बैशाख ०४ गते
छठ पबनी चैत र कात्तिकमा गरी दुई महिनामा मनाइन्छ । कात्तिकमा मनाइने छठ पबनीलाई सोझै पबनी भन्दा पनि बुझिन्छ तर चैतको छठ पबनीलाई चैती छठ भन्न थालिएको छ । कात्तिकको छठ अत्यधिक लोकप्रिय भइसकेकोले पबनी भन्दा पनि बुझिने र चैतमा पनि मनाइने भएकोले चैतको छठलाई चैती छठ भनिएको हो । एउटै पर्व दुईपटक किन ? पहिले कुन ?
छठलाई पहिले नयाँ वर्षको उत्सव मानिथ्यो । हिन्दू संस्कृतिमा विक्रम सम्वत्लाई नयाँ वर्ष मानिन्छ तर औपचारिक प्रचलनमा रहेको विक्रम सम्वत् र प्राचीन सम्वत्मा केही भिन्नता छ ।
आदिकालदेखि सनातन हिन्दू समुदायमा प्रचलित वार, तिथि र महिना तथा वर्षको गणनालाई व्यवस्थित गरी औपचारिक विक्रम सम्वत् चलाइएको भए पनि वार, तिथि र महिनालाई निरन्तरता दिइएको छ । कैयौँ शताब्दीसम्म तिथिलाई नै महिनाको गणनाको रूपमा स्वीकार गरिएको पनि पाइन्छ ।
सनातन संस्कृतिमा नयाँ वर्षको सुरुआत चैत महिनाको शुक्ल पक्ष सुरु भएको दिनलाई मानिएको छ अर्थात् चैतको शुक्ल प्रतिपदादेखि सम्वत्सर फेरिने कुरा शास्त्रहरूले पनि स्वीकार गरेका छन् । ब्रह्माण्ड पुराणमा लेखिएको छ –
चैते मासी जगद ब्रह्मा ससर्ज प्रथमेऽहनि ।
शुक्ल पक्षे समग्रम तु तदा सूर्योदयो सति ।।
अर्थात् यस संसारको सृष्टि ब्रह्माजीले चैत्र शुक्ल पक्ष प्रतिपदा तिथिको सूर्योदय कालमा गरेका थिए । अहिले पनि अधिकमास अर्थात् मलमास (दोमास) को सुरुआत शुक्ल पक्षको प्रतिपदादेखि भएर कृष्ण पक्षको औंसीको दिन समाप्त हुने शास्त्ररूले स्वीकार गरेको देखिन्छ । सामाजिक जीवनमा पनि दोमासको सुरुआत शुक्ल पक्षदेखि हुने र कृष्ण पक्षसँगै समाप्त हुने मान्यता रहेको छ ।
वैदिक काल वा त्योभन्दा पहिलेदेखि चल्दै आएको महिना, वार तथा तिथिहरूलाई निरन्तरता दिई वर्ष गणना गरिने थितिलाई विक्रम सम्वत्को प्रचलन भएको हो । सनातनदेखि चल्दै आएको सम्वत्सरमा तिथिहरू गडबड भइरहने र आधुनिक पद्धतिमा गणनामा समस्या हुने भएकोले विक्रम सम्वत् १९६१ वैशाख १ गतेदेखि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले ज्योतिषहरूको सम्मेलनबाट सल्लाह लिएर विक्रम सम्वतलाई व्यवस्थित गरेका हुन् । चन्द्रशमशेरले विक्रम सम्वत्लाई व्यवस्थित गर्नुभन्दा पहिले महिनाको गते लेख्ने चलन थिएन । त्यसभन्दा पहिले विक्रम सम्वत् १७१९ पौष वदी ४ लेख्ने चलन थियो । सनातन प्रचलनमा वदी र सुदी महिनाको पक्षलाई जनाउँछन् । वदी भनेको कृष्ण पक्ष हो भने सुदी भनेको शुक्ल पक्ष । पहिले कुनै पनि महिनालाई जनाउन वदीको १५ र सुदीको १५ गरेर ३० दिन पु¥याइन्थ्यो ।
