वैशाख १८ गते
मान्छे सपना देख्छन् । सपना देख्नु प्राकृतिक कुरा हो । सुतेपछि मान्छेलाई निद्रादेवीले अर्कै लोक अर्थात स्वप्नलोकमा लाग्छिन् । सुतेपछि जुन बेला पनि सपना देख्न सकिन्छ । आँखा लाग्ने बितिक्कै होस् वा मस्त निद्रा होस् या बिहान हुन लागेको बेला किन नहोस्, मान्छे सपना देख्छन् । लोकजीवनमा सपनाले खास अर्थ राख्दछ । हरेक सपनाको शुभ अशुभ अर्थ लोकजीवनमा व्याप्त छ । सपनाले व्यक्तिपिच्छे खास सङ्केत वा इसारा गदर्छ भन्ने मान्यता पनि हाम्रो लोकजीवनमा छ । स्वप्न विज्ञानले देखेको सपनाको समयअनुसार अलग अलग शुभ अशुभ अर्थ बताउँछ भने मनोविज्ञानले अर्कै मत राख्दछ । मनोविज्ञानअनुसार मान्छेको जीवनमा पूरा हुन नसकेको इच्छा तथा आकाङ्क्षाहरु सपनामा प्रस्ट भएर आउँछन् वा अचेतन मनमा जमेर रहेको विषयवस्तु सुतेपछि सपनामा प्रस्ट भएर आउँछन् । म कुनै पनि मतलाई खण्डन गर्न चाहन्नँ । मेरो सपनाले मलाई केहीँ सङ्केत गरेको हुन्छ भने शुभ अशुभ फल पनि दिएको हुन्छ । यदाकदा म अचेतन मनमा जमेर रहेको कुरा पनि सपनामा देखेको महसुस गरेको छु अर्थात सपनाको सन्दर्भमा म लोकमान्यता, स्वप्न विज्ञान तथा मनोविज्ञानसहित कसैलाई नकार्न सक्दिनँ । मैले ओशोलाई पढेको छु । उनी पनि सपनाको वारेमा धेरै कुराहरु भनेका छन् र उनी यस संसारमा हरेक कुराको अस्तित्व छ भन्दै सबै पक्षलाई स्वीकारेका छन् कुनै एक पक्षलाई जोड दिएका छैनन् । म अब आफ्नो सपनाको कुरा गर्दै छु । कुरो छ – रौतहट जिल्लाको खेसरहिया गाउँको । त्यहाँको श्री सरस्वती उच्च माध्यमिक विद्यालयमा नेपाली विषय अध्यापन गराउन निजी स्रोतबाट अध्यापकको रुपमा नियुक्त भएको थिएँ । मेरो लागि नयाँ विल्कुलै नयाँ ठाउँ भएको हुनाले कसैको दैलोमा बस्ने मन थिएन । सायद कसैले म कहाँ बस्नुस् भनी आमन्त्रण पनि गरेन । एकाएक मेरो लागि विद्यालयका अध्यक्ष विन्दा साहनी तथा प्रधानाध्यापक सुरेन्द्रप्रसाद यादवले विद्यालयमै बस्ने व्यवस्था मिलाइदिए । ग्याँस सिलिन्डरदेखि लिएर भाँडाकँुडासहित सबै किनेर ल्याइदिए । मेरो बस्ने कोठा विद्यालयको विज्ञान प्रयोगशाला भयो । मैले दुध र तरकारीमात्र किन्नु पथ्र्यो । म आरामले त्यहीँ बस्न र पढाउन थालेँ । गाउँको दक्षिण पश्चिममा अलि एकान्तमा नेटुनिया माई पोखरीको आँटमा विद्यालय रहेको छ । विज्ञान प्रयोगशालाको कोठैभरि लामो टेबुल मेरो किचेन टेबुलमा तब्दिल भएको थियो । कोठाको उत्तर पश्चिम कुनामा भित्तामा एक किलामा मानव स्क्लेटल माथिबाट तल टेबुलको उँचाइसम्म झुन्डिरहेको थियो । राती सुत्ने