वैशाख १८ गते
विश्वका मजदुरहरु एक हौँ भन्नु नै अन्तर्राष्ट्रिय मजदुर दिवसको सान्दर्भिकता हो । मजदुर भनेपछि कतिपयलाई असहज लाग्ने परिस्थितिमा श्रमिक भन्दा पनि कुरो उही हुन्छ । श्रमिक दुई किसिमका हुन्छन् । शारीरिक श्रमिक र मानसिक श्रमिक । जसले आफ्नो शरीरले परिश्रम गर्दछ र पारिश्रमिक पाउँछ भने शारीरिक श्रमिक भए र कसैले मानसिक श्रम गर्दछ भने ऊ मानसिक श्रमिक भयो । शारीरिक श्रमिक ठूलो कि मानसिक श्रमिक ठूलो भन्ने विवादको औचित्य छैन । दुवै आफ्ना ठाउँमा ठूला छन् र महत्वपूर्ण पनि ।
हरेक श्रमिकले सम्मान पाउनु पर्दछ । श्रमिकले श्रमको मूल्य पाउनु पर्दछ । आजको दिनले त्यस दिनको पनि सम्झना गराउँछ जब अमेरिकामा श्रमिकले सम्मानको लागि संघर्ष गरेका थिए । हरेक श्रमिकले आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरंजन गर्न पाउनु पर्छ भन्ने आवाजमात्र उठेको थिए अपितु कार्यान्वयनको पनि सुनिश्चितता भएको थियो । आठ घन्टा कामको समयको बिचमा श्रमिकले खाजा खाने समय पनि पाउनु पर्दछ । अहिले अब श्रमिकको कामको सुरक्षाको साथै काम गर्ने ठाउँको वातावरण पनि स्वस्थ्य र सुरक्षित हुनुपर्दछ भन्न थालिएको छ ।
विश्वभरका श्रमिकहरुको स्थिति एकै किसिमको रहेको छैन । एकनाशले सबैतिर ज्याला पाउने अवस्था पनि रहेको छैन । श्रमिकको स्थिति पहिलेभन्दा सुधार भएको छ तर अझ पनि अनेक किसिमले सुरक्षित हुनुपर्ने आवश्यकता रहेको छ । श्रमिकको बिमा अहिलेको मुख्य समस्या रहेको छ । श्रमिकमाथि आश्रितको भरणपोषण पनि हुनुपर्ने गरी पारिश्रमिक निर्धारण हुनुपर्दछ । श्रमिकको सम्पूर्ण सुरक्षा नभएसम्म श्रमको वास्तविक मूल्यांकन हुन सक्दैन । श्रमको सम्मान गरौँ ।