चैत्र २९ गते,
मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने अर्थात बढने संकेत देखा परिसकेको छ । दैनिक संक्रमितको संख्या सयभन्दा तल ओर्लिसकेको अवस्थामा केही सातायता फेरि यो दर बढ्न थालेको छ । चार साताअघि गत फागुन २८ गते ४८, २९ गते ६० र चैत १ गते ५३ जना नयाँ संक्रमित थपिएका थिए ।
अहिले दिनहुँ ३ सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन । यसरी चैतयता मात्रै करिब ६ गुणाले संक्रमण दर बढिसकेको छ । कुल सक्रिय संक्रमितको संख्या पनि चार साताअघि हजारभन्दा तलै थियो, अहिले बढेर २ हजार ५ सय नाघिसकेको छ । अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्या पनि उसैगरी वृद्धि भैरहेको छ । अहिले विश्वभर जुन रूपमा पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै संख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । र, आम जनजीवनलाई धेरै नबिथोलीकनै कोरोनालाई नियन्त्रणमा राख्नका लागि सरकार त्यही रूपमा अग्रसर हुनुपर्छ । कोरोना भाइरसको संक्रमण दर बढन थालेपछि देशमा फेरी लकडाउन हुने सम्भावना समेत बढदै गएको देखिएको छ ।
हामीले के भुल्नु हुँदैन भने, गत कात्तिकयता विस्तारै संक्रमण दर घट्न थालेपछि सरकार र नागरिक दुवै निश्चिन्तजस्ता देखिन थालेकैले अहिले चिन्ता गर्नुर्पर्ने अवस्था आएको हो । यसबीचमा राजनीतिक दलहरूले कोरोनाको कुनै परवाह नगरी कैयौं ठूला सभा–सम्मेलनहरू गरे, जहाँ व्यक्तिगत दूरी कायम गर्नु त परको कुरा, मास्कधरि लगाउन छाडिएको थियो । यो प्रवृत्ति अहिले पनि कायमै छ । संक्रमण दर फेरि उकालिन थालेपछि सरकारले ठूला भेलाहरू नगर्न आग्रह गरेको भए पनि त्यसको पूर्ण पालना भएको पाइँदैन । पछिल्लो समय २५ जनाभन्दा बढीको भेलामा रोक लगाउन स्वास्थ्य मन्त्रालयले गरेको आग्रहलाई सम्बन्धित सबैले मनन गर्नुपर्छ । र, सानातिना भेलामा पनि स्वास्थ्य मापदण्डका मन्त्रहरू कसैले भुल्नु हुँदैन । सरकारी पक्षबाट पनि यसको अनुगमन हुनुपर्छ । घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल राख्नुपर्छ । अनिवार्य रूपमा मास्क लगाउन, बेलाबेलामा हात धुन वा ‘स्यानिटाइजर’ प्रयोग गर्न र व्यक्तिगत दूरी कायम राख्न कसैले पनि असहज मान्नु हुँदैन । सहरबजार, भीडभाडमा जाँदा होस् या सार्वजनिक यातायात चढ्दा विशेष सतर्कता अपनाउनैपर्छ ।
विश्वभर कोरोना भाइरसका नयाँ प्रजातिहरू फैलिरहेको र नेपालमा पनि त्यसको नमुना देखिइसकेकाले हामी धेरै सजग रहन आवश्यक छ ।
विशेषगरी, पछिल्लो समय भारतमा जुन रूपमा संक्रमितको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी अहिल्यै सचेत भैहाल्नुपर्छ । सीमानाकाहरू फेरि अस्तव्यस्त हुन थाल्नु चिन्ताको विषय भएकाले विगतका कमजोरीहरूबाट पाठ सिकी ढिलो नगरी व्यवस्थापन कौशल बढाउनुपर्छ । भारतमा दिनहुँ करिब डेढ लाख जनामा संक्रमण देखिन थालिसकेकाले यो पाटोमा विशेष ध्यान दिनुपर्छ । सबैभन्दा पहिले त, नाकाहरूमा पर्याप्त जनशक्ति खटाइनुपर्छ, ताकि नेपाल प्रवेश गर्नेहरूबीच भीडभाड नहोस्, र कसैमा संक्रमण रहेछ भने पनि अर्कोमा सर्न नपाओस । सीमानाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा भारतबाट आएका कैयौंमा संक्रमण देखिएकाले पनि यो पक्षमा लापरबाही गर्नु हुँदैन । यसका साथै, उनीहरूलाई व्यवस्थित तवरबाटै घरसम्म पु¥याउने वा परीक्षण नहुन्जेलसम्म कतै ‘क्वारेन्टिन’ मा राख्ने व्यवस्था मिलाइनुपर्छ । र, बाहिरबाट आएको व्यक्ति घरमै बसेको छ भने निश्चित अवधिसम्म वा परीक्षणबाट संक्रमित नभएको पुष्टि नहुँदासम्म अलग्गै बसे–नबसेको निगरानी गर्ने काम सम्बन्धित वडा तहबाट हुनुपर्छ ।
यी सबै पक्षको व्यवस्थापनका लागि सरकारले अबको खतरालाई मध्यनजर गर्दै उचित कार्ययोजना बनाउनुपर्छ । को व्यक्ति, कुन नाकाबाट, कस्तो अवस्थामा आएर, कसरी घर पुग्यो र त्यहाँ कुन रूपमा बसिरहेको छ भन्ने व्यवस्थित अभिलेख सरकारसित हुनुपर्छ । सबैको सामूहिक प्रयत्न भयो भने मात्रै स्थिति नियन्त्रणबाहिर जानबाट रोक्न सकिन्छ ।