काठमाडौँ, २६ श्रावण। नुवाकोटको पिपलटारमा कारले पैदलयात्रीलाई ठक्कर दिएको छ । त्रिदेशीय मार्ग अन्तर्गत वीरगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकखण्डको बिचमा रहेको विदुर नगरपालिका -५ पिपलटारमा आइतबार राती गुडिरहेको बा ३ च ४२४३ नम्बरको कारले पैदलयात्री तारकेश्वर गाउँपालिका ६ का ५७ वर्षीय धनबहादुर तामाङलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइते तामाङको टाउकोमा गम्भीर चोट लागेको छ । उनको त्रिशूली अस्पतालमा उपचार गरिएको छ । कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेडलाइटसमेत नबलेको कारले सडकको छेउमा हिँडिरहेका तामाङलाई ठक्कर दिएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । कारले साइटलाइट मात्रै बालेर हिँड्दा घटना भएको प्रत्यक्षदर्शीहरुले बताए ।
दुर्घटनापछि प्रहरीले कार र त्यसका चालक बेलकोटगढीका बद्री बस्नेतलाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