बेलामा म आफ्नो दक्षिण पूर्वको कुनामा रहेको ओछ्यानबाट टुकीको मधुर प्रकाशमा त्यसको छाँया हल्लिरहेको देख्थेँ । दक्षिण भित्तातिर सिसामा बन्द स्टार फिस, भ्यागुतो, अक्टोपस आदि समुद्री माछा तथा साना जीवहरु सिसा लागेको आधुनिक दराजमा लामबद्ध राखिएका थिए । यी सबै वस्तुहरु राती टुकीको प्रकाशमा प्रस्ट भएर आउँथे । दिनमा त त्यति ध्यान पनि जाँदैनथ्यो किनभने उज्यालोका कारण त्यहाँ देख्निे कुराहरु धेरै हुन्थे । राती खाना बनाइरहँदा झ्यालबाट सामुन्ने पश्चिमतिर पोखरीको पल्लो आँटमा लास जलिरहेको हेर्थे । त्यो पोखरी र विद्यालय परिसर साँझ हुने बितिक्कै एकान्त र सुनसान भइहाल्थ्यो । लास जलेको साँझ झन् सुनसान तथा भयाबहता हँदै व्याप्त भएर आउँथ्यो । सारा मानव कल्रव शून्य हुन्थ्यो । पूर्वतिर गाउँमा बत्ति बलेको मात्रै हेर्थे । आकाशमा ताराहरु टिमटिम गरेको देखिन्थ्यो । झ्याँउकिरी र स्यालको आवाज कानमा आतङ्क मचाउँथ्यो । गाउँतिर कुकुर भुकेको अलिअलि मसिनो आवाज सुनिन्थ्यो । राती बिल्कुल हलिउडको हरर फिल्मको परिवेशजस्तो वातावरण सिर्जना हुन्थ्यो । तापनि मलाई डर लाग्दैनथ्यो । त्यहाँ रहँदा केही मेरा मित्रहरु बनेका थिए । ती मित्रहरु हून् ः अर्जुन गिरी, उमाशंकर यदव, मोहन यादव । उनीहरुसँग आज पनि प्रेमभाव छ । ती मित्रहरु मलाई त्यहाँ नबस्न सल्लाह दिन्थे । मलाई त्यहाँका नागेन्द्र पन्चजी र सिकिन्द्र राय यादब सरले यहाँ कसैसँग नडराउने आदेशको भरोसा त छँदै थियो । अर्को कुरा त्यतिखेर मृत्युको भय पनि मेरो मनबाट हराइसकेको थियो । मरेँ भने पनि परिवारको लागि सहिद होउँला भन्ने मनमा एक सफ्ट दम्भ थियो । एक दिन यस्तै सुतिरहँदा आँखा लाग्ने वित्तिकै नजर अगाडि अँध्यारो क्यानभासमा एक वृद्ध महिलामुन्ड प्रस्ट भएर आयो । लगभग नब्बे पन्चानन्बे वर्षको मुन्डको अनुहार पुरै चाउरिएको थियो । कपाल यति मैलिएको थियो कि मानौँ जीवनमा कहिल्यै स्नान गरेको छैन् । यो चित्र केहीबेर आँखा अगाडि टिकिरह्यो र हेर्दाहेर्दै मुखको दुबै पाश्र्वबाट स्वाभाविकभन्दा लामो दुई दाँत दार्हीसम्म निस्केर आए । मेरो आँखा खुल्यो । म दुई कर जोरेर फेरि सुतेँँ । बिहान हुँदा कुरा बिर्सिहालेँ । त्यस रात पनि मैले आँखा लाग्ने बित्तिकै फेरि अँध्यारै क्यानभासमा प्रौढ पुरुषको घँुडा हेरेँ । आलस रङ्गको धँुडा पहिलेजस्तै केहीँ समय आँखाअगाडि टिकिरह्यो । पछि त्यस घँुडाको दबै छेउमा दुई आँखा पलाएर आयो र एक दुई चोटि परेलाहरु तलमाथि गर्यो । म ब्युझेँ र फेरि दुई कर जोरेर सुतिहालेँ । मैले