चैत २० गते ।
ऐतिहाँसिक तथा पुरातात्विक आधारलाई मानेर सहरको प्रसङ्ग सुरु गर्दा मेसोपोटामिया क्षेत्रको उरुक र जेरिको पुग्नु पर्ने हुन्छ । अहिलेसम्म प्राप्त तथ्य, तथ्याङ्क, भू–अवशेष लगायत विभिन्न प्रमाणहरुले ती मानव सभ्यता वा मानव वस्ती संसारका सबभन्दा पुराना सहर वा वस्ती भएको पुष्टि गर्छन् । वास्तवमा मेसोपोटामिया संसारको सबभन्दा पुरानो मानव सभ्यता हो भन्नुमा त्यस्तो कुनै द्विविधा नरहला । यसको समय इ.पू.४५ सयदेखि ३१ सयसम्म भएको इतिहासले देखाँउछ । मानिसको संख्याका रुपमा हेर्दा त्यहाँ लगभग औसतमा पाँच हजार भएको देखिन्छ । त्यो समयमा कुन ठाउँ के कति विकसित थियो भनेर जान्नका लागि अहिलेको जस्तो प्रविधिको उच्चतम प्रयोग थिएन । मान्छे जहाँ जन्मन्थे त्यही वस्थे वा आफूलाई पायक पर्ने ठाउँमा गएर वस्थे । निश्चित पारिवारिक संरचना वा स्थायी बसोवास नभएको कारणले पनि जीवन त्यति सहज नभएको अनुमान लगाउन सकिन्छ । अर्को कुरा मानवको बसोवासको अवस्था सँगसँगै जीवनशैली पनि भिन्नाभिन्नै थियो ।
मानिसलाई आफ्नो उद्गम स्थलको तुलनामा अन्य स्थानहरु के कस्ता छन् ? कत्तिको विकसित छन भन्ने कुरा जान्न र बुझ्नका लागि स्वयं त्यसतर्फ प्रत्यक्ष रुपमा पुग्नु पथ्र्यो जुन कुरा त्यति सजिलो र सम्भव पनि थिएन । जसरी वर्तमान समयमा विश्वका कुन कुना काप्चामा के कस्तो अवस्था छ भनेर एक पिको सेकेण्डमै थाहा हुन्छ । अव प्रसङ्ग आउँछ, त्यहाँ भएका मानिस गाउँले वा सहरिया के थिए भन्ने कुराको । वास्तवमा जो मानिस त्यहाँ थिए ती गाउँले थिए वा सहरिया थिए भन्दा पनि तिनैले सहर बनाएर सहरिया भए भन्ने हाम्रो ठम्याई हो । इतिहासले पनि आ–आफ्नै किसिमले पुष्टि गर्दै त्यही कुरालाई आधार मान्दै आएको देखिन्छ ।
यहाँनेरि चर्चा गर्न खोजिएको प्रसङ्ग नेपालको हो । वास्तविक रुपमा राजनैतिक वा प्रशासनिक नक्सा कोरिनुभन्दा पहिले नै सहर थियो । जग्गा जमिन थियो । मानिस थिए तर नेपाल भनेर सीमा तोकिएको निश्चित क्षेत्रफल थिएन । पृथ्वीनारायण शाहको नेपाल एकीकरण पछि मात्र नेपालले आफ्नो आधिकारिक भूगोल कायम ग¥यो । यस अवस्थाबाट हेर्दा भक्तपुर सबभन्दा पुरानो सहर मानिन्छ । यो वास्तविक पनि होला किनभने त्यहाँ भएका पुरातात्विक खोज अनुसन्धान लगायत विविध भग्नावशेषले पनि त्यो कुराको पुष्टि गरेका छन् । यसका साथै अन्य ठाउँहरु पनि बहसका विषय बनिरहेका छन् । मानववस्तीका रुपमा हेर्दा कपिलवस्तु, लुम्बिनी लगायत अन्य ठाउँहरु पनि अध्ययन अनुसन्धानका विषयभित्र पर्छन् ।
