जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवारदेखि यो महिनाभरको लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । यो यस्तो निषेधाज्ञा हो जसमा व्यापार व्यवसाय बन्द हुँदैन तर सर्वसाधारणले कुनै पनि सबारी साधन चलाउन पाउँदैन । व्यापार तथा उद्योग व्यवसाय बन्द नगरी हुने निषेधाज्ञाले जीवन पनि चलिरहोस् र कोरोनाको संक्रमण पनि नफैलियोस् भन्ने उद्देश्यले गरिएको हुनुपर्छ । जिल्लामा दिनप्रतिदिन कोरोनाको संक्रमण बढिरहेको तथा कोरोनाको कारण मृत्यु हुने मानिसको संख्या पनि बढिरहेको वर्तमान सन्दर्भमा यो निषेधाज्ञा एक किसिमले सचेतता हो र कोरोनाको प्रसार रोक्ने साधन हो भनेर बुझ्दा हुन्छ । कोरोना भाइरसको संक्रमणले निकै विस्तार पाइसकेको छ । हरेक दिन देशमा नयाँ रेकर्ड कायम भइरहेको छ । यसलाई सम्भव भएसम्म रोक्नको लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन् । देशको अधिकांश जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । गत वर्षको अनुभवले यही सिकाएको छ कि कोरोना प्रसारको चेनलाई तोड्नको लागि निषेधाज्ञा धेरै हदसम्म सहायक हुन सक्छ । हुन त गत वर्ष लकडाउन पनि घोषणा भएको थियो र धेरैलाई अप्ठ्यारो परेको थियो । अहिले पनि कोरोनालाई नियन्त्रण गर्न कतिपयले लकडाउन नै विकल्प हो भन्न थालेका छन् तर कतिपयले लकडाउनले जनजीवन र अर्थतन्त्रलाई निकै प्रभावित पारेको थियो यसकारण सफ्ट किसिमको निषेधाज्ञा नै राम्रो हो भनेका छन् । अहिलेको निषेधाज्ञाले नै कोरोनाको संक्रमणलाई कम गर्न सकोस् भन्ने चाहना यदि सर्वसाधारणमा छ भने कोरोनाको प्रोटोकललाई सबैले पालन गर्नैपर्छ । कोरोनाकाल भनेको आपतकाल हो र आपतकालमा सबैले आफूलाई तथा आफ्नो परिवारलाई जोगाउनु आवश्यक हुन्छ । जिल्ला प्रशासन कार्यालयले तोकेको परिधिभित्र रहेर जनजीवनलाई सहज बनाऔँ र सम्भव भएसम्म घरबाट बाहिर निस्कँदै ननिस्कौँ । अहिलेको समयमा निषेधाज्ञाको अर्थ स्वास्थ्यको दृष्टिकोणले जनसाधारणलाई जोगाउनु भएको भन्ने बुझ्नु आवश्यक छ ।