साहित्यका विधाहरुमध्ये एक हो रुपक । रुपक विधामा संवाद, एकाङ्की, नाटक आदि पर्छन् । यीमध्ये नाटक बज्जिकाञ्चलमा प्रसिद्घ विधा हो । यसमा विभिन्न अङ्क तथा दृश्यहरु भएका हुनाले मञ्चन तथा उद्देश्य प्राप्तिको हिसाबले यो विधा उत्तम मानिन्छ । छठ, दीपावली आदिको अवसरमा हरेक गाउँ ठाउँमा नाटक खेलिन्छ । यदि कहीँ समेआना लागेको छ, ढोल, हरमुनियम, नागारा आदि सजेका छन् । मान्छेहरु उत्सुक्तापूर्वक नाच हेर्न बसेका छन् भने तपाई आफू बज्जिकाञ्चमा छु भनी बुझ्नुपर्छ । यहाँ नाच प्रसिद्घ छ र धेरै कलाकारहरु नाम कमाएका छन् । नाचमा लवन्डाहरु त आफ्ना नृत्य तथा अदाकारीले नाम कमाएकै हुन्छन् भने हँसाउने जोकरले पनि कम्ती नाम कमाएका हुँदैनन् । हाम्रो नेपाली बज्जिका क्षेत्रमा अहिले हँसाएर कामेश्वर यादवले धेरै नाम तथा दाम कमाइरहेका छन् । छविलाल हाहाकारीले पनि यस अघिको पुस्तामा धेरै नाम कमाए । आज म भारत विहारको वैशाली जिल्लाको कपिल छविको कुरा गर्दै छु । मेरो हातमा छ ‘हँसोर छवि’ बज्जिका नाटक । यसका लेखक हुन् अखौरी चन्द्रशेखर । यसको लेखन तथा मञ्चन सन् १९९७ मा बज्जिका महोत्सवको अवसरमा भएको थियो तर प्रकाशन भने सन् २०१६ मा भयो । प्रकाशनको पाँच वर्ष पछि म यसको समीक्षा लेख्दै छु । भनिन्छ, साहित्यकार समदर्शी हुन्छन् । यसमा पनि साहित्यकार अखौरी चन्द्रशेखर विशेष दृष्टि राख्ने व्यक्तित्व हुन् जो कपिल छविजस्तो एक नाचको जोकरमा उनी अनुकरणीय गुन देखे र उनकै जीवन दर्शाउने नाटक लेखे ‘हँसोर छवि’ । नाटकको प्रकाशन तथा मञ्चनसमेतमा चाचीको भूमिका लिएर नाटकमा जान हालिन् उनकी श्रीमती सुधा वर्मा । सरल रेखीय शैलीमा लेखिएको यो नाटकले कपिल छविलाई सदाको लागि जीवित तुल्याएको छ भने नाटककार अखौरी चन्द्रशेखरको व्यक्तित्वलाई धेरै माथि उठाएको छ । तीन अङ्क र एक्काइस दृश्यमा सुशोभित यस नाटकमा सब थोक छ । हास परिहास छ, संस्कार छ, संस्कृति छ, भाषा छ, देश पे्रम छ, गीत छ, सङ्गीत छ, प्रेम छ, जातीय तथा ऐतिहासिक गौरव गथा छ । एउटा सानो नाटकमा यति कुराहरु भर्नु साधारण कुरा होइन । त्यो पनि एउटा जोकरको जीवन चित्र उतारेर त्यसभित्र यी कुराहरु भर्नु चानचुने कुरा होइन । यसको लागि परिपक्व हाँथ नै चाहिन्छ र अखौरीको हाथमा परिपक्वता मात्र छैन, जादूगरी पनि छ । ढोल, झाल, नगरा, बाँसुरी, सहनाई, घरा, करताल आदि वाद्ययन्त्र लयमा बज्दै छ । नाटकका सबै कलाकारहरु एक स्वरमा सुमिरन गीत गाइरहेका छन् । यहीँबाट नाटकको पहिलो अङ्क र पहिलो दृश्यको प्रारम्भ भएको छ । यसपछि निखट्टु पात्रले एउटी कलाकारिनलाई लिएर आउँछ । जसको नाचपाटीमा काम गर्ने मन हुन्छ । उसको श्रीमान् कामको सिलसिलामा बाहिर कमाउन गएका हुन्छन् र उतै गाडीमा किचिएर मरेका हुन्छन्, त्यसैले ऊ गुजारा गर्न नाचपाटीमा काम गर्न चाहन्छिन् तर नाच मालिकले यहाँ त लवन्डालाई राम्रो नजरले मान्छे हेर्दैनन् । तिमी त महिला जात पर्यौ । यो ठाउँ तिम्रो लागि होइन । हाम्रा कपिल छविलाई पनि कसैले बुझेनन् भन्दै कपिल छविको गाउँ ठाउँको परिचय दिने खालको गीत गाउन थाल्छन् । दोस्रो दृश्यमा कपिलको बुवा रुपन र कपिल र रुपनको साथी हृदयको चर्चा छ । यहाँ कपिलले सानैमा पठतव्यम तो भी मरतव्यम नपठतव्यम तो भी मरतव्यम भन्दै पढाइप्रति मजाक उडाएका छन् र बुवाको ओछ्यानमा पिसाब गरेर दर्शकलाई खुब हँसाएका छन् ।
