बैशाख १२ गते
विगत केही वर्षदेखि प्राकृतिक प्रकोप अनेक किसिमले आइरहेको छ । बाढी, पहिरो, रोग तथा महामारीहरुका साथै सुनामीले नेपाल र दक्षिणलाई निकै प्रभावित पारेको देखिएको छ । गत वर्षदेखि वैश्विक महामारीको रुपमा कोरोना संकट देखिएको छ । यसले जनजीवनको सबै क्षेत्रलाई प्रभावित पारेको छ भने मानवको जीवनलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि सोच्न बाध्य बनाएको छ । विश्वका सबै चिकित्सा वैज्ञानिकहरुको ध्यान कोरोना महामारीबाट मानव समुदायलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्तनतर्फ केन्द्रित भएको छ । यो महामारीको बिचमा आजको दिनलाई नेपाल र नेपालीले छ वर्ष पहिले भोगेको पीडालाई बिर्सन सक्दैन ।
२०७२ वैशाख १२ गते शनिवारका दिन सम्पूर्ण नेपालीहरुले सामान्यरुपमा जीवनयापन गरिरहेको समयमा एक्कासि धरती हल्लियो । धरती यसरी हल्लियो कि लाग्दथ्यो एउटा महाप्रलय आएको छ । महाप्रलयले भौतिक संरचनामा अपूरणीय क्षति पु¥यायो । सयौँ नेपाली नागरिकले पनि भूकम्पकै कारण मृत्युवरण गर्नुप¥यो । भूकम्पले जे पीडा दियो, त्यसको भरपाई कदापि सम्भव छैन ।
नेपाल एक किसिमको शोकमा डुबिरह्यो । पीडाको त्यस घडीमा नेपाली दाजुभाइले एकापसमा सहयोग आदानप्रदान गरे । तराईबाट सहयोगका धेरै हातहरू पहाड उक्ले । अन्न र पानीसँगै वस्त्र पनि घरघरबाट संकलन गरी घरवारविहीन भएका नेपालीलाई सहयोग गर्न पुगे । रातदिन श्रमदान गरेर कैयौँ घर ठड्याए । पीडाको त्यस घडीमा नेपालका हितैषी देशहरुले पनि सहृदय सहयोग गरेका थिए । उद्धार र राहतदेखि पीडापछिको दिनमा हुने सबै किसिमको सहयोग नेपालले पाएकै हो । आधा दशकको समय व्यतीत भइसकेपछि पनि वास्तवमा भूकम्पको त्यो पीडामा सम्पूर्णतः मलम लागिसकेको छैन ।
त्यस दिनको सम्झना हुँदा जुनसुकै नेपालीको पनि एकचोटि आङ जिरिङ हुन्छ । त्यस भूकम्पबाट मनोवैज्ञानिक समस्या भोगेका कतिपय मानिस अझै पनि त्यस दिनको सम्झना हुँदा तर्सन्छन् । एउटा नराम्रो सपना देखेको अनुभूति गर्दछन् । त्यस भूकम्पले गृह निर्माणमा भने सकारात्मक असर पारेको छ । त्यसपछि निर्माण भइरहेका घरहरु अधिकांश भूकम्परहिन हुनुपर्ने भावसहित बनिरहेका छन् । यद्यपि त्यस दिनलाई सम्झेर भए पनि अझ सतर्क हुनुपर्ने शिक्षा हरेक समय लिइरहनु परेको छ ।