बैशाख ०६ गते
कुनै पनि व्यक्तिको सम्पूर्ण विकासको आधारशीला भाषा हो । जुन व्यक्तिले आफ्नो मातृभाषामा शिक्षा र संस्कार प्राप्त गरेको हुन्छ त्यो व्यक्ति आत्मविश्वासी र सकारात्मक सोँचको हुन्छ । यस्तै व्यक्ति सफल जीवन बिताउँछन् । मातृभाषाको कुरा गर्दा बारा, रौतहट, सर्लाही र महोत्तरीको मातृभाषा निःसन्ंदेह बज्जिका हो । तर पहिले यसरी किटान गरी बोल्ने अवस्था थिएन । अन्योल थियो यस विषयमा । कुनै जनगनणा वा राष्ट्रिय सर्वेक्षणमा यहाँका व्यक्तिहरुमा अन्योलता थियो । हरेकले हरेक मत राख्दथे । कोही भोजपुरी, कोही मैथिली, कोही ठेटी त कोही देहाती भनेर भन्थे । एकरुपता थिएन । अङ्गे्रजी विद्वान जर्ज ग्रियर्सनले आफ्नो भाषा सर्वेक्षणमा यस क्षेत्र र यस क्षेत्रको सिधा दक्षिण गङ्गासम्मको भाषिक क्षेत्रलाई न भोजपुरी भनेका छन् न त मैथिली । उनी यस क्षेत्रको भाषालाई अरु कुनै भाषा हुनुपर्छ भनी अन्योलता देखाएका छन् । जसले बज्जिका भाषाको नामकरणको मार्ग खोल्यो । महापण्डित राहुल सांकृत्यायनले यस क्षेत्रको भाषालाई नामकरण गर्दै बज्जिका नाम दिए । अर्का विद्वान लेखक आचार्य चतुरसेनले आफ्ना ऐतिहासिक उपन्यासहरुद्वारा बज्जी क्षेत्रको ऐतिहासिक तथा जातीय गरिमा बोध गराई बज्जीहरुमा आत्मसम्मान अनुभूत गराए । यदि नेपाली परिवेशमा यस विषयको कुरा गर्ने हो भने महाअभियानी बज्जिका शिरोमणि सञ्जय मित्र यस क्षेत्रका मिलका पत्थर हुन् । उनी वि.सं. २०५० सालदेखि अनवरत रुपले बज्जिकाको प्रचार प्रसारमा लागेका हून् । बज्जिकामा लेख्ने र अरुलाई पनि लेख्न प्रेरित गर्ने काम गर्दै आएका छन् । उनी पत्रिकामा सामग्री पुर्याउन छद्मनामले पनि लेख्ने गर्छन् । मेरो विचारले उनका लागि कनै उपाधिको अब औचित्य छैन । उनलाई सम्मान गर्दा कुनै संस्था आफै सम्मानित भएसरह लाग्छ । उनको अभियानको मभन्दा ठूलो साक्षी अरु कोही हुन सक्दैन । उनले रौतहटको मध्यबाट अभियान कार्य सुरु गरेर पश्चिममा बारा र पूर्वमा लगभग महोत्तरीसम्म पुर्याए । कुरा वि.सं.को छैटौँ दशकको प्रारम्भको हो रौतहटको चन्द्रनिगाहपुर, गौर, गरुडा र समनपुरमा साहित्यिक कार्यक्रमहरु हुन्थे । सबै स्थानहरुमा बज्जिकाको चर्चा हुन्थ्यो । ती ठाउँहरुबाट निस्कने पत्रिकाहरुले बज्जिकालाई स्थान दिएको थियो । समनपुरबाट निस्कने समनपुष्प साहित्यक त्रैमासिकले यिनलाई अतिथि सम्पादक नै बनाएको थियो । त्यतिखेर रौतहटमा सर्लाही चर्चाको विषय बनेको थियो । कारण के भने सर्लाही बज्जिका भाषाको मानक क्षेत्रअन्तर्गत पर्छ तर सर्लाही भने भाषिक र साहित्यिक चेतनाले पिछडिएका थिए । यस्तोमा