिक सिन्धुलीगढीमा पुगेर एकछिन विश्राम लियौँ ।
गढी पहिलेभन्दा थप व्यवस्थित भएछ । गढीको जानकारी लिएर सामुहिक तस्विर खिचेर हामीले ओरालोको यात्रा सुरु गर्यौँ । सल्लेरीको बिच भएर नागबेली आकारको चिल्लो सडक माथि निश्चित गतिमा सवारी साधन हरु कुदिरहेको दृश्य चित्ताकर्षक देखिन्थ्यो । तराईका समथर चौडा सडकमा एक अर्कालाई उछिन्न तछाडमछाड गरिरहेका तिनै सवारी साधनहरु पहाडक घुम्तीहरुमा निश्चित गतिमा कुदिरहेको देख्दा लाग्यो अभावले अनुशासित पनि त बनाउने रैछ ।
खुर्कोट बजार कटेर हामी रामेछाप जिल्ला प्रवेश गर्यौँ । सुनकोशी पारी काठमाडौं जाँदै गरेका सवारी साधनहरु चिल्लो सडकमा कुदिरहेका थिए सुनकोशी वारी धुलो उडाउँदै हामी सवार सवारी साधन कुदिरहे । हामी सुनकोशी किनारबाट तामाकोशी किनारमा पुगिसकेछौँ । तामाकोशीको किनारैकिनार कतै निर्माण हुँदै गरेका कतै भर्खर कालोपत्रे गरिएका सडकहरु छिचोल्दै अगाडि बढयौँ । तामाकोशीकै किनारमा जल कृडा गरी चिया खाजा खाएर चरिकोटको लागि उकालो चढ्यौँ । कतै भर्खर कालोपत्रे गरिएका र कतै निर्माणाधिन अवस्थामा फराकिला सडक थिए । सडक निर्माण कार्यमा पुरुषहरु सँगै बराबरी संख्यामा महिलाहरु पनि खटिरहेका थिए । जति जति माथी उक्लिदै गयौँ उति उति रोमाञ्चित हुँदै थियौँ । करिब एक घण्टाको उकालो पार गरेपछि एउटा डाँडामा पुग्यौँ जहाबाट चरिकोट बजारको दृश्य देखियो । पहाडको काखमा सम्भावित समृद्धीको सुन्दरता सहित मुस्कुराइहेको चरिकोटले एक दर्जन वर्ष अगाडि दर्जिलिङ्ग टेक्दाको अनुभूति स्मरण गरायो ।
हामी र वर्षा सँगसँगै झर्यौँ चरिकोटमा । आवासको व्यवस्था पश्चात बाहिर निस्केपछि सुन्यौँ हिउँ पर्दै छ रे कालिन्चोकमा । वाउ ! हामी सबै सँगै रोमान्चित र उत्साहित भयौँ ।
मनभरी कालिन्चोक भगवतीको दर्शन र हिउँसँग रमाउने उत्कट चाहना बोकेर फागुन २२ को बिहान ६ बजे चरिकोटबाट कुरीतर्फ लाग्यौँ । चिलाउने , मौवा , उत्तिस , टुनी , गुराँश र सल्लाका अग्ला अग्ला बोटहरु भएको जंगल छिचोल्दै हाम्रो सवारीसाधन उकालो चढिरह्यो ।
दुरीको हिसाबले चरीकोट देखि कुरी मात्र १६ किमी तर कच्ची र उकालो बाटो भएकोले समय भने धेरै नै लाग्यो चरिकोटबाट लगभग ११ किमी हिंडेपछि हामीले हिउँ देख्न थाल्यौँ । उकालो चढ्दै गर्दा जंगल नै सेतो देखियो । पहाड त हिमाल जस्तो । सल्लाका पातहरु पनि सेता । गुँराशका पोथ्रामा भर्खर लागेका कोपिला माथि हिउँ फूल मुस्कुराइरहेको थियो । हिउँले पुरिएर हिमाल जस्ता देखिएका पहाड , पातभरी हिउँ बोकेर उभिएका जस्ता देखिने जंगल यो मनमोहक दृश्यले हामी उत्साहित र रोमाञ्चित भैरहेका थियौँ ।
