चैत्र २१ गते ।
संसारभरि तहल्का मचाउने र दर्शन क्षेत्रमा क्रान्ति ल्याउने महान् भारतीय दार्शनिक ओशो ११ डिसेम्बर १९३१ मा जन्मेर १९ जनवरी १९९० मा महासमाधि प्राप्त गरे । उनले दिएका प्रवचनहरुको संग्रह भएको पुस्तक धेरै छन् जसमध्ये ‘संभोगसे समाधिकी ओर’ उनको प्रमुख पुस्तक हो । अध्यात्मसँग रुचि राख्ने उनलाई नपढ्ने सायदै कोही होलान् । पढ्नेले पढ्न त उनलाई पढ्छन् तर मान्छे आफ्नो विचारको दोसल्ला ओढेर पढ्छन् । पछि उनी र उनको दर्शनप्रति आफ्नै धारणा बनाउँछन् । पछि अन्ततः उनलाई भोगवादी, मनोवैज्ञानिकजस्ता बिल्ला लगाइदिन्छन् । नेपाली साहित्यकार शीतल गिरीले ओशोलाई बुद्धसँग तुलना गर्दै भन्छन्,“ओशो संसारमै बुद्धपछिको महान् तार्किक हो ।” कसैकसैले उनलाई नसाको रुपमा लिन्छन् र यही कारणले उनको विचारलाई पढ्दैनन् भने कसैकसैलाई आफ्नो धर्म खतरामा परेको लाग्छ र विरोध गर्छन् । जसले जे गरुन् ओशो आफ्ना व्याख्याहरुमा प्रशस्त मुल्ला नसरुदिनका कहानीहरु जडेका छन् र रोचकतासाथ पाठक अनि स्रोतालाई हँसाउँदै आफ्ना विचारहरु प्रस्तुत गरेका छन् । आज म उनकै कथाको चर्चा गर्दै छु । कहानी छ सन्त समुदायबाट । सन्त परम्परामा भोजलाई भण्डारा भनिन्छ । उनीहरु भोज खाने ठाउँ भनेको मठ मन्दिर नै हो । त्यहाँका साधुसन्तले विभिन्न अवसरमा भण्डारा गर्ने गर्छन् । गृहस्थले पनि भाकल अनुरुप साधुसन्तलाई धण्डारा खुवाउने गर्छन् । कुनै मठबाट भण्डारा खान एक साधुलाई निम्तो आउँछ । उनी आफू भण्डारा खान नगई आफ्ना दुई चेलाहरुलाई पठाउँछन् । उनको मठमा उनी र यी दुई चेला गरी जम्मा तीन सदस्यहरु हुन्छन् । उनी बुढो भइसकेका हुन्छन् । दुई चेलामध्ये एक प्रौढ हुन्छन् भने अर्का नवयुवा नै हुन्छन् । भण्डारा खान जाने मठ नदी पारि थियो, त्यसैले वृद्ध साधु भण्डारा खान गएनन् । उनी असक्त पनि थिए । नदीमा पानी कम भएको हुनाले ती दुई चेला आरामले नदी तरेर भण्डारा खान गए । फर्कदा नदीमा पानी बढिसकेको थियो तापनि पौडी खेल्ने खालको पानी थिएन । एक युवती पनि त्यहाँ नदीपार गर्ने उद्देश्यले बसिरहेकी थिइन् तर नदीमा पानी बढी भएको उनले एकलै तर्ने आँट गरिरहेकी थिइनन् । उनी लगभग घर फक्र्ने विचार गरिसकेकी थिइन् । दुई सन्तलाई देखेर उनमा नदी तर्ने आशा पलायो र उनी प्रौढ सन्तलाई नदी तर्न सहयोग गर्ने आग्रह गरिन् । प्रौढ सन्तलाई नारी नरकको द्वार हुन्छ भन्ने कुरा थाहा थियो । नारीलाई छुनु सन्त परम्पराको खिलाफ भएको हुनाले पनि ऊ त्यो युवतीको कुरै नसुनी नदीमा पाइला सार्यो र अगाडि बढ्यो । युवतीले नवयुवक सन्तलाई पनि आग्रह गरिन् । यस पालि युवती आग्रह खेर गएन । नवयुवक सन्त हठ्ठाकठ्ठा बलियो जवान थियो । सोझै युवतीलाई बच्चाजस्तो उचालेर काँधमा राखी नदी तर्न लाग्यो । यहाँ युवतीको अनुहारमा केही असहजताजस्तो भाव देखिएन । उनी चुपचाप मौन मुद्रामा मूर्ति समान बसिरहेकी थिइन् । नवयुवक सन्त पनि मौन नदी तरिरहेको थियो । पानी कमरसम्म हुदाँतक युवतीको पायल मन्द मन्द बाजिरहेको थियो । पायलको आवाजले प्रौढ सन्तको ध्यान आकृष्ट गर्यो । ऊ पछाडि हेर्यो र रिसको भाव र आँखाले एक पल कनिष्ट सन्तलाई हेर्यो । कनिष्टलाई यस कुराको भान भएन । सायद ऊ कुनै विचारमा मग्न थियो । जब पानी छातीसम्म भयो तब पायलको आवाज बन्द भयो र युवतीको खुट्टाबाट पानीमा संघर्ष भई आवाज आउन थाल्यो । यो आवाज पायलको जस्तो पृथक थिएन । नदी