सञ्जय साह मित्र बैशाख २४ गते
आज त्यो तिथिमिति अलिकति पनि याद छैन तर प्रश्न कैयौँ वर्षपहिलेको हो । एक दिन मैले सामान्य घुमघामकै सन्दर्भमा मित्र सञ्जय सुदामालाई प्रश्न सोधेथें – सर्लाहीको नाम कसरी रहन गएको होला ?
सुदामा छन्द कवि हुन् । सर्लाही जिल्लाको सुदामा गाउँको भएकाले उनलाई मैले सुदामाजी भन्ने गरेको हुँ । साहित्यमा त्यत्तिवेला मैले पनि सञ्जयकुमार साह र उनले पनि सञ्जयकुमार साह लेख्ने हुँदा हामी एकापसमा अलिकति फरक बुझिन मित्र र सुदामा जोडेका हौँ । अहिले उनी सञ्जय सुदामा लेख्छन् र मचाहिँ सञ्जय मित्र । कतिपयले चाहिँ जिस्क्याएर हामीलाई मित्र–सुदामा भनी संयुक्त उपनामबाट सम्बोधन पनि गर्दछन् । सुदामा साहित्यका विद्यार्थी र साहित्यकार भए पनि इतिहासमा समेत रुचि राख्दछन् । आफ्नै जिल्लाको नामकरण कसरी भएको होला भन्ने बारे उनले बताएको कुरो यस्तो थियो – मलंगवाभन्दा पश्चिम सर्लाहीमाईको मन्दिर छ । त्यसै मन्दिरको नामबाट जिल्लाको नामकरण भएको होला ।
पुग्ने इच्छा हुँदाहुँदै पनि जान सकिएको थिएन । वर्षौँदेखि कुनै दिन त्यहाँ पुग्नुपर्छ भन्ने इच्छा थियो ।
२५ माघ २०७६ को शनिवार मलंगवाको लागि घरबाट निस्कँदा साढे दश नाघिसकेको छ । दश बजे नै निस्कने योजना थियो र दश बज्न दुई मिनट बाँकी छँदा नै बज्जिपत्र साप्ताहिकका प्रकाशक÷सम्पादक किशुनदयाल यादवले निस्कनुपर्ने भनी फोन गर्छन् तर मैले खाना नै खाएको थिइनँ । खाना खाएर तयारी भएर निस्कँदा निर्धारित