चैत २९ गते
कुरा विक्रम संवत २०५९ सालको हो । त्यत्तिखेर म एस्एल्सी उत्तीर्ण गरेर कक्षा ११ मा श्री सरस्वती उमावि पिपरा भलेहिया, रौतहटमा अध्ययनरत थिएँ । त्यहाँ अध्यापन गराउने सबै गुरुहरु राम्रा थिए । म पनि त्यहाँ नयाँ र राम्रो परिवेश पाएर उत्साहित थिएँ । श्री जुमावि गौरमा पाँच वर्ष पढेर दिक्क भइसकेको मनले नयाँ परिवेश खोजिरहेको थियो । जो मलाई त्यहाँ मिल्यो । कुनै सहरमा गएर पढूँ भन्ने ममा कहिल्यै सोख वा लालसा जागेन । मलाई यही परिवेश सुन्दर र रमाइलो लाग्यो । म पढ्नमा कमजोर थिएँ । गणित, विज्ञान र अङ्ग्रेजीजस्ता विषयहरु पढ्नै मन लाग्दैनथ्यो तर पनि नेपाली भने मेरो राम्रो थियो । म कमजोर हँुदा पनि मेरो सङ्गत राम्रा विद्यार्थीहरुको थियो । म नेपाली विषयको ट्यूशन पनि पढ्थेँ । अर्को मेरो राम्रो पक्ष थियो पुस्तकालय जाने बानी । यो बानी लगाउने मेरै कक्षाको साथी द्वितीय विद्यार्थी रतन मिश्रा थिए । उनी आफू पनि कलाकुञ्ज पुस्तकालय जान्थे र मलाई पनि लान्थे । उनी कवि थिए । राम्रा कविताहरु लेख्थे र प्रभात झाको सम्पादनको एक पत्रिकामा छपाउँथे । उनका कविताहरु सुनेर नेपाली गुरु शंकर ठाकुर मन्त्रमुग्ध हुन्थे र प्रशंसा गर्थे । उनकै सङ्गतमा म पनि लेख्न थाले तर नेपाली गुरुलाई कहिल्यै आफ्ना कविताहरु देखाइनँ र सुनाइनँ । मेरो अर्को बानी थियो रेडियो सुन्ने । म रेडियो नेपालबाट प्रत्येक शुक्रवार विहान १० बजे नवराज लम्सालको कार्यक्रम ‘मधुवन’ सुन्थेँ । उनको स्वर छन्दमा खूब जम्थ्यो । उनले वाचन गरेका कविताहरु सुनी मेरा जिउका रौँहरु खडा भैहाल्थे । मैले छन्दका एक दुई श्लोकहरु रच्न सुरु गरिसकेको थिएँ । गौर छोडेपछि कवि रतन मिश्रा कहाँ हराए आजसम्म पतो छैन ।
पिपरा भलोहिया प्लस टूमा केहीँ उत्साही मेरा कक्षा साथीहरु कविता, मुक्तक आदि लेख्थे । सायद यो नेपाली गुरु रमेशहरि शर्मा ढकालको प्रभाव थियो । कक्षाका साथीमध्ये एक जनाको नाम मलाई अझै थाहा छ । उनी हुन ज्योति मिश्रा । कक्षा १२ मा अध्ययन गर्ने प्रतिमा मिश्रा, प्रतिभा झा र स्नेहा झाहरुले साहित्यका केहीँ विधाहरुमा कलम चलाउँथे । मेरा यी साथीहरुमध्ये स्नेहा झा अति प्रतिभावान थिइन् । उनले लेखेका लेखरचनाहरु पत्रिकाहरुमा छपाइसकेको पनि थियो । उनी ‘रौतहट रश्मि’ त्रैमासिक पत्रिकाको प्रतिभा पुरस्कारबाट पुरस्कृत पनि भइसकेकी थिइन् । पछि उनी कहाँ हराइन् आजसम्म कसैलाई थाहा छैन । उनी लेखिरहेका भए म उनलाई अवश्य पढ्थेँ ।
