बैशाख १३ गते
अहिले जुन भूगोललाई रौतहट भनिएको छ, त्यो इतिहासमा कहाँ थियो ? यसको इतिहासको बारेमा चर्चा हुँदै गर्छ ।
यस क्षेत्रको सर्वप्राचीन नाम हो – तीरभुक्ति ।
तीर–भुक्ति तत्सम शब्द हो । भारतीय साहित्य संग्रहले वेभसाइटमा यसको अर्थ ‘गंगा, गंडकी और कौशिकी इन तीन नदियों से घिरा हुआ तिरहुत प्रदेश’ भनी लेखेको छ ।
यसबाट यो स्पष्ट हुन्छ कि तीरभुक्तिको क्षेत्र पूर्वमा कोशी, पश्चिममा नारायणी तथा दक्षिणमा गंगा नदी रहेको स्पष्ट हुन्छ तर उत्तरको सीमा यसले स्पष्ट पार्दैन । उत्तरमा सामान्यतया चुरे पहाडलाई लिइएको पाइन्छ ।
गंडकी नदीलाई विभिन्न नामले बोलाइएको पाइन्छ । यसलाई बडी गंडक वा गंडक पनि भनिन्छ । नारायणीबाट पूर्वतर्फ आएको नहरलाई गण्डक नहर पनि भनिएको पाइन्छ । गंडक नदीबाट निकालिएको नहर भएकोले गण्डक नहर भनिएको हो । गंडक नदीलाई सालिग्रामी, सप्तगण्डकी आदि नामले बोलाइएको पनि पाइन्छ । विभिन्न महाकाव्यहरुमा उल्लेख भएको पाइने सदानीरा नदी पनि यही नै हो ।
कौशिकी भनेको कोशी नदी हो ।
तीरभुक्तिको अतिप्राचीनता वा प्रागैतिहासिकताको विस्तृत जानकारी सम्भवतः यस धरतीसित मात्र हो । यस धरतीसित धेरै छलछाम भएको छ । सबै विस्तारमा बताउन सम्भव पनि छैन । यद्यपि यहाँ यस धरतीमाथि सक्दो न्याय गर्ने प्रयास गरिएको छ ।
बृहत् विष्णु पुराणमा लेखिएको छ – तिरभुक्ति व्याप्तो देश परम् पावन ।
यसबाट यो स्पष्ट हुन्छ कि तीरभुक्ति आफैंमा पवित्र देश हो । बृहत् विष्णु पुराणले यस क्षेत्रलाई देश मान्दै परम पवित्र मानेको छ ।
हुन त देश शब्दको अर्थ समय र स्थान तथा परिवेशअनुसार फरक भएको पाइन्छ ।
तीरभुक्ति नामकरण कसरी भएको होला ? अलिकति अनुमान लगाउने प्रयास गरौँ ।
तीरभुक्ति भनिएको भूगोलको तीनतिर नदी छ । तीर संस्कृत शब्द हो । यसको अर्थ हुन्छ – नदी वा खोला दुईतिरको किनार वा तट ।
भुक्ति शब्द पनि संस्कृत हो । भुक्ति शब्दको अर्थ हुन्छ – भोजन, उपभोग, भोग । अधिकारमा लिइएको वस्तु, कब्जा वा दखल ।
अधिकारमा लिइएको वस्तु, कब्जा वा दखल भन्ने शब्दले राजनीतिक अर्थ दिने हुन्छ । यस क्षेत्रको लागि यो अर्थ यस क्षेत्रमा राजतन्त्रको स्थापना भएपछिको लागि उपयुक्त हुनुपर्छ ।
तीनतिरका ठूला नदीको किनारको यो भूमि मानवको लागि उपभोगजन्य रहेको, भोजनको पर्याप्तता हुने भएकोले यस क्षेत्रलाई तीरभुक्ति भनिएको हो भन्ने स्पष्ट हुन्छ । अहिले पनि यस क्षेत्रलाई गंगाको मैदानी क्षेत्र भन्ने गरिएको छ । निःसन्देह तीनतिरबाट ठूला नदीको बीचको भूभाग भएकोले यसलाई तीरभुक्ति भनिएको हो ।
भूमि पनि तत्सम शब्द हो । भूमिको अर्थ जमिन हुन्छ । सम्भवतः तीरभुक्ति हुनुभन्दा पहिले यो क्षेत्र तीरभूमि हुनुपर्छ । तीरभूमिबाट संस्कृतमै तीरभुक्ति भनिएको हुनुपर्छ । तीरभूमिको अर्थ हुन्छ – नदी वा खोलाको छेउछाउको जग्गा, नदीको बगर ।
यस क्षेत्रको जमिनको बनोट हेर्दा अद्यपर्यन्त तीनओटा ठूला नदी (कोशी, गण्डकी र गंगा) द्वारा सिञ्चित छ । यी नदीसित अनेक संस्कार तथा संस्कृति जोडिएका छन् । तीरभुक्तिको तीर शब्द कसरी बनेको होला ?