तर्दा समग्रमा तीनै जनाको जीउबाट उस्तै आवाज आइरहेको थियो । तापनि प्रौढ सन्त युवतीको खुट्टालाई पानीले छोएर उत्पन्न भइरहेको आवाज प्रस्ट सुनिरहेको थियो । ऊ एकचोटि पुनः पछि फर्केर कुन्नि कुनकुन भावले कनिष्ट सन्तलाई हेर्यो । विचरालाई यसपालि पनि केहीँ थाहा भएन । नदी तरेर कनिष्ट सन्त युवतीलाई कृष्णाष्ठमीको कृष्णको मूर्ति सरी उतार्यो । दुई सन्त आफ्नो बाटो ताके । युवती कहाँ गइन्, यस कुराको दुवैमध्ये कसैलाई मतलब भएन । नदी तरुन्जेल त बरिष्ठ सन्त मुख फुलाई मनमनै केके गुनिरहेको थियो उही जानोस् । बाटोमा उसले कनिष्टलाई गाली गर्न थाल्यो, “तँ साधु परम्परालाई बद्नाम गरिस् । तँ जिउँदै नर्क छोइस् । तँ सन्तको नाममा कलङ्क छस् । हिड् महन्थलाई भनेर तँलाई मठबाट निकाल्न लगाउँछु ।” अरु धेरै राम्रो नराम्रो कुराहरु भन्यो । बाटैमा सन्त सिद्धान्त स्मरण गराए । गर्न हुने र गर्न नहुने साधुत्व पाठ पढायो । मानौ ऊ बाघजस्तो कुनै निरीह प्राणीमाथि गर्जिरहेको छ । तर कनिष्ट सन्तमाथि कुनै प्रभाव परिरहेको थिएन । उसको गाली यसको कानलाई छोएर कर्कलाको पातमा पानी परेर झरेझैँ झरिरहेको थियो । ऊ बाटोभरि अरु केके फलाकिरह्यो, उसलाई केहीँ वास्ता र मतलब भएन । मठमा पुगेपछि पहिलोे भेंटमै महन्थलाई कनिष्टलाई मठबाट निकाल्ने निर्णयसहित सुझाब पेश गर्याे र नदी तर्दाको सारा वृतान्त सुनायो । महन्थले केहीँ बोलेनन् । साँझ पर्यो पूजा गर्ने बेलामा महन्थलाई फेरि त्यही कुरा दोहो¥यायो । महन्थ यसपालि पनि केही बोलेनन् । ऊ आफ्नै धुनमा मग्न थियो । राती सुत्ने बेलामा पनि यही कुरा महन्थसँग गर्यो । बरिष्ठ सन्तको आक्रोशप्रति कनिष्टको कुनै प्रतिकृया देखिइरहेको थिएन न त महन्थले कुनै प्रतिकृया देखाइरहेको थियो । ऊ त चुपचाप मौन आफ्नै धुनमा मग्नमस्त थियो । भोलि विहान उठेर मठको आँगन बढार्न छोडेर महन्थसँग फेरि त्यही उसलाई मठबाट निकाल्ने कुरा भन्यो । यसपालि महन्थ रिसाइसकेको थियो । उसले भन्यो, “यस मठबाट त म निकाल्छु तर तिमीलाई किनभने साधु परम्पराको कलङ्क ऊ होइन । तँ छस् । उसले युवतीलाई काँधमा बोकेर नदी तार्यो र उतार्यो । उसलाई केही वास्ता छैन त्यो युवतीको र तेरो आक्रोशको । तिमी त्यो युवतीलाई काँधमा त बोकेनौ तर मनमा बोक्यौ । यसरी बोक्यौ कि अहिलेसम्म उतार्न सकेका छैनौ । सारा पाखण्ड तेरो मनमा छ । तैँले र तेरो मनले नर्कलाई छोएको छ । तँ नबोकिकन पनि अहिलेसम्म बोकिरहेको छस् । खोई तेरो वैराग्य ? यही हो ?” यस्तै धरै कुराहरु भनेर वरिष्ठलाई महन्थले सम्झायो । वास्तवमा यो संसार मनले केन्द्रित हुन्छ । मनमा कुनै कुरा घर बनाइलिएपछि मान्छेको व्यहवार पनि त्यसै अनुसारको हुन जान्छ । सिद्धान्त र विचार जानेर केही हुँदैन । दूई चार श्लोक र पूजा विधि जानेर कोही साधु र सन्त हुँदैन । साधु र सन्त हुनलाई त सच्चा वैराग्य मनमा उठ्नुपर्छ । मनमा आध्यात्मिक चेतना उठ्नुपर्छ । टिका चन्दन घसी माग्दै हिड्ने साधु भएको भए उसको सम्पर्कमा आउने सारा जन आध्यात्मिक र धार्मिक हुन्थे । यो ब्रमाण्ड र सृष्टि सुखको सागर हुन्थ्यो । चारैतिर पे्रम र भातृत्वको भावना हुन्थ्यो । कोही दुखी हुँदैनथे । अतः हामीले आवरणी रुप नराखेर मन र व्यहवार एक किसिमको राख्नुपर्छ । कनिष्ट सन्त सरी । यहीँ आनन्द र परमात्मासँग साक्षात्कार हुन्छ । यही सत्य हो । बाँकी सब मिथ्या छ ।
सुदामा, बलरा १० सर्लाही