मेरो सम्पर्क र सम्बन्ध रमेशहरि शर्मा ढकालसँग बढ्यो । उनको साहित्यिक नाम रमेश समर्थन हो भन्ने जानेँ । उनी नै ‘रौतहट रश्मि’ साहित्यिक त्रैमासिकका सम्पादक हून् भन्ने पनि जानेँ । ‘रौतहट रश्मि’को एक अङ्क मेरो हातमा पर्यो । जसमा लिखित रुपमा म पहिलो पटक बज्जिका भाषाको बारेमा वि.स.२०५८सालको जनगननाको तथ्याङ्कसहित जानेँ । त्यसै पत्रिकामा मैले रौतहटका नारी हस्ताक्षर भन्ने रमेशमोहन अधिकारीको लेख पढेँ । जसमा रेणु गु्प्ता र सञ्जय कुमार साहको वारेमा पढेँ । उही सञ्जय कुमार साह आज सञ्जय मित्रका नामले लेख्छन् । समर्थन सरले मलाई आफूले पढिसकेका पत्रिकाहरु दिनुहृन्थ्यो । वहाँले मलाई शीतल गिरीसँग पनि चिनजान गराउनु भयो । शीतलजीले पनि मलाई समीक्षा गरिसकेका पुस्तकहरु दिनुहुन्थ्यो । मुच्र्छना र रौतहट रश्मिका पुराना अङ्कहरु मेरो हातमा पर्थे । पर्खी बसेँ र अर्धमुदित आँखाहरु जस्ता गजल सङ्ग्रहहरु मेरो पुस्तककोषमा भण्डार हुन गए । र कोर्सका साहित्यिक पुस्तकहरु त छँदै थिए । विद्यालयको पुस्तकालयबाट पनि पुस्तकहरु लिएर पढ्थँे जो मलाई कवि बनाउन पर्याप्त भयो । म आफ्नो गाउँको ओशो पे्रम पुस्तकालयबाट ओशो दर्शनका मासिक पत्रिका ओशो टाइम्स पनि पढ्थेँ । पछि म रौतहट रश्मिको मासिक बैठकको हिस्सा बनेँ । गौर जान्थेँ र कहिले समर्थन सर कहाँ, कहिले शीतल सर कहाँ त कहिले सुशील झा सर कहाँ बसेर हामी कविता, गजल र अन्य साहित्यिक विधा पाठ गथ्र्याँै र सुन्थ्यौँ । माओवादी प्रभावले प्रभावित परिवेश भएको हुुनाले त्यहाँ हामी चार पाँच जनाभन्दा बढी जम्मा हुँदैनथ्यौँ । त्यहाँ सञ्जय कुमार साहको चर्चा शीतल गिरी र रमेश समर्थन दुबै जना खुब गर्थे । किन किन उनीसँग भेँट्न ममा प्रवल चाहना हुन्थ्यो । जो वि.स. २०६१ को एक कार्यक्रममा सन्तपुरमा उनलाई भेँटेँ । म त्यस कविता प्रतियोगिता कार्यक्रममा प्रतियोगीको रुपमा गएको थिएँ । त्यस प्रतियोगितामा सन्तोष पौडेल प्रथम भएका थिए । त्यति राम्रो तोटक छन्दमा कविता सुनाएका कवि पौडेल ओझेल भए । मैले गौरमा सुशील झाको मुक्तक सुन्थेँ । आहा कति परिपक्व ती मुक्तकहरु । सुन्ने सबै प्रशंसा गर्थे । के उनी जीवितै छन् ? जीवित भएको भए गौरलाई धिक्कार छ जो उनलाई लेख्ने वातावरण दिएन । नत्र काललाई हामी के नै भन्न सक्छौँ र ! म पनि पिपरा भलोहिया छोडेर स्नातक गर्न वीरगञ्ज गएँ । त्यहाँ रहँदा मैले नेपालीमै कविता गजलहरु लेख्थेँ । प्रतीक दैनिकले मेरा कविता गजलहरु