बैशाख ०६ गते
रौतहटको एउटा विद्यालयका धेरै शिक्षकमा एक साथ कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द भएको छ । विद्यालयका शिक्षकहरु संक्रमित भएपछि विद्यार्थीका पनि संक्रमण भएको हो कि भन्ने आशंका गरिन थालिएको छ । यदि शिक्षकबाट विद्यार्थीमा कोरोनाको संक्रमण भएको छ भने विद्यार्थीबाट परिवारमा र परिवारबाट समुदायमा गएको हुनुपर्छ भन्ने सामान्य अनुमान गरिन थालिएको छ । तर यस किसिमको संक्रमण नहोओस् भन्ने कामना पनि रहेको देखिन्छ ।
एउटा विद्यालयमा कोरोना संक्रमित देखा परेपछि अन्य विद्यालयमा पनि यसको असर परेको छ । अन्य विद्यालयका शिक्षकहरु पनि त्रसित देखिएका छन् । अन्य विद्यालयमा पनि सतर्कता अपनाउन थालिएको छ । पहिलेदेखि नै सकर्त हुनुपर्नेमा कोरोनाको संक्रमण देखा परेपछि सतर्कता देखिएको छ । कतिपय विद्यालयले सिफ्टमा कक्षा संचालन गर्न थालेका छन् । कक्षाकोठामा अनिवार्य मास्कको प्रयोग गर्न विद्यार्थीलाई निर्देशन दिएका छन् । यद्यपि अझै पनि अधिकांश विद्यालयमा कुनै सावधानी अपनाएको देखिएको छैन । न त विद्यार्थी, न शिक्षकले मास्क लगाएका छन् र न त कक्षाकोठामा मास्क अनिवार्य गरिएको छ । जबकि एउटा कक्षाकोठामा पचासौँ विद्यार्थीलाई राखेर शिक्षण सिकाइ क्रियाकलाप भइरहेको छ ।
हुन त समाजमा शिक्षा र चेतनाको उज्यालो छर्ने शिक्षक र शिक्षालयको अवस्था यस्तो छ भने समाजको अन्य क्षेत्रको अवस्था कस्तो होला तर नकारात्मक उदाहरणलाई मात्र अगाडि ल्याइनु हुन्न । अहिलेको समयमा सतर्कता र सचेतताभन्दा ठूलो केही पनि छैन । हरेक वर्ग आफ्नो ठाउँबाट सचेत हुनै परेको छ । हरेकले सचेतना अपनाउने र सतर्क रहने काम ग¥यौँ भने कोरोनाको विस्तारलाई रोक्न सक्छौँ । शिक्षा र चेतनाको उज्यालो छर्ने शिक्षक र शिक्षालयमाथि अझ बढी दायित्व समयले दिएको छ । पूर्णतया सचेत बनेर शैक्षणिक कर्मलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।