मेरो अनुमान के छ भने सबैभन्दा पहिले यस क्षेत्रको नाम त्रिभूमि हो । तीन नदीले पवित्र पारेको भूमि त्रिभूमि हो । यसपछि नदीको किनार भएकोले त्रिबाट उच्चारणमा सजिलो हुँदै तीर पनि हुन गएको हो । तीन नदीको किनार वा तीन नदीले पवित्र पारेको भूमि दुवै भावलाई एकीकरण गरेको तीरभूमि प्रचलनमा आयो र विद्वत्जनबाट स्तरीय उच्चारणको क्रमसंगै कथ्यमा सुधार भएर तीरभुक्ति हुन गएको हो । यसकारण यो क्षेत्र त्रिभूमि, तीरभूमि, तीरभुक्ति हो । लेख्यमा आएर तीरभुक्ति रूढ हुन पुग्दछ तर अपभ्रंशको प्रचलनसँगै यही तीरभुक्ति अपभ्रंश भएर तिरहुत बन्न पुगेको हो । अतिप्राचीन त्रिभूमिमा मानव बसोबास कहिले भएको होला ?
ऋतिक रोशन अभिनीत हिन्दी कथानक चलचित्र मोहनजोदारोमा जुन हरप्पा र मोहनजोदारो सभ्यताको चर्चा गरिएको छ । यस क्षेत्रका बासिन्दाको सम्बन्ध त्यहाँसित रहेको छ । जब मोहनजोदारो त्यस देखाएको तथ्यमाथि धेरैको विश्वास रहेको छ । एउटा जलप्रलयपश्चात् त्यहाँबाट मानिस सुरक्षित बसाइँको खोजी गर्दै गंगा किनारसम्म आएका थिए ।
महापण्डित राहुन सांकृत्यायनले पनि भोग्लासे गंगामा यस्तै प्रकारको सत्यलाई स्थापित गर्न खोजेको छन् । अन्य संस्कृत वाङ्मय तथा पुराणहरुले पनि हिन्दकुश पर्वत हुँदै गंगा किनारतिर बसाइँ सर्दै आएको कुरालाई स्वीकार गरेका छन् ।
केही विवाद होला । तर्क–वितर्क पनि होला तर करिब यस्तै प्रकारको मान्यता भाषाविज्ञानको क्षेत्रमा पनि रहेको पाइन्छ, मुख्यतः भारोपेली भाषा परिवारको सन्दर्भमा ।
यी तथ्य र तर्कहरूबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि तीरभुक्ति क्षेत्रमा मानवको बसोबास अतिप्राचीन कालमा भएको हुनुपर्छ । गंगाको किनार हुँदै बसाईँ सर्दै अगाडि बढ्ने क्रममा नै यस त्रिभूमिमा विस्तारै अन्य नदी किनारहरूमा मानव सभ्यताको विकास हुँदै गएको हो । पूर्वमा कोशी र पश्चिममा नारायणी नदीको बीचमा बग्ने बाग्मती नदी जुन स्वयं सिधै गंगामा गएर मिलेको छ, यसको किनारमा रहेको वर्तमान रौतहटको धरतीमा पनि सोही समयमा मानव सभ्यताको विकास भएको हो । नदीको दुवै किनारमा बिस्तारै बस्तीको विस्तार हुँदै जाने क्रममा यहाँ सबैतिर अनेक ग्रामहरूको विकास भएको हुनुपर्छ ।
