बैशाख ०४ गते
चैती छठको विस्तार भइरहेको छ । केही दशक पहिलेसम्म चैती छठको नाम नै नसुनेकाहरुले अहिले यस पर्वलाई मनाउन थालेका छन् । श्रद्धा र भक्तिको उत्कर्षको रुपमा रहेको छठ लोकआस्थाको महापर्व हो । यस पर्वको स्वरुपले सदैव शान्तिको सन्देश दिएको छ । यही शान्ति तथा आस्थाप्रति विश्वास बढेको देखिन्छ छठ पर्वको विस्तारमा ।
छठ पर्वको विस्तार विश्वव्यापी भइसकेको छ । रौतहटको समनपुरमा उद्भव भएको विश्वास गरिएको छठ अहिले एसिया, यूरोप, अस्टे«लिया र अमेरिका महादेशसम्म पुगेको छ । कात्तिकमा मनाइने छठको चर्चा त विश्वव्यापी हुने गरेको छ नै । अबको केही वर्षमा चैती छठको पनि व्यापकताको खबर सबैतिरबाट आउने विश्वास रहेको छ । जसरी कात्तिकको छठले विश्व विस्तार पाएको हो, त्यसरी नै चैती छठले पनि विश्वका हिन्दू समुदायमा आफ्नो प्रभाव जमाउने आशा यस पर्वको निरन्तर विस्तारले जगाएको छ ।
चैती छठको समयमा बजारमा पनि रौनक उत्तिकै आएको छ । गाउँ गाउँमा मान्नेहरुको विस्तार भइरहेको छ । घाटलाई पनि सजाउनेदेखि सबै किसिमको भीडभाड कात्तिक महिनाको जस्तै हुन थालेको छ । यस पर्वप्रति लोकको आस्थाको जरो जनमानसको हृदयसम्म विस्तार भएको छ भन्ने कुराको प्रमाणको रुपमा देखिएको छ । छठ व्रत गर्ने सम्पूर्ण व्रतालुहरुको व्रत सुखपूर्वक सम्पन्न होओस्, सबैको मनोकामना छठी माईले पूरा गरून् । सम्पूर्ण व्रतालु तथा यस पत्रिकाका शुभचिन्तकमा चैती छठको हार्दिक मंगलमय शुभकामना छ ।