मध्य तराईबासी अधिकांश व्यक्तिहरुले जीवनमा पहिलोपटक हिउँ देख्नुभएको थियो । सवारी रोक्यौँ । पेसाले हामी शिक्षकहरु , अझ उमेरले अवकाशको ढोका उघारीसकेका सर म्यामहरु र पनि त हामी सबै बालविकासका नानीबाबू झैँ हिउँमा लडिबुडी गरिरहेका थियौँ । हिउँका डल्ला बनाएर फागुको लोला झैँ एक अर्कालाई छ्यापिरहेका थियौँ । हिउँसँगको साक्षात्कारले एकछिन भएपनि हामी हिउँ जस्तै निर्मल र कन्चन भएका थियौँ । आफैलाई भूलेर निसंकोच रमाइरहेका थियौँ ।
’यहीँ हिउँ खेलेर बस्ने हो र ? जाउँ हो अझै हिउँ त कती छ कती । ’चालकको निर्देशनमा सवारीमा त बस्यौँ तर सडकमा बाक्लो हिउँ भएको कारण सवारीसाधन जान अप्ठ्यारो भयो । चालकले बाटोमै सवारी रोके । हाम्रो जस्तै अरु सवारीहरु पनि बाटोमै लामबद्ध थिए। अब पालो हाम्रो पैदल यात्राको । मानिसहरु हिउँ खेल्दै तस्विरहरु क्यामेरामा कैद गर्दै हिँडिरहेका थिए ।
अप्ठ्यारो चाहीँ मेरो लागि भयो । अघिसम्म हिउँ खेलेर टुडे इज माई फेवरेट डे भन्ने मेरो छोरा पैदल हिँडन नसक्ने
भयो । छोरालाई घरी पिठ्युँमा घरी काँधमा बोकेर हिँडदै केही उकालो काटेकी थिएँ ।एउटा सवारी साधन आएर म नजिकै रोकियो । ’हजुरलाई गार्हो हुन्छ चढ्नुस । ’ मैले त ढुङ्गो पनि खोजेकी थिइन तर देवता प्रकट भए । लगभग ३ किमी यात्रा बराबर रु चार सय तिर्नुपर्यो त्यो चाहीँ अलग कुरा तर पैसा तिरिरहँदा पनि सेवा नै जस्तो लाग्यो ।
कुरी ! खोँचमा रहेको सुन्दर ठाउँ रहेछ । चिटिक्क परेका घरहरुका राता निला छतहरु हिउँले छोपिएका थिए । सडक , पसल मानिसहरुले छोपिएका थिए । चारैतिर हिउँ नै हिउँ हामीलाई हिमालमै उभिरहेका छौँ भन्ने अनुभूति भैरहेको थियो । उत्तरतर्फ लामबद्ध मानिसहरु पैदल हिँडिरहेका थिए । केबलकारको टिकट काटेका मानिसहरुको भिड थियो ।
’केही खराबी छ जम्मा २ वटा मात्र चलेका छन । टिकट काटेका मानिसहरु मात्र लैजाने हो भने पनि आज दिनभरमा गार्हो छ । सक्नेजति टिकट फिर्ता गरेर पैदल जानुस ।’
हामी खिसिक्क पर्यौँ । मन चिसो भयो । हिउँको चिसोले असर नगरेको मन एक्कासि कठ्याङ्ग्रिन थाल्यो । अब के गर्ने ! तातोपानी र मरिच चिया पिएर शरीर तताउने प्रयास त गर्यौँ तर मन ! समूहमा साथीहरुको कुरा आयो हिँडेर जान सक्ने जानुस हामी नसक्नेहरु केबलकार कुर्छौं । धेरै मानिसहरु टिकट फिर्ता गर्दै हिँडिरहेका थिए । मलाई पनि लाग्यो यहाँसम्म त आएँ यति त पुगिहालिन्छ । पुग्छु । छोरो डोराएर १०० मिटर जति उकालो उक्लेपछि हामी आमा छोरा नै हिउँमा चिप्लियौँ । हामी चिप्लेको देख्ने र माथीबाट फर्कने हरुले भने बाटो चिप्लो छ खतरनाक पनि । बच्चा लगेर हिँडेर नजानुस । म गरुङ्गो मन बोकेर छोरालाई डोराउँदै साथीहरु भएतिर फर्कें । लक्ष्यको नजिक आएर पराजित हुनु जस्तो दुखद केही हुँदैन । हिउँमाथी उभिएर पनि मेरा आँखाहरुले चारैतिर कालो देखिरहेका थिए ।
’लगभग ५०० मिटर होला दुरी यति नजिक आएर पनि दर्शन नगरी फर्कनुपर्ने भो !’ कालिन्चोक डाँडातिर हेरेर टोलाइरहेकी थिएँ ।
–तपाइँ जानुस बाबू हामीले हेर्छौँ ।
–बाबू बस्छस त ?