हामी सबैलाई ज्ञात छ, राजतन्त्रको सुरुआत निकै पछि मात्र भएको हो । पहिले आदिम साम्यवाद थियो र हरेक मानिस स्वतन्त्र थियो । मानिसले कृषि गर्न थालेपछि र बस्तीको विकास हुन थालेपछि कैयौँ सहस्राब्दीसम्म मानिसले बिना राजा सामूहिक निर्णयमा समाजलाई चलाएको थियो ।
वाल्मीकीय रामायणमा दशरथ र सीरध्वजको समकालीन राजा सुमतिलाई देखाइएको छ । गंगाको उत्तरी किनारमा विशालापुरीको स्थापना राजा विशालले गराएका थिए । त्यहाँ राजा विशालको अनुक्रम चौबीसौँ रहेको उल्लोख उल्लेख पाइन्छ । यसै वंशको तेतीसौँ राजा सुमतिले गंगाको उत्तरी तटमा अवस्थित विशालापुरीमा विश्वामित्रका साथ राम र लक्ष्मणको राजकीय सत्कार गरेका थिए । जनकपुरी जाने क्रममा तीनैजनाले त्यहाँ रात्रिविश्राम गरेका थिए ।
यहाँ राजा विशालपछि यदि तेतीसौँ राजा सुमति हो भने गंगाको उत्तरी क्षेत्रमा राजतन्त्रको सुरुआत भएको हजारौँ वर्ष बितिसकेको स्पष्ट हुन्छ । यसबाट यो पनि स्पष्ट हुन्छ कि गंगाको उत्तरी क्षेत्रमा कैयौँ हजार वर्ष पूर्वदेखि मानव सभ्यताको विकास भइसकेको थियो ।
अनेक पुराण तथा ग्रन्थहरूमा यस क्षेत्रको बारेमा विभिन्न नामले चर्चा गरिएको पाइन्छ । कतै तीरभुक्ति त कतै यसै क्षेत्रलाई विशालपुरीको नामले पनि चिनिएको पाइन्छ । माथि राजा विशाल, सुमति र रामायणको प्रसंगले यसलाई पुष्टि गर्दछ । यो अत्यन्त स्वाभाविक छ कि कुनै समृद्ध सम्राटको नामबाट समय समयमा यस भूखण्डमा अनेक राज्य स्थापित हुने र कालान्तरमा पतन हुने क्रम देखिएको छ । राजा विशालपछि उनकै राज्यको नामबाट यो क्षेत्रको परिचय इतिहासको निकै लामो कालखण्डसम्म भएको पाइन्छ । वाल्मीकीय रामायणमा नै लेखिएको यस श्लोकले धेरै कुरा स्पष्ट पार्दछ ः
उत्तर तीरमासाद्य सम्पूज्यर्षि गणे तदाः ।
गंगा कूले निविष्टास्ते विशालां ददृशुः पुरीम् ।।
विशालापुरी अर्थात् वैशालीको राज्यलाई लिच्छविहरूको राज्य पनि भनिन्छ । तीरभुक्तिको सम्पूर्ण क्षेत्र वा वैशाली राजधानी भएको र अन्य राज्यहरूसमेतको समग्रतालाई नै लिच्छविले बुझाएको हो, भन्ने विषयमा मतैक्य पाइन्न । यद्यपि वैशालीबाटै नेपाल उपत्यका पसेका लिच्छविहरूले नेपाल उपत्यकामा लिच्छवि शासन स्थापना गर्न सफल भएका थिए भन्ने विषयमा भने नेपाल तथा भारतका इतिहासका ग्रन्थहरू लगभग एकमत रहेका छन् ।
स्पष्ट छ, अहिलेको रौतहट यही तीरभुक्ति वा लिच्छवि शासनअन्तर्गत थियो प्रागैतिहासिक तथा प्राचीन कालमा ।