अब हामी कसरी चलाएका छन् त गाउँलेले सहर भन्ने मूल ढोकाभित्र पसौँ । स्थानीय सरकार कार्ययोजना ऐन २०७४ अनुसार जनसंख्याको आकार, औसत वार्षिक आय र न्युनतम सहरी पूर्वाधारका सुविधाका आधारमा नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका गरी यी तीन क्षेत्रलाई सहर घोषणा गरेको छ । जसअनुसार नगरपालिका घोषणा गर्नका लागि हिमाल, पहाड, तराइ र काठमाडौँ उपत्यकामा १० हजारदेखि १ लाखसम्म जनसंख्या र वार्षिक आम्दानी १० मिलियनदेखि ३० मिलियन तोकेको छ । उप–महानगर घोषणा गर्नका लागि जनसंख्या २ लाख र गत ५ वर्षसम्मको औसत आम्दानी २ सय ५० मिलियन र महा–नगरपालिकाको लागि जनसंख्या ५ लाख र आम्दानी १ हजार मिलियन तोकेको छ । यसका साथै अन्य पूर्वाधार पनि सोहीअनुसार निश्चित गरिएका छन् । हाल नेपालमा ६ वटा महानगरपालिका ११ वटा उपमहानगरपालिका र २ सय ७६ वटा नगरपालिका गरी जम्मा २ सय ९३ सहरी क्षेत्र र बाँकी ४ सय ६० गाउँपालिका छन् ।
नेपालका ठूला सहरहरुमा काठमाडौँ, पोखरा, बिराटनगर, वीरगञ्ज, बुटवल लगायत अरु थुप्रै पर्छन् । तिनीहरुमध्ये सबभन्दा ठूलो सहर पोखरालाई मानिन्छ । सहर भन्नाले घना वस्ती हो भन्ने कुरा त अगाडि नै प्रष्ट भइसक्यो । अव कसरी हुन्छ त घना वस्ती वा सहर ? गाउँबाट विद्यालयीय शिक्षा पूरा गरेपछि देशका विभिन्न ग्रामीण भू–भागबाट उच्च शिक्षा अध्ययनका लागि एक–एक विद्यार्थी जम्मा हुन्छन् । अध्ययन पूरा गर्छन् र सम्भव भएसम्मका त्यस्तो रोजगारको अवसर प्राप्त भएमा मात्र गाउँ फर्कन्छन् र बाँकी रोजगारी पाउने आशामा सहरमै भौँतारिरहन्छन् । कोही मन्त्री, प्रधानमन्त्री र राष्ट्रिपति बन्छन् कोही प्राध्यापक बन्छन्, कोही शिक्षक वन्छन् । कोही कर्मचारी बन्छन्, कोही नेता वन्छन्, कोही कार्यकर्ता बन्छन् । तिनै उच्च शिक्षा प्राप्त गर्न सहर प्रवेश गरेका मध्येबाटै कति व्यापारी बन्छन्, कति चालक र सह–चालक बन्छन् । तिनै मध्येबाटै कति त डन र डाका तथा पाकेटमार पनि बन्छन् । यी त भए गाउँबाट भविष्यमा ठूलो र असल मान्छे बन्नका खातिर सहर पसेका जवान युवा युवतीहरु जसले सहरलाई जीवित राखेका छन् ।
त्यस्तै गरी अर्को समूह छ जो सीप, क्षमता र शिक्षाविहीन छ । उनीहरु आफ्नो गाउँमा जीवन जीउने कुनै पनि उपाय नभेटेर सहर पसेका छन् । सर्र्वप्रथम हात मुख जोर्नकै लागि जे जस्ता क्रियाकलाप गर्न पनि पछि पर्दैनन र लामो समयको सहर बसाइपछि एक प्रसिद्ध सहरिया कहलिन्छन् र सोहीअनुसार आफ्नो जीवन चर्या अगाडि बढाइ सहर चलाइरहन्छन् ।