विक्रम सम्वत्को औपचारिक सुरुआत हुनुभन्दा निक्कै पहिलेदेखि छठ पबनी प्रचलनमा रहेको थियो । चैत शुक्ल प्रतिपदाको दिन नयाँ वर्ष मनाएर छठ पबनीको औपचारिक तयारी हुन थाल्थ्यो । नयाँ वर्ष मनाउन आँगन, घर लिपपोत गरी बाटोघाटो पनि सफा पारिन्थ्यो र पारिवारिक सामाजिक उत्सव मनाइन्थ्यो । नयाँ वर्षको उत्सव दुई दिन चल्ने परम्परा थियो । तृतीया तिथिको दिन छठको लागि माटोको चुलो बनाउने, चतुर्थीमा नहाखाएके, पञ्चमीको दिन खरना, षष्ठीको दिन सँझियाघाटे र सप्तमीको दिन पारन गरिन्थ्यो ।
चैती छठलाई वसन्तको उत्सव पनि मानिन्थ्यो । सबैलाई थाहा छ – चैत र वैशाख वसन्त ऋतु हुन् । जुन समयमा यो ऋतुको विभाजन गरियो, त्यो बेला नयाँ वर्षको दिन चैत शुक्ल पक्षको परेवा (एकम) मानिन्थ्यो, मनाइन्थ्यो । पहिलो दिन नयाँ वर्षको दिन सतुवान, दोस्रो दिन जूडशीतल गरेर तेस्रो दिन घर आँगन लिपपोत गर्ने र पबनीका अन्य पवित्र कामहरु गरिन्थ्यो । घर र आँगनको सरसफाइ तथा मरम्मत लगायतका अन्य काम पहिले नै पूरा भइसकेको हुन्थ्यो । पबनीको तयारी गर्नेले लामै समयदेखि यसको तयारी गरेका हुन्थे । बाँकी तयारी तृतीयाको दिन गरिन्थ्यो । चैत शुक्ल चतुर्थी (चौठी) को दिन नहा खाएको, पञ्चमीको दिन खरना तथा षष्ठीको दिन सँझियाघाटे र सप्तमीको दिन पारन हुन्थ्यो ।
चैत शुक्ल पक्षको एकमको दिनदेखि दशैं पनि सुरु हुन्थ्यो । छठ मान्नेहरु तथा नमान्नेहरु सबैले दशैंलाई पनि धार्मिक उत्सवका रुपमा मान्दथे, मनाउँथे । छठको भोलिपल्टदेखि दशैंको अलग रौनक हुन्थ्यो । अष्टमीको दिन निकै महत्वपूर्ण हुन्थ्यो । अझ नवमीको दिन रामनवमी पर्व धूमधामका साथ मनाइन्थ्यो । दशमीको दिन खुसियालीसाथ दश दिनको उत्सव समापन गरिन्थ्यो । यसरी नयाँ वर्ष सुरु भएको दश दिनसम्म धार्मिक समाजमा विभिन्न किसिमका धार्मिक अनुष्ठानहरुका साथ नयाँ वर्षको उत्सव मनाइन्थ्यो ।
जब औपचारिकरूपमा वैशाख १ गतेलाई विक्रमको नयाँ वर्ष मानिन थालियो तब छठ मनाउने विकल्पको खोजी पनि भयो होला । चैत महिनामा गर्मी पनि बढी हुने भएकोले व्रतालुलाई कठिन हुन्थ्यो । कात्तिक महिनाको दीपावली निकै उत्साहका साथ मनाइने, घर, आँगन, बाटोघाटो सबै सफा गरेर लिपपोत गरी चिटिक्क पारिने र नयाँ वर्षकै उत्सवजस्तो मनाइने चलन पहिलेदेखि नै रहेको थियो । धार्मिक काम गर्ने, लक्ष्मीको पूजा गर्ने, लक्ष्मीपूजाको भोलिपल्ट घरपालुवा पशुहरू तथा साँढे जुधाएर मनोरञ्जन गर्ने, भैयादूज मान्ने आदि संस्कृति प्रचलनमा रहेको हुँदा र धेरै गर्मी पनि नहुने तथा धेरै जाडो पनि