विद्यालयमा नागेन्द्र पन्चजीलाई देखेँ । उनी कुनै काम विशेषले विद्यालयमा आएका थिए । मैले उनलाई सपनाका कुरा सुनाएँ । उनले नेटुनियाँ माईले दर्शन दिनुभएछ भनी भने र हरेक साँझ नेटुनियाँ माईको नाम लिएर अगरबत्ती बाल्ने सल्लाह पनि दिए । उनकै अनुसार म हरेक साँझ नेटुनियाँ माईको नाम लिएर अगरबत्ती जलाउन थालेँ । सपना पनि देखिन छोड्यो । अगरबत्तीको डिब्बा सिधिएपछि मैले अर्कोपल्ट कहिल्यै अगरबत्ती किनिनँ । मैले सपनाको विषयमा साथी अर्जुन गिरीलाई पनि सुनाएको थिएँ । उनले पनि नेटुनियाँ माई नै सपनामा आउँछन् भन्दै एक दम्कल बिग्रेको कहानी मलाई सुनाए । दमकल बनाउन धेरै मिस्त्रीहरु लाख कोसिस गर्दा पनि बनेन र एकजनाले नेटुनियाँ माईको नाम लिएर हैन्डिल मात्र चलाउँदा दमकल चालु भएको कहानी बडा चाखलाग्दो ढङ्गले उनी सुनएका थिए । मैले नेटुनियाँ माईको विषयमा धेरै किम्बदन्तीहरु अलग अलग व्यक्तिहरुबाट सुनेँ जो भन्दा भनिसकिदैन । केहीँ समय पछिसम्म त सपना हेरिनँ तर पछि एकचोटि फेरि सपनामा चिताबाट निकालेको प्रौढ व्यक्ति हेरेँ । त्यो व्यक्ति दुबै खुट्टा मोरेर योगासीन बसेका थिए । उनको कदकाठी बिल्कुल रामकृष्ण परम्हंसजस्तो देखिन्थ्यो । योगासीन शरीरबाट वाफ वफाइरहेको थियो । यस्तो देखिन्थ्यो कि मानौ भर्खर चिताबाट निकालिएको छ । फेरि आँखा खुल्यो र म पहिलेजस्तै दुई कर जोरेर सुतिहालेँ । यसपालि यो कुरा कसैलाई भनिनँ । त्यसपछि त्यहाँ कहिल्यै यस्तो सपना देखिनँ । त्यहाँ मेरो जीवन सामान्य भयो । यी दृश्यहरु हेर्दा पनि डर लाग्दैनथ्यो । राती झ्यालबाट पूर्व विद्यालय प्राङ्गन भएर माछा चोरहरु आवतजावत गरेको हेर्थेँ । ती चोरहरु अरु कुनै पोखरीबाट माछा चोरेर ल्याउँथे । त्यहाँको नेटुनियाँ पोखरीबाट चोर्ने साहस कसैले नगर्ने मलाई विश्वास थियो । एक त लोकमान्यता र दोस्रो नेटुनियाँ माईका दर्शनहरुले म पूर्ण विश्वस्त भइसकेको थिएँ । पोखरीका ठेकेदार पनि त्यति रेखदेख गर्न आउँदैनथे । खरी, मल र क्याल्सियम आदि हाल्ने बेलामा मात्र ठेकेदार अशोक सहनी र उनका साथीहरु देखा पर्थे । नेटुनियाँ माईको प्राङ्गन मलाई आफ्नै आङ्गनजस्तो निश्चिन्त र बेफिक्र राख्थ्यो । मैले जति दिन त्यहाँ बसेँ । रुहानी वातावरणमा बसेँ । लाग्थ्यो कुनै शक्ति मलाई केही भन्न चाहिरहेको छ । केहीँ सङ्गेत दिन खोजिरहेको छ । मलाई केही गर्न प्रेरित गरिरहेको छ । जे होस् म कुनै रुहानी सङ्गेत बुझ्ने कोसिस गरिनँ । म यति बुझेँ र बुझ्छु कि म त्यहाँ नेटुनिया माईको अभिभावकत्वमा थिएँ । जय नेटुनियाँ माई ।