छापेर मलाई परिपक्व बनायो । गरिमाले मेरो अषाढ कविता छापेर आत्मबल बढायो । म गरुडा र चपुरका साहित्यिक कार्यक्रमहरुमा जान्थेँ । धेरै नव तथा प्रौढ कवि लेखकहरुलाई उम्दा र सशक्त कविता तथा गजल मुक्तकहरु सुनाउने गरेको देख्थेँ । आज तिनीहरु गौन भई हराइसकेका छन् । चपुरकी कवि गजलकार संगीता जैसवाल राम्रा गजल तथा कविताहरु सुनाउथिन् जो हराइन् । उनको अतोपतो आज छैन । समनपुष्प परिवारका अर्थात रमेशमोहन अधिकारीको खोज कवि टंकेश साह एक प्रतिभावान कवि थिए । उनी सामाजिक विसंगति तथा विकृतिमाथि प्रहार गर्दै सटिक र सुन्दर गजलहरु लेख्थे । गरुडा क्याम्पसका विद्यार्थी तथा तत्कालीन बज्जिका अभियन्ता शेख चाँद अली एक सशक्त व्यङ्गय कविको रुपमा लगभग आफ्नो पहिचान बनाइ नै सकेका थिए । उनको ‘जय बजरङ्गबली’ कविता जनजनमा प्रसिद्धि प्राप्त गरिसकेको थियो । सधैँ हँसिलो र गहूँगोरो अनुहारका आत्मविस्वासी कवि चाँद अलीले किन बज्जिका साहित्यलाई छोडे र कहाँ हराए कसैलाई थाहा छैन । ठिकै त थिए उनी । खै ? हराउने उनकै एक साथी हुन् मौजेलाल साह जो बज्जिका हाइकूकार र कवि थिए । उनका हाइकू र कविताहरु राम्रा हुन्थे । उनी पनि कहाँ कहाँ हराए थाहा छैन । अर्का कवि हुन् सिंहेश्वर प्रसाद सिंह । उनी बडा मिठा बज्जिका गीत र कविताहरु रच्थे । उनका कविता तथा गीतहरुमा सुन्दर र ओजपूर्ण बिम्ब र प्रतीकहरुको मिश्रण भेटिन्थ्यो । उनी राजनीतिक नेताहरुको स्वागतको लागि स्वागत गीत बढी रचेका हुनाले सञ्जय मित्रले उनलाई आफ्ना एक लेखमा ‘स्वगत कवि सिंहेश्वर प्रसाद सिंह’ लेखी उनलाई स्वागत कवि नै घोषणा गरेका थिए । यी भए चिनजान र देखभेट भएका हराएका कवि तथा लेखकहरु तर कतिपय यस्ता कवि तथा लेखकहरु छन् जो क्षमता र प्रतिभा हँुदाहुँदै खराब आर्थिक अवस्था तथा पारिवारिक जालझेलले लेखन छोड्ने गर्छन् । कतिपयले अनुकुल परिवेश नपाएर पनि लेखन छोड्छन् त अन्य कारणहरु पनि हुनसक्छन् । मुख्य कुरा लेखन जिविकासँग नजुडेको हुनाले पनि लेख्ने जाँगर आफै सेलाएर जान्छन् र अन्ततः लेख्न छोड्छन् । अब त सरकार स्थानीय तहमा आइसकेको छ । त्यसैले लेखकहरुको पनि सरोकार राख्ने कामको जिम्मा स्थानिय तहले लिनुपर्छ । लेखकका विचार र साहित्यलाई बचाउँदै उसको दाल रोटीको पनि ख्याल राख्ने कार्य पनि पालिकाहरुले गर्दिनु पर्छ । जसले गर्दा त्यस ठाउँको कला, साहित्य, धर्म , संस्कृति, इतिहास आदिको संरक्षण संबद्र्धनमा सहयोग पुग्छ ।
सुदामा, बलरा १० सर्लाही