नहुने ऋतु भएकोले छठ मनाउने समयको असल विकल्प कात्तिक हुने देखेर कात्तिके छठको सुरुआत भएको हो । विक्रम सम्वत्को नयाँ वर्ष वैशाख १ गते प्रायः थितिले नमिल्ने र थिति बिग्रने सम्भावना भएकोले नयाँ वर्षको दुई दिवसीय उत्सव कूलदेवतालाई पूजा गर्दै सतुआन र जूडशीतललाई कायम राखेर छठ पबनीलाई कात्तिकमा मनाउन थालिएको हो । अहिले पनि वैशाख १ गते खिंचडी वा सतुवान र वैशाख २ गते जूडशीतल मनाइन्छन् । विक्रम सम्वत् व्यवस्थित भएपछि यही दुई पर्व मनाउन थालिएका हुन् भन्ने होइन । पहिले चैत शुक्ल प्रतिपदा र द्वितीयाका दिन मनाइने यी दुई पर्व नयाँ वर्षको औपचारिक सुरुआतसँगै सरेको हुनुपर्छ । नयाँ र नयाँपनप्रति आकर्षण स्वाभाविक सत्य हो । विस्तारै चैतमा मनाउनेभन्दा कात्तिकमा छठ पबनी मनाउनेहरू बढ्दै गए । चैतको सुम्पेर कात्तिकको गर्ने बढ्दै गए । अझ नयाँ मान्नेहरूले कात्तिकमै उठाउँदै गए । कात्तिकको छठ स्थापित हुन पुग्यो ।
अध्ययन तथा अनुसन्धान र लोकजीवनमा प्रचलित किंवदन्तीहरूले पनि पहिले चैतमा नै छठ मनाइने गरेको र निक्कै पछि मात्र कात्तिकमा मनाइन थालिएको स्पष्ट पारेका छन् । अझै पनि दीपावलीलाई नयाँ वर्षको रूपमा स्वीकार्नेहरू पनि छन् । पहिले यो चलन थियो कि दीपावलीको अघिल्लो दिनसम्म ऋण तिर्नुपर्ने वा कम्तीमा ऋणको ब्याज नतिरे ब्याज ऋणमा गणना हुनेछ । अझै पनि व्यापारको क्षेत्रमा हर हिसाब मिलान गर्ने र नयाँ खाताबहीको सुरुआत गर्ने चलन कायमै छ । सर्वसाधारणको आर्थिक जीवनमा नयाँ वर्षको मान्यता पाएको दीपावली अर्थात् लक्ष्मीपूजाको लगत्तै आउने षष्ठीको दिन छठ पबनी मनाउने चलन बढेको हो तर चैती छठको प्रचलन अद्यपर्यन्त कायमै रहेको छ । चैतमा पनि छठ पबनी मान्ने मनाउने चलन पूर्णतया लोप भइसकेको छैन । पछिल्ला वर्षहरूमा चैत महिनामा पनि छठ पबनी मान्नेहरूको सङ्ख्यामा फेरि विस्तार हुन थालेको छ ।
कपितय परिवारले कात्तिक र चैत दुवै महिनामा छठ पबनी मान्ने गरेका छन् । कुनै कारणले कात्तिकमा छठ पबनी गर्न नसकिने परिस्थिति उत्पन्न भएमा चैती छठ गर्दा पनि हुने लोकमान्यता रहेको छ । कात्तिकमा छठ पबनी गर्न नसक्नेले चैतमा मान्न सकिने लोकविश्वास बढ्दै गएको छ ।
रौतहटबाट सुरुआत भएको छठको विश्वविस्तार भइसकेको छ । विस्तारै चैती छठको पनि विस्तार हुने निश्चित छ । सम्पूर्ण छठ हाम्रो संस्कृति भएकोले चैती छठप्रति हामीले गर्व गर्नु आवश्यक छ ।
(मधेसरत्न तथा बज्जिका शिरोमणि सम्मानोपाधिले विभूषित लेखक मित्रको छठ पबनी ः उद्भव र विस्तार नामक कृति पनि प्रकाशित छ ।)