सञ्जय मित्रले सञ्जय सुदामाको माध्यमबाट सर्लाहीमा बज्जिका भाषाको प्रचार प्रसार हुने सपना देखे तर उनको पेसागत अस्थिरताका कारण यो कार्य सफल हुन सकेन । संवत २०७१ मा गरुडामा एक सम्मान तथा कृति विमोचन कार्यक्रममा सञ्जय सुदामाको कृति शान्तिदूत खण्डकाव्य विमोचन भयो । जहाँ डा. कमलेश्वरकुमार सिन्हा र वरिष्ठ पत्रकार चन्द्रकिशोर झा एकसाथ सम्मानित भए । जहाँ डा. कमलेश्वरकुमार सिन्हाले बलरामा अन्तर्राष्ट्रिय बज्जिका गोष्ठी गराउने वाचा गरेका थिए जो २०७६ जेठमा भव्यरुपमा अन्तर्राष्ट्रिय बज्जिका गोष्ठी गराएर पूरा गरे । सर्लाहीमा यो पहिलो औपचारिक बज्जिकासम्बन्धी कुनै कार्यक्रम थियो । उनी बलरामा बस्न थालेदेखि बज्जिकासम्बन्धी कार्यक्रमहरु अगाडि बढ्न थाले । उनले रामनगर गाउँपालिका र भाषा आयोग नेपालसँग सम्झौता गराएर बज्जिकाको इतिहास लेखाए भने भाषा आयोग र रामनगर गाउँपालिकाकै सम्झौतामा अहिले बज्जिका शब्दकोश लेखन कार्य जारी नै छ । सञ्जय सुदामाको तेस्रो खण्डकाव्य सुमरी बलरामै विमोचन भयो । यस कार्यक्रमको अर्को उपलब्धि रामचन्द्र कुशवाहा बज्जिका साहित्य लेखन तथा बज्जिका भाषाको प्रचार प्रसारमा होमिनु हो । यस कार्यक्रमअघि पनि भाषा आयोगको कार्यक्रममा उनी उपस्थित हुन्थे । तर उनी त्यति सक्रिय थिएनन् । उनको एउटा बज्जिका भाषाको पुस्तक तयारी अवस्थामा छ जो छापिन बाँकी छ । रामचन्द्र महतो कुशवाहा अहिले सर्लाहीमा रौतहटको सञ्जय मित्रको भूमिकामा छन् । यिनी आफू लेख्दै अरुलाई पनि लेख्न प्रेरित गर्छन् । बज्जिकाको पहँच त्यहाँसम्म पुर्याउछन् जुन क्षेत्र बज्जिकाभाषी क्षेत्र भएर पनि अबोध क्षेत्र छ । बज्जिका भाषाको चेतनाको हिसाबले सर्लाहीलाई अँध्यारो क्षेत्रको मान्यतालाई धवस्त पार्दै यिनी बज्जी साहित्यिक त्रैमासिक पत्रिका दर्ता गराएर दिनरात मिहिनेत गरी पत्रिका प्रकाशन गराए र यसको लोकार्पण कार्यक्रम महोत्तरी जिल्लाको छिमेकी सर्लाहीको पालिका हरिपुर्वामा राखेर । बज्जिका प्रचार प्रसारमा नयाँ तथा महत्वपूर्ण अध्याय थपे । जहाँ सर्लाहीका विद्वान, पत्रकार र साहित्यकारहरुको उपस्थिति त छँदै थियो साथै महोत्तरीका पनि विद्वन, साहित्यकार र पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो । बारादेखि महोत्तरीसम्म बज्जिका चेतना विस्तार हुनुपर्ने, सर्लाहीमा बज्जिकाको एउटा संस्था हुनुपर्ने, कम्तीमा एउटा पत्रिका प्रकाशन हुनुपर्नेजस्ता सञ्जय मित्रका धेरै सपनाहरु पूरा भएको एउटा प्रमाण थियो यो कार्यक्रम । यसै कार्यक्रममा लघुकथाकार किशुनदयाल श्रीकृष्ण र सञ्जय मित्रलाई क्रमशः