बैशाख १६ गते
अहिले कोरोनाले निकै विस्तार रुप लिन थालेको छ । यस अवस्थामा हाटबजारलाई पनि नियन्त्रण गर्नु आवश्यक देखिएको छ ।
प्रायः हाटबजारहरु दिउँसो वा साँझतिर लाग्ने गरेका छन् । यसले गर्दा निकै भीडभाड हुने गरेको छ । कोरोनाको विस्तार अत्यन्त तीव्र गतिमा भइरहेको वर्तमान समयमा यसलाई फरक समय पार्नु आवश्यक देखिएको छ । हाटबजारलाई रोकिहाल्नु चाहिँ उचित हुँदैन किनभने धेरैको रोजीरोटीसित पनि गाँसिएको छ । अहिले लकडाउनको समय पनि होइन तर व्यवस्थित र नियन्त्रित गरिएन भने हाटबजारले गर्दा कोरोनाको विस्तार अझ तीव्र हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।
अहिले कुनै पनि हाटबजारमा पचास प्रतिशत मानिसले मास्क लगाएका हुँदैनन् । न क्रेता र न त बिक्रेताले मास्क लगाउने हो भने एउटा हाटबजारबाट एकै दिनमा कैयौँमा एक संक्रमितबाट सर्ने सम्भावना विद्यमान छ । यस अवस्थामा दिउँसो वा साँझतिर लाग्ने हाटबजारलाई बिहानको समयमा सार्ने र दश बजेसम्म मात्र हाटबजार लाग्न दिने ।
यस किसिमको उपायले के फाइदा हुन्छ भने बजारमा अनावश्यक रुपमा बालबालिका तथा अन्य मान्छे जान पाउँदैनन् । सामान्यता किन्ने र बेच्ने मानिस मात्र हाटबजार जान पाउँछन् । अनावश्यकरुपमा एक क्रेताका एक जना साथी तथा केटाकेटी पनि हाटबजार जानबाट केही हदसम्म रोकिन सक्छ । यसकारण आवश्यक हुने क्रेता र बिक्रेतालाई कुनै नोक्सान पनि नपु¥याई हाटबजारलाई व्यवस्थित गर्न सकिन्छ । बिहानको समय सबै किसिमका काम गर्ने मानिसको लागि कामकै व्यस्तता हुने भएकोले हाटबजारमा नपुगी नहुने मानिसबाहेक अरु थप मानिस चाहिँ जान पाउँदैनन् । हाटबजार जाने र तरकारी किनेर एक छिन छाप्रे होटलमा पसी होहल्ला गर्दै घर फर्किने समूह बिहानको समयमा हाटबजारलाई व्यवस्थित गर्ने हो भने झन्डै नब्बे प्रतिशत कम हुन्छ । यसले गर्दा केही हदसम्म झैंझगडा, सबारीसाधन तथा अन्य किसिमका समस्या पनि कम हुने देखिन्छ । यो अहिलेको आवश्यकता हो र कोरोना संक्रमणको तीव्रतालाई कम गर्न अस्थायी उपाय पनि हो ।