छवि र उसका साथीहरुका माध्यमबाट नाटककार अखौरी बज्जिकाञ्चलमा गाइने बालगीत प्रस्तुत गरेर नाटकमा माटो सुगन्ध भरिदिएका छन् । अगाडिका दृश्यहरुमा छविको आमा कपिल सानै छँदा मरेको र पछि बुवा पनि मरेर ऊ एक्लो भएको र काका काकीको साथ रहेर जीवन चलाइरहेको चर्चा छ । सुन्दर उखान, टुक्का तथा कवितहरुको प्रयोगले सरस बनेको यो नाटक पूर्णरुपले छविको इर्दगिर्द घुम्दै अगाडि बढ्दै गएको छ । छविको भेट चन्द्रदेवसँग हुन्छ । यो भेट धेरै दिनपछिको हुन्छ । छवि पढाइको कारण बुवाबाट कुटाइ खाएर जौतपुरबाट भागेका हुन्छन् जो कुरा आफ्ना साथी चन्द्रदेवलाई बताउँछन् ।
पाँचौ दृश्य गीतबाट सुरु भई चनरदेवसँगको भलाकुसारीमा धेरै कुरा हुन्छ जसमा चनरदेवले छविलाई विहे गर्न आग्रह गर्छन् तर उनी विहे नगर्ने कुरा गर्छन् । आफूले लालगन्जको एक नाटकमा कैरिकेचर गरेको कुरा गर्दै दर्शकलाई खुब हँसाएको कुरा गर्छन् । यस नाटकमा कपिल छविमा विभिन्न नेताको आवाज निकाल्ने, विभिन्न जनावरको आवाज निकाल्ने गुनको प्रशंसा सटिक रुपमा गरिएको छ । यस नाटकमा रितु गीत, विवाह गीत तथा अन्य गीतहरुको सटिक प्रस्तुति त गरिएकै छ । अरु कपिल छविको व्यक्तित्व दर्शाउने गीतको प्रस्तुतिमा कुनै कमी गरिएको छैन । छविले आफू कलाकारको रुपमा मात्र काम गरेको, मान्छेलाई मनोरञ्जन गराएको, सुखदुख मान्छेसँग बाँड्ने गरेको भन्दै कमाएको पैसा पनि गरिबहरुमा बाँड्ने गरेको र यसले पाएको इज्जत नै मेरो सब थोक हो भन्नु कुनै दर्शनभन्दा कम होइन ।
रेलमा यात्रा गरिरहँदा बिना टिकट रेल चढेको छवि टिटिले टिकट माग्न आएपछि पक्षाघात भएको बिरामीको नक्कल गरी आफू समातिनबाट बाँच्छन् । यहीबीच रेलमै एक दिल्लीकी नर्ससँग ख्यालठट्टा हुन्छ । यात्राको वर्ष दिनपछि नर्स छविलाई खोज्दै छविको गाउँ बरहटिया पुग्छिन् । उनी छविलाई दिल्ली लैजाने कुरा गर्छिन् । साथै यहाँ यो गाउँ ठाउँमा छविको व्यक्तित्व विकास हुने बताउँदै आफूसँग दिल्ली जान आग्रह गर्छिन । छविलाई मन मुटुमा बसाइसकेकी नर्सले उसलाई आफूसँग विहे गर्ने अनुरोधसमेत गर्छिन तर छवि मान्दैनन् । उसले मेरो जीवन यहाँका लोकको लागि हो । म यहीँ बसेर लोकमा हाँसो तथा प्यार बाँड्छु । म यहीँको आवोहवा र वातावरणमा अन्तिम साँस फेर्न चाह्न्छु । मेरो लागि मेरो गाउँको देवी माता नै सब थोक हो भन्दै ऊ विहे गर्न अस्वीकार गर्छन् ।
भनिन्छ कसले के कुराबाट सुख पाउँछ थाहा हुँदैन । कपिल छविले त मान्छेलाई हँसाएर, उनीहरुसँग सुखदुख बाँडेर सुख पाउँछन् । मलाई ओशोको एक भनाइ याद आयो उनी भन्छन्, “यस संसारमा मान्छे भगवानलाई प्रेम होइन डरले पुज्छन् । जुन दिन मान्छे प्रेमले भगवानलाई पुज्छन् उसको आध्यात्मको यात्रा सुरु भइसकेको हुन्छ ।” छवि गाउँको देवीमातालाई प्रेमले पुज्छन् । उसको लागि देवी माता नै सब थोक हो । यहाँसम्म कि उसले आफ्नो कमाइले देवी माताको मन्दिर बनाएका छन् । बज्जिकाञ्चलभरि घुमी घुमी नाच्दै जनमानसलाई हँसाउँदै माया साटासाट गर्ने छविको लामो कद कालो कुर्ता पैंट कालो लामो कपालमाथि कालो गम्छाले बाँधेको पगरीले सम्पूर्ण भारतीय बज्जी क्षेत्रलाई लोभ्याउँथ्यो । आफू जीवित छँदै आफ्नो शव यात्रा निकालिसकेका र श्राद्ध गरिसकेका छविको आत्म कथाभन्दा कम छैन यो नाटक हँसोर छवि । नाटककार अखौरी उनीबाट यति प्रभावित छन् कि आफ्नो कपाल उनीजस्तै लामो दाह्री सफाचट्ट चिटिक्क राख्छन् । कालो कुर्ता पैंट र कालो पगरी लगाइलिएपछि हुवहु छविजस्तै लाग्छन् । समग्रमा भन्ने हो भने यस नाटकले कपिल छविको छविलाई माथि उठाएको छ कि छविको यस अनौठो प्रतिभाले नाटककारलाई माथि उठ्न सघाएको छ ? भन्ने कुराले मलाई अन्यालमा पारेको छ । जे होस् नाटक हरेक कोणले सफल छ । यसमा बज्जी संस्कृति, लोकगीत, बालगीत, विवाह गीत, उखान टुक्का र कवितजस्ता पक्षहरुले नाटकलाई सजीव तुल्याएका छन् ।
सुदामा, बलरा १०, सर्लाही