बज्जिका सम्राट र बज्जिका शिरोमणिको उपाधिसहित दोसल्ला ओढाई सम्मान गरेका थिए । अवकाश प्राप्त कर्मचारी भएर पनि नवयुवाजस्तो जोस जाँगर राख्ने रामचन्द्र सधैँ हँसिलो मुद्रामा कमलसरि फुले खिलेका हून्छन् । आफ्नो यही मुद्रामा कार्यक्रममा महोत्तरीमा पनि छिट्टै अर्को कार्यक्रम राख्ने घोषणा पनि गरे । यसअघि रामचन्द्र कुशवाहा बकैनिया, गोडैता ९ सर्लाहीको आफ्नै टोलमा जियालाल यादबको अध्यक्षता तथा डा. कमलेश्वरकुमार सिन्हाको प्रमुख आतिथ्यमा एक कार्यक्रममा बज्जिका समृद्धि समाज नेपाल संस्थाको गठन गराए । यिनलाई बहुमुखी प्रतिभाको धनी भन्दा कुनै अतिशयोक्ति नहोला । यिनी लेख कथामा सफल छन् । त्यसभन्दा पनि कवितामा यिनी सफल छन् । गहिराइको कमी देखिने यिनका कविताहरु सतही भएर पनि सफल छन् । समाजमा देखिने विकृति तथा विसंतिहरुप्रति सघन व्यङ्गय भएका यिनका कविताहरु हुन्छन् । इनरवावाली काकी कविता यिनको व्यङ्गय कविताको उत्कृष्ट नमुना हो । यसमा दुधमा पानी मिलाउने कार्यप्रति सुन्दर तथा कडा व्यङ्गयात्मक शैली प्रहार गरेका छन् । यिनी बज्जिका भाषामा जीवनी लेखन कार्यको प्रारम्भ गर्ने एक जीवनीकारको रुपमा आफ्नो ‘विश्वके प्रेरक व्यक्ति सब’ पुस्तक प्रकाशित हँदै स्थापित हुनेछन् । राजेन्द्र ठाकुर र जियालाल रायजस्ता व्यक्तिहरुलाई बज्जिका साहित्यमा प्रवेश गराउने र प्रेरणा दिने काम गरेर बज्जिकाको श्रीवृद्धिमा ठूलो भूमिका खेलेका छन् । यिनी बज्जिका साहित्यमा लागेदेखि सर्लाहीमा पनि बज्जिकामा लेख्नेहरुको जमातलाई उत्साह बढेको छ । हेर्दाहेर्दै सञ्जय सुदामा, मनमोहन सिंह मनोहर, चन्द्रशेखरप्रसाद रस्तोगी, राजेन्द्र ठाकुर, रामनरेश शर्मा, मनोज यादब, महादेव झा, रुपेश पटेल, राम पवित्र साह, डा. गणेशकुमार लाल, डा. कमलेश्वरकुमार सिन्हाजस्ता लेखकहरुको एक जमात नै संगठित भएको छ सर्लाहीमा । यो बज्जिका भाषाको लागि सुखद कुरा हो । प्रत्यक्ष अप्रत्यक्ष रुपमा संगठन निर्माणमा डा. कमलेश्वरकुमार सिन्हाको योगदान पनि सराहनीय रहेको छ । यसलाई नजरअन्दाज गर्न मिल्दैन । कुनै दिन डा. कमलेश्वरकुमार सिन्हाको वारेमा पनि लेखूँला । यसरी आफ्नो जीवनको उत्तरार्धमा आराम गर्ने समयमा कुनै भाषाको विकास र श्रीवृद्धिमा लाग्नु साधारण कुरा होइन । मोवाइल र इन्टरनेटमा धुत रह्ने हाम्रा युवा युवतीहरुले कवि रामचन्द्र कुशवाहाबाट जोस जाँगर तथा सक्रियताको पाठ सिक्नु जरुरी छ । बढ्दै गइरहेको अंगे्रजी मोहको परिवेशमा आफ्नो भाषा, संस्कृति र बज्जिका वाङ्मयको संरक्षण तथा संवद्र्धन गर्ने कार्य सिक्नु जरुरी छ ।
सुदामा , बलरा १० सर्लाही