रमेश कुमार यादब
बैशाख ०८, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकामा युवा खेलाडीहरुलाई लक्षित गर्दै टी(२० क्रिकेट टुर्नामेन्ट सुरु गरिएको छ । नगरपालिकाको वार्ड नं.८ स्थित बिर्ता गाउँमा आयोजित भव्य उद्घाटन कार्यक्रममा नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख जैसवालले उद्घाटन समारोहमा बोल्दै युवा शक्ति देशको भविष्य भएकाले उनीहरुलाई खेलकुदमा मात्रै होइन, देशको समग्र विकास र नेतृत्वमा समेत जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले भने, “अब खेलकुद मात्र होइन, देश चलाउने नेतृत्वमा पनि युवाहरुको उपस्थिति जरुरी छ ।
“नगर प्रमुख जैसवालले खेलकुदसँगै युवाहरुलाई रोजगारी, सीप विकास, प्रशिक्षण लगायतका अवसर प्रदान गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै प्रदेश सरकारमाथि आरोप समेत लगाए । उनले भने, “प्रदेश सरकारले खेलाडी उत्पादन गर्ने कुनै ठोस रणनीति बनाएको छैन, बरु खेलाडीहरुप्रति विभेदभाव गर्दै उनीहरुको आत्मबल समाप्त पार्ने काम भइरहेको छ ।“त्यस्तै उनले प्रदेश
सरकारले जनताको करबाट कमाइ खाने बाहेक कुनै पनि सकारात्मक काम गर्न नसकेको दाबी गर्दै प्रदेश नेतृत्वमा युवा पुस्ताको उपस्थिति अनिवार्य रहेको पनि बताए ।
नगर प्रमुख जैसवालले भविष्यमा गरुडा नगरपालिकाका युवाहरुलाई क्रिकेट, कुस्ती, मार्सल आर्ट, एथलेटिक्स लगायत विभिन्न खेलकुदका क्षेत्रमा तालिम तथा प्रशिक्षणको व्यवस्था गरी उनीहरुलाई राष्टिूय तथा अन्तर्राष्टिूय स्तरसम्म पु¥याउने योजना रहेको जानकारी दिए । उनले खेलकुदले युवाहरुको शारीरिक तथा मानसिक विकास मात्र होइन, नगरपालिकाको नाम पनि देश विदेशसम्म चिनाउन मद्दत गर्ने बताए ।उक्त उद्घाटन समारोहमा उनले खेलाडीहरुको हौसला बढाउनका लागि आफ्नै व्यक्तिगत तर्फबाट नगद १० हजार रुपैयाँ प्रदान गरेका थिए ।
यसले खेलाडीहरुमा थप उत्साह र जोश थप्ने विश्वास व्यक्त गरिएको छ ।कार्यक्रम पश्चात नगर प्रमुख जैसवालले सोही क्षेत्रको एक महत्वपूर्ण धार्मिक संरचना निर्माण कार्य ( जामे मस्जिदको अनुगमन तथा निरीक्षण पनि गरे । करिब एक करोड भन्दा बढि रुपैयाँको लागतमा निर्माणाधीन जामे मस्जिदको निरीक्षणको क्रममा उनले निर्माण कार्यमा उच्च गुणस्तरीय सामग्री प्रयोग गर्न ठेकेदारलाई निर्देशनसमेत दिए ।
समारोहमा वडा अध्यक्षहरु, स्थानीय अगुवा, खेलप्रेमी, युवा खेलाडी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजकका अनुसार क्रिकेट टुर्नामेन्टमा स्थानीय तथा छिमेकी क्षेत्रका करिब एक दर्जन टिमहरुले सहभागिता जनाएका छन् । उद्घाटन कार्यक्रमले युवाहरुमा नयाँ ऊर्जा र आशा जागृत गराएको आयोजक तथा स्थानीयबासीहरुले बताएका छन् ।