चैत २९ गते
बागमती र बकैया नदीमा पुल बने पनि सडक नबन्दा यात्रुलाई सास्ती भएको छ । मध्यरौतहट र मध्यसर्लाहीलाई जोड्ने पुल बागमतीमा निर्माण भएर सञ्चालनमा आएको दुई वर्ष हुन लागेको छ तर पुलभन्दा पूर्वको सडक यत्ति खत्तम छ कि पैदल, साइकल वा मोटरसाइकलमा जसरी गए पनि चरम यातना भोग्नु पर्दछ । यस्तै अवस्था कटहरियानजिक निर्माण भएको वर्षौँ बितेको बकैया नदीको पुलभन्दा पश्चिमको सडकको कथा रहेको छ । बकैयामा पुल बनेको वर्षौँ बित्दा पनि भरपर्दो सडक पूर्व वा पश्चिम कतैबाट बन्न सकेको छैन । पश्चिमतिरको सडक त यत्तिसम्म खत्तम छ कि जहिले पनि दुर्घटनाको डर हुन्छ ।
दुवै सडक भएर यात्रा गर्नेहरुले स्थानीय सरकार र नेताहरुलाई गाली गर्ने गरेका छन् । साइकल र मोटरसाइकल बालुवामा भास्सिएर दुर्घटनाग्रस्त हुने गरेका छन् सबारी साधनहरु । अलिकति पनि हिँड्नलायक सडक रहेको देखिँदैन । पुल पार गरेर मानिसले कताबाट जाने हो ? कुनै वैकल्पिक बाटो छैन । हिलोमा भासिएजस्तै धुलोमा भासिन्छन् खुट्टा र गाडीको पाङ्ग्रा । हावा चले पनि वा नचले पनि धुलो कति धेरै उड्छ ? स्थानीय सरकार वा नेताहरु त एसिवाला गाडीमा हिँड्छन्, त्यो देख्ने फुर्सद छैन । कोही किन सास्ती भोगिरहेका छन् वा कोही कति वर्षसम्म सास्ती भोग्नुपर्ने हो ? यसबारेमा सोच्ने फुर्सद कुनै पनि स्थानीय सरकार वा नेतालाई छैन । करोडौँको पुल निर्माण सम्पन्न भइसकेको वर्षौँ बित्दा पनि सडक बन्न नसक्नु लाजको विषय भएको छ ।
सर्वसाधारणको स्वास्थ्य र समयप्रति अलिकति पनि जिम्मेवारी महसुस गर्ने स्थानीय सरकार वा नेतृत्ववर्गले यति धेरै समयसम्म यस प्रकारको गम्भीर लापरवाही गरिरहन सक्दैनन् । के हरेक विकासको लागि जनताले आन्दोलन नै गर्नुपर्ने हो ? यत्तिका दिन बितिसक्दा पनि सम्बन्धित पक्षले खोई गम्भीरता देखाएको ? खोई उच्च नैतिक आदर्श प्रस्तुत गर्न सकेको ? अब पनि कस्ले पो रोकेको छ र विकास गर्न ? जनताले जवाफ खोजेका छन् ।