बैशाख १६ गते
गएको वर्ष चैत्र ६ गतेदेखि कोरोनाको कारण विद्यालय बन्द भयो र देशमा ११ गतेदेखि लागेको लकडाउनसमेतले निरन्तरता पाउँदा विद्यालयमा पठनपाठन कात्तिकदेखि मात्रै राम्ररी सुरु हुन पायो । कतिपय विद्यालयले असोजदेखि नै विद्यालय संचालन गरेका थिए तर कात्तिकदेखि लगभग सबै विद्यालय संचालनमा आएको देखिएको थियो । गत वर्षको चैत्र ६ गतेदेखि हुने भनिएको एसइइ लगायत अन्य सबै खालका परीक्षाहरु स्थगित भयो । यसबीचमा विद्यार्थीहरु र अभिभावकहरु दुवै अलमलको अवस्थामा रहे र यस अलमलको अवस्थाबाट निकास दिन साथै शैक्षिक सत्र भेट्न सरकारले विद्यालयहरुलाई नै आन्तरिक मूल्याङ्कन गर्न लगायो र सोही अनुसार मूल्याङ्कन गरी विद्यार्थीहरुलाई कक्षा कायम गरियो । यो बीचको समयमा विद्यार्थीहरु घरमा बसेर आत्तिसकेको अवस्था, पठनपाठन ठप्प भैसकेको अवस्था, अभिभावकले जति पनि पढ पढ भने पनि एकछिन पढ्ने र पाठ्यपुस्तकको अन्योलता तथा एक किसिमको मानसिक तनावले गर्दा लामो समयसम्म शिक्षा क्षेत्र कोरोनाको कहरबाट प्रभावित बन्न पुग्यो । विद्यार्थीलाई क्रियाशील बनाउनका लागि वैकल्पिक कक्षाहरु पनि संचालन गरिए । स्थानीय निकायको ठूलै लगानी रह्यो तर यसबाट खासै उपलब्धि भने मिल्न सकेन । अनलाइन कक्षाहरु पनि चलाइयो तर सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई मोबाइलको समस्या, घरमा नेटको समस्या तथा अन्य विविध प्राविधिक र आन्तरिक कारणले गर्दा वैकल्पिक वा अनलाइन कक्षाहरु सोचेअनुरुप त्यत्ति प्रभावकारी बन्न सकेनन् जसको फलस्वरुप विद्यार्थी र अभिभावक र राज्यले ठूलो क्षति व्यहोरेको हामी देख्न सक्छौ । वैकल्पिक विधिबाट संचालन गरेको शिक्षाबाट बालबालिकाले खासै उपलब्धि हासिल गर्न सकेनन् । विद्यालयकै जिम्मा आन्तरिक मूल्याङ्कन रहेको हुदाँ पढ्ने राम्रा विद्यार्थीैहरुले कम अङ्क पाए भने कम जान्ने विद्यार्थीहरुमा बढी अङ्क प्राप्त गरेको गुनासो पनि आएको देखियो ।
संकटमा मानिसले बाँच्न सिके तथा विस्तारै संकट कम हुँदै गएको जस्तो लागेर जनजीवन सामान्य हुँदै गएको थियो र केही हदसम्म कोरोनाको अवस्थालाई मानिसले बिर्सेर सामान्य अवस्थातिर फर्किन खोजेका मात्र के थिए विश्वलाई नै आक्रान्त पारेको कोरोना फेरि फर्केर आफ्नो नयाँ रुपमा आएछ । तीब्र गतिमा संक्रमणकारीको संख्या बढ्नु, अक्सिजनको अभाव, बेडको अभावले संक्रमितहरु समयमै उपचार पाउन नसकेर ज्यान गुमाउनेहरुको संख्या अति तीब्रगतिमा छिमेकी देशमा बढिरहेको छ । बिदेशको अवस्थालाई हेर्दा ज्यादै डरलाग्दो स्थिति छ अहिले भने नेपालको अवस्था पनि कुनै सन्तोषजनक देखिएको छैन । कोरोनाबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो