वैशाख ०२ गते
जूडशीतल हामीले बिर्सदैँ गएको पर्वको रुपमा रहेको छ । नयाँ वर्षको भोलिपल्ट मनाइने यस पर्वको दिन घरमा बासी पानीको महत्व ठूलो हुन्छ । बासी पानी घरका अभिभावकले आफूभन्दा साना सबैको टाउकोमा थोपर्दै जुडाऊ भन्ने आशीर्वाद दिने चलन छ । शीतल पानी टाउकोमा छम्कने मात्र नभई घरआँगन, देवता, वृक्ष वनस्पति, अन्नपात, दराज, पशुपक्षी सबैतिर छम्कने चलन छ । सबै जुडाउँछन् । यहाँ जुडाउनू भन्नुको तात्पर्य हो सन्तुष्ट हुनु । नयाँ वर्षमा सबै सन्तुष्ट होऊन् भन्ने कामना गर्ने पर्वको रुपमा रहेको जूडशीतलभित्रको विज्ञानलाई पनि समाजले नै बुझ्नुपर्ने भएको छ ।
अब शीतलताको महत्व बढ्ने छ । वैशाखदेखि वातावरण नै तातो हुने र यसबाट जोगिन सबैभन्दा ठूलो उपाय भनेको शीतल पानीको उपयोग गर्नु हो । शीतल पानी नपाएमा बासी पानी पनि अब उपयुक्त हुन सक्छ । बासी पानीको उपयोग बिहान उठ्नेबित्तिकै गर्ने हो भने शरीरलाई दिनभर शीतलता दिन्छ । यसै गरी दिनभरि अब सातु र पानी खाइरहनु पर्छ । सातु त आवश्यकताअनुसार खानु पर्ने हो तर पानी भने दिनभर खाइरहनु पर्छ भन्ने सन्देश जूडशीतलले दिएको छ । यस्तो वैज्ञानिक दृष्टिकोण भएको पर्व किन हाम्रो समाजबाट हराउँदै छ त ?
जूडशीतल हराउँदै जानुका पछाडि तीन कारण मुख्य देखिन्छन् । पहिलो कारण त यो हो कि यस पर्वमा कुनै खास गीत वा बाह्य सामूहिक अनुष्ठानमूलक सामूहिकता रहेको पाइँदैन । दोस्रो कारण यो हो कि कुनै बाह्य संस्कृति यस पर्वसित मेल खाँदैन । यसकारण यस पर्वलाई कतैबाट सपोर्ट मिल्न सकेन र एकलकाँटे भई यसले बढी हेपाहा प्रवृत्ति भोग्नु परेको छ । तेस्रो कारण, यो पर्व अर्थतन्त्रसित जोडिन सकेन । जुन पर्व वा संस्कृतिको सोझो सम्बन्ध अर्थसित हुँदैन, त्यसलाई टिकाउन मुस्किल हुन्छ । चौथो कारण यो पनि रहेको देखिन्छ कि यसका हिलो, माटो, गोबर आदिको प्रयोग गरिन्थ्यो । हिलो, माटो, गोबर आदिको प्रयोगले शरीर, स्वास्थ्य तथा लुगाकपडा आदिलाई हानि गथ्र्यो र यसलाई रोक्नको लागि औपचारिक पहल भयो ।
अबको समयमा यस पर्वलाई शान्त र सुन्दर बनाएर सभ्यताको पहिचान बनाउने पर्वको रुपमा स्थापित गर्ने हो भने यसले जीवन्तता पाउला हैन भने यो पर्व विस्तार बिलाएर जाने देखिन्छ ।