कोही कसैले गाउँमा दुःखजिलो गरेर कुनै सीप सिक्यो, क्षमता अभिवृद्धि ग¥यो तर अवसर पाएन भने उसको अपेक्षित गन्तव्य पनि सहर नै बन्छ र सहर पस्छ । साथसाथै कोही कसैले आफ्नो आर्थिक पहुँचअनुसार लगानी गरी व्यापार विजिनेश गर्न खोज्दा गाउँमा त्यति प्रभावकारी नहुने हुनाले न्यूनतम लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने अपेक्षाका साथ ऊ पनि सहर नै पस्छ । गाउँमा जीवन न्यूनस्तरीय बन्ने र आवश्यक आधारभूत आवश्यकतासमेत पूर्ति गर्न गाह्रो हुने भएकोले एक समूह पुनः सहरमा गई कु्नै सीप सिक्ने, तालिम लिने र आफूलाई त्यही व्यवस्थापन गर्ने धुनमा सहरमा पस्छन् । गाउँमै बसेका हजुरबुवा, आमाले पनि आफ्ना सन्तान सहरमै बसून् भन्ने चाहन्छन् ।
गाउँमा बस्ने व्यापार विजिनेश गर्ने, कुनै सरकारी गैर– सरकारी संघ–संस्थामा संलग्न व्यक्ति पनि कहिलेकाँही पृथक अनुभव बटुल्नका साथै मनोरञ्जन लिनका लागि समय मिलाएर सहर जाने प्रवृत्ति पनि छ । तिनीहरुले पनि सहरमा गएर किनमेल गर्छन् । होटल र रेष्टुरेन्टमा बस्छन् । यातायातका साधनको उपयोग गर्छन् । यी र यस्ता लगाताररुपमा हुने गरेका क्रियाकलापले पनि सहर चलिरहेको छ । यी र यस्ता यति मात्रै आधार होइनन् गाउँले सहर पस्नुका कारण । अन्य थुप्रै इच्छा, आकांक्षा, बाध्यता र परिस्थितिले गर्दा सहर पस्छन् गाउँलेहरु । जति पनि गाउँलेहरु सहर पस्छन् तीमध्ये अधिकतमले सहरमै आफ्नो जीवन व्यवस्थापन गर्दै जाँदा स्थायी वसोवास बनाउँछन् र पारिवारिक संख्या पनि बढाउँदै लैजान्छन् । अब गाउँबाट सहरमा गई स्थायी बसोबास गर्नेका आफन्त, इष्टमित्र, साथीसंगी पनि गाउँबाट भेटघाट गर्नका लागि सहरमै जान्छन् । गाउँमा उत्पादित कुनै पनि चिज वा वस्तु विक्री बितरण गर्नका लागि पनि मान्छे सहर नै जान्छन् । अझ महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य क्षेत्रको पनि हो । मानिस स्वभावैले स्वस्थ रहन चाहन्छ । चाहेर वा नचाहेर मानिस अस्वस्थ हुनु भनेको पनि एउटा जटिल समस्या हो । प्रायः गरी सुविधा सम्पन्न स्वास्थ्य संघसंस्था र चिकित्सकको बाहुल्यता रहेको क्षेत्र सहर भएकोले गर्दा पनि ग्रामीण इलाकामा अस्वस्थ र बिरामी भएका मान्छेलाई उपचारका लागि लैजाने गन्तव्य पनि सहर नै हो ।
यसरी यी माथि उल्लेखित घटना तथा परिघटनाले कसरी सहर चलिरहेको छ र कुन पक्षले सहर चलाइरहेका छन् भन्ने कुराको आँकलन गर्न त्यति गाह्रो पर्दैन । एकापट्टि मान्छे स्वभावैले सहर उन्मुख छ भने अर्कोपट्टि यस्तो प्रकृतिले गाउँमा पार्ने नकारात्मक प्रभाव पनि कम अप्ठ्यारो छैन ।