– ओके मामु ।
मन न हो । फुरुङ्ग भयो । हिउँको चमक आँखामा आएको हुनुपर्छ । बिहानी सूर्यको किरणले हिउँ पग्लेझैं आँखाहरु खुशीले पग्ले । छोराको लागि चिया बिस्कुटको बन्दोबस्त गरेर म कुरीबाट उकालो लागेँ । हाम्रो १६ जनाको समूहमा पैदल जाने ६ जना भयौँ । महिला म एक्लै ।
अरु बाटोमा हिँडे जस्तो होइन रहेछ हिउँको यात्रा ।अरुले टेकेको पदचापमा टेक्दा उल्टो चिप्लीने रैछ । आफूले नयाँ ठाउँमा टेक्नु पर्दोरहेछ । सम्भब भएसम्म बाटोको छेउछाउ कसैले नटेकेको हिउँ भएर हिँड्यौँ । दर्शन गरेर फर्केकहरु ढाडस दिन्थे । उनीहरुका शब्दले हामीलाई उर्जा दिन्थ्यो । अप्ठ्यारो अवस्थामा वास्तविकता थाहा हुँदाहुँदै पनि मानिसलाई आश्वासन मनपर्दो रहेछ ।
ठाउँठाउँमा विश्रामका लागि स साना फलामका कुर्सीहरु राखिएका थिए । तिनै कुर्सी नजिकै केही बोतल पानी केही पोका चाउचाउ , जडिबुटी , छुर्पी , पुजा सामग्री राखेका पसलेहरु भेटिन्थे । उनिहरुका आशाका नजर हामीतिर तेर्सिएका हुन्थे । यस्ता व्यापारीमा अधिकांश महिला थिए । त्यो चिसोमा काखमा सानो बच्चा च्यापेर बटुवातिर नजर लगाइरहेकी एक युवती प्रति अगाध सम्मान जाग्यो । सुटुक्क उनको तस्विर कैद गरेर उकालो उक्लेँ ।
यात्रारत हामी सबैको लक्ष्य एकै थियो । समस्या पनि ।यसकारण पनि चिन्दै नचिनेका मानिसहरु आफ्नै जस्ता लागे । परिचय नै नगरी पूर्व परिचित झैँ गफिदै अनुभवहरु साटासाट गर्दै बाटो छोटो बनाइरहेका थियौँ । बेला बेला गुराँशका पोथ्रा समाउँदै , बारहरुमा अडेस लाग्दै उकालो चढिरह्यौँ । उचाइ बढेसँगै विस्तारै पोथ्राहरु छुटे । कहालिलाग्दो भिरको सानो डोरोमा हाम्रो यात्राको सहारा बार , भित्ता र भित्ताका सुकेको बाबियो बन्यो । जतिसुकै कमजोर वस्तुले पनि सहारा बलियो दिने रहेछ ।
औसत मानिसहरु भन्दा छिटो हिंडिएछ । करिब एक घन्टाको पैदल यात्रापछि कालिन्चोक चुचुरोमा पुग्यौँ । ३८४२ मिटरको उचाईमा थियौँ । हिउँले ढाकिएको चुचुरोमा उभिएर चारैतिर हेर्दा हिमालको चुचुरोमा उभिएको जस्तो लाग्यो । आँखाले देखुन्जेल तल तल सम्मका सेताम्मे पहाडहरु हिमाल जस्ता देखिए ।
यो पवित्रस्थलमा मन्दिरको संरचना बनाउन नहुने किम्बदन्ती रहेछ । पश्चिमतर्फ १०–१५ जना उभिन मिल्ने जस्तापाताले छाएको टहरो र पूर्वपट्टी गणेशको मूर्ति रहेछ । जतततै कालिञ्चोक भगवती पूजा–दर्शन गर्ने तिर्थालुको भिड थियो। कोही दर्शन गर्दै थिए कोही वरिपरिको प्रकृतिलाई आ–आफ्ना मोबाइलमा कैद गर्न मग्न थिए। पूजा गर्दा चढाएका ध्वजा, त्रिशुल र घण्टहरुले सजिएको रहेछ थान । साँघुरो लाम्चो परेको साँघुरो चुचुरोमा थोरै समथर भाग रहेछ । खुला आकाशमुनि सजिएकी देवी भगवतीको दर्शन गर्यौँ ।
चिसो स्याँठ र हिउँको बावजुद पनि चुचुरोमा रमाइलै भइरहेको थियो । आँखा र मोबाइलमा चारैतिरको दृश्य कैद गरेर ओरालो झर्न थाल्यौँ । मानिसहरु बसेर हात खुट्टाले टेकेर झरिरहेका थिए । ओरालोको यात्रा अझै खतरनाक हुने रहेछ । कहालिलाग्दो भिर , जमेको हिउँ , भोको पेट रिंगटा लाग्ला जस्तो भो । खुट्टाहरु काँपिरहेका थिए चिप्लिएँ भनेँ ! मन ढक्क फुल्यो । बस्न मन थियो । ठाउँ थिएन । मोडमा एकछिन उभिएँ । भिडभाडमा कसैले भनेको सुनेँ जुत्ता बाहिरबाट मोजा लगाउनुस चिप्लिदैँन । यस्सो सोच्दा ठीक लाग्यो । जुत्ता मोजा खोलेँ । जुत्ता लगाएर जुता माथि मोजा लगाएँ ।टेकेँ ।हो त रहेछ । अब सजिलै त चिप्लिन्न । यही विश्वासका साथ निशुल्क पाएको सल्लाह सबैलाई बाँडदै कुरीतर्फ ओरालो झरेँ । हावामा फरफर हल्लिरहेको लुङ्दाले बिदाइका हात हल्लाए जस्तो लागिरह्यो ।