चैत्र २१ गते ।
रौतहटमा सदस्यताको माग राखी केही पत्रकारहरूले निरन्तर संघर्ष गरिरहेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय रौतहटको कार्यालय भवनअगाडि निरन्तर धरना दिइरहेका सक्रिय सञ्चारकर्मीहरुले नेपाल पत्रकार महासंघको सदस्यताको माग गरिरहेका छन् । यो माग सही हो भन्ने कुरो स्थानीय सम्पूर्ण सञ्चारकर्मीदेखि केन्द्रसम्मको नेतृत्व तहले राम्ररी बुझेका छन् ।
जो सक्रिय छन्, केही वर्षदेखि निरन्तर सञ्चार क्षेत्रमा जुटेका छन् । सञ्चारकर्मीको रुपमा जिल्ला र अन्यत्र पनि आप्mनो पहिचान बनाइसकेका छन् र सञ्चारको क्षेत्रमा योगदान दिइरहेका छन्, तिनीहरुलाई नेपाल पत्रकार महासंघले सदस्यता दिनुपर्दछ । साँच्चै सक्रिय रहेका सञ्चारकर्मीले आफूले सदस्यता पाउनका लागि आन्दोलन नै गर्नुपर्ने ? कतिपय त यस्ता पनि मानिस छन् जो एक दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरिरहेका छन् तर तिनीहरू अहिलेसम्म सदस्यता पाउनबाट वञ्चित छन् । नेपाल पत्रकार महासंघको कुनै पनि मर्म र धर्मले यो मान्दैन कि जो सक्रिय छन्, तिनलाई सदस्यताबाट रोकिनुपर्छ ।
हो, केही निष्क्रियले पनि सदस्यताको लागि आवेदन दिएको वा गैरपत्रकारले पनि निवेदन दिएको कुरो बाहिर आउने गरेको छ । नेपाल पत्रकार महासंघले निवेदन दिएका व्यक्तिमाथि छानबिन गर्न सक्छ, सम्बन्धित सञ्चार गृहमा सोधपुछ गर्न सक्छ वा अप्रत्यक्षरुपले केही समय निगरानी गर्न सक्छ कि कत्तिको सक्रिय छ । साँच्चै सक्रिय रहेकालाई कुन तरिकाले हुन्छ सदस्यता दिइनु पर्दछ । जो सक्रिय सञ्चारकर्मी छन्, तिनलाई सदस्यता दिइँदा सम्बन्धित सञ्चारकर्मीले आफूलाई सम्मानित संस्थाको सदस्य भएकोमा गर्व महसुस गर्दछन् । र यसबाट नेपाल पत्रकार महासंघ आफू पनि सम्मानित भएको महसुस गर्नुपर्दछ ।
सञ्चारको क्षेत्रमा निरन्तर सक्रियलाई सदस्यता दिनुपर्ने नेपाल पत्रकार महासंघको कर्तव्य पनि हो । दिइनुपर्ने सदस्यताको लागि आन्दोलन गरेर लिनुपर्ने अवस्था आउनु भनेको नेपाल पत्रकार महासंघमा केही गडबडी छ भन्ने बुझिन्छ । कुनै किसिमको गडबडी नहोओस् भन्ने कामना छ तर आन्दोलन गरेर सदस्यताको माग गरिरहेका सञ्चारकर्मीप्रति नेतृत्वले सहानुभूति राखेर आवश्वास्त पार्दै समस्या समाधानको उपाय पनि बताउनु आवश्यक भइसकेको छ । सधैँ अर्काको हकहितको लागि लड्ने सञ्चारकर्मीहरु आफ्नै सदस्यताको लागि लड्नुपर्ने अवस्थालाई विडम्बना पनि मान्न सकिन्छ ।