बिरगंज,१८ वैशाख। नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन दुई देशका सीमा सुरक्षा अधिकारीहरूबीचको बैठकले सीमावर्ती आवतजावतमा परिचयपत्र अनिवार्य गर्ने सहमति गरेको छ।
भारतको बिहारस्थित पश्चिम चम्पारणको तीनलालटेनमा हालै सम्पन्न बैठकमा दुवै देशका नागरिकले ओहोरदोहोर गर्दा पहिचान खुल्ने सरकारी परिचयपत्र अनिवार्य रूपमा बोक्नुपर्ने सहमति भएको हो।
भारतमा बढ्दो आतङ्कवादी गतिविधि, पाकिस्तानी नागरिकद्वारा सीमाको दुरुपयोग र बङ्गलादेशी नागरिकहरूको अवैध आवतजावतलाई नियन्त्रणमा लिन यो व्यवस्था गरिएको स्रोतले जनाएको छ।
बैठकमा नेपालका तर्फबाट पर्सा र बाराका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र खुमबहादुर केसी सहभागी थिए भने भारतको तर्फबाट एसएसबीका ४४ र ४७ बटालियनका अधिकारी सहभागी थिए।
यसअघि हवाई तथा रेलमार्गमा मात्र परिचयपत्र अनिवार्य थियो, तर सीमावर्ती बजार क्षेत्रमा आवतजावत गर्दा अनिवार्य थिएन। अबदेखि खुला सीमामा समेत परिचयपत्र देखाएर मात्र आवतजावत गर्न पाइनेछ।