रहेको छ । प्रदेश नं. २ मा पनि संक्रमितको संख्यामा तीब्र वृद्वि हुन थालेपछि यही बैशाख १३ गतेदेखि विद्यालयहरु अनिश्चित बन्द गरिएका छन् । फेरि लाखौँ लाख विद्यार्थीहरु अन्योलमा पर्ने डर रहेको विद्यार्थी तथा अभिभावकहरुले बताउन थालेका छन् । यही बैशाख १९ गतेदेखि र्र्र्वािषर््ाक परीक्षाको सूचना झन्डै रौतहट जिल्लाभर आइसकेको अवस्थामा कोरोनाको डरकै कारण एकाएक अनिश्चित बन्द भनेर सुनेपछि उनीहरुमा निराशा छाएको छ त्यतिमात्र होइन एसइइ, क्याम्पसस्तरका परीक्षार्थीहरु पनि अहिलेदेखि नै एक किसिमको अन्यौलमा परेको देखिएको छ । एसइइ तथा अन्य तहका परीक्षार्थीहरुले यद्यपि परीक्षाको तयारी गरिरहेका छन् र गर्नु पर्छ पनि ।
पहिलाको कोरोनाभन्दा अहिलेको कोरोनाको सर्ने गति एकदमै तीव्र छ । यति तीव्र गतिमा संक्रमितको संख्यामा वृद्वि भइरहेको छ त्यसले सम्वेदनशील मानिसहरुमा एक किसिमले डर लाग्ने स्थिति सिर्जना गरिसकेको छ । शहर बजारतिर डेरा गरी वा होस्टलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरु धमाधम घर फर्किरहेका छन् । एकातिर अध्ययन अध्यापन कार्य ठप्प भएको र अर्कोतिर ठूल्ठूला शहरहरुमा कोरोनाबाट संक्रमितहरुको संख्यामा दिनरात नै वृद्वि आएकोले पनि अब बसिरहन सम्भव नभएको र गाउँघरतिर फर्किनेको संख्या बढ्दो छ । यसरी देशबाटै गाउँघरतिर फर्केर आउनेहरुका लागि कुनै निकायबाट जाँच परिक्षण छैन र गाउँघरमा खुल्ला रुपमा हिड्डुल गरेको पनि देखिएको छ । के यसबाट कोरोना फैलिनमा मदत नपुग्ला त ? हामी नेपालीहरु सधै कुनै काम पछि मात्र गर्ने र भगवानको आशामा हरेक कुरोलाई छाड्ने बानी छ ।
बुढापाकाहरु आफूहरुले यसभन्दा पहिला पनि रोगको प्रकोप बढेको, मान्छेको ज्यान समेत गएको, महामारीसमेत नै देखेको र भोगेको अनुभवहरु पनि सुनाउँछन् तर यस्तो महामारी आफुहरुले पहिलो पटक सुनेको र देखेको बताउँछन् । शहरको तुलनामा गाँउमा भीडभाड कम हुने र बाहिर भित्र गर्नेको संख्या कम हुनाले पनि यसको प्रभाव गाँउमा भन्दा शहरमा बढी छ तर पनि हामी सुरक्षित भएर बस्नुपर्छ । रोग आउँदा भनेर नआउने र मान्छेको लागि ज्यान नै सबैभन्दा ठूलो धन रहेको हुदाँ थोरै खाऊँ, जे छ मीठोमसिनो त्यसमै चित्त बुझाऊँ र अहिलेको अवस्थामा बाहिर काममा वा अन्य कुनै कार्यक्रम, सभा, समारोहमा जानु उचित नरहेकोले आफू कसरी सुरक्षित भई बस्ने र सचेत रहने सो कुरामा विचार पु–याउनु आवश्यक छ । हुन त वैकल्पिक शिक्षामा जोड दिइएको छ । अनलाइन वा अन्य कुनै तरिका अपनाई घरमै पठनपाठन कार्यलाई अगाडि बढाउने, घरका सदस्यहरुसित सहयोग लिएर पढ्ने, हिजोआज नेट गुगलमा संसार छ खोजेर आफ्नो पढाईलाई निरन्तरता दिने र यो अवस्था कहिलेसम्म यस्तो अन्योलको अवस्था रहने हो भन्न सकिदैन ।
अहिले कोरोनाबाट संक्रमित हुनेमा १८ वर्षदेखि ४५ वर्षसम्मका मानिस पनि भएको तथा यस समूहका मानिसको संख्या उल्लेख्य भएको र शिक्षकहरु पनि संक्रमित तथा ग्रसित भएकाले पनि विद्यालय तुरुन्तातुरुन्तै बन्द गर्न परेको हो । पहिलो चरणको भ्याक्सिन बिशेष समूह छुट्टयाई स्वास्थ्यकर्मी लगायात अन्य जो बढीभन्दा बढी प्रत्यक्षरुपमा मान्छेको भीडभाडमा छ तिनीहरुलाई पहिलो चरणको भ्याक्सिन दिइयो । हुन त भ्याक्सिन कम मात्रामा भएकाले यसरी समूह छुट्टयाइ दिनुपर्ने बाध्यता थियो र अहिले दोस्रो चरणको भ्याक्सिन केहीले लाइसकेका र केही लागाउन बाँकी रहेका पनि छन् । विद्यालयमा ठूलो जमातमा विद्यार्थी संख्या हुने र झन्डै एउटा माविमा आठदेखि दश गाउँका विद्यार्थीहरु पढ्न आउने हुनाले पनि तथा शिक्षकहरु पनि विभिन्न नपा र गापाको भएकाले पनि यो क्षेत्र संवेदनशील क्षेत्र मानिएको र तुरुन्त विद्यालय बन्दको सूचना गर्नुपर्ने बाध्यता देखिएको हो । रौतहटको एकै विद्यालयका आठ नौ जना शिक्षकमा कोरोना संक्रमण देखिएको सबैलाई जानकारी नै छ । यस्तो अवस्था अन्य पनि जिल्लाको पनि हुन सक्छ, त्यसकारण पनि बाध्यतावश विद्यालय बन्द गर्नु पर्ने अवस्था आयो । अभिभावकहरु पनि यस्तो बेलामा जिम्मेवार भई आफ्नो छोराछोरीको पढाइ लेखाइका लागि थोरै भए पनि समय दिनु पर्ने र अन्य वैकल्पिक साधनहरुबाट पनि सिक्ने प्रयास जारी राख्नु पर्ने हो ।
हुन त विद्यार्थी जीवनलाई नै संघर्षको जीवन भनिन्छ । पहिले त अभावको जीवन पनि भनिन्थ्यो । अहिलेको अवस्थामा विद्यार्थीले भने अभाव र संघर्षभन्दा बढी धैर्य गर्नुपरेको छ । धैर्यले पनि विद्यार्थीको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्दछ । सम्भव भएसम्म आफूले नै आफ्ना पुस्तकहरुको अध्ययन गर्ने, समस्याको समाधान गर्ने, दिनहु अनिवार्य घरमा कम्तीमा छ घन्टा पढ्ने तथा सम्भव भएसम्म आफ्ना शिक्षकलाई पनि फोन वा म्यासेन्जर वा अन्य साधनले सम्पर्क गरी आफ्ना बारेमा पढाइका सकारात्मक जानकारीहरु उपलब्ध गराउने तथा समस्याहरु समाधानमा सहयोग गर्न आग्रह गर्ने हो भने यो समय त्यत्ति गार्हो हुँदैन र धेरै हदसम्म उपलब्धिमूलक बनाउन सकिन्छ । यो कठिन समयमा घरमा सुरक्षित रही सुरक्षित साथ आफ्ना अन्य कामहरु तथा पठनपाठनका कार्यहरुलाई निरन्तरता दिऔं । सामाजिक दुरी बनाई कामहरु गरौं, साबुन पानीको प्रयोग पटक–पटक गरौं, माक्स लगाऔं, सेनिटाइजर प्रयोग गरौं किनकि सुरक्षा नै सबैभन्दा ठूलो बचाव हो । यो प्रकोपबाट विश्वले छिट्टै राहत पाओस्, विद्यार्थीहरु, शिक्षक लगायत अन्य सबै क्षेत्रमा कार्यरतहरु आ–आफ्नो काममा छिट्टै फर्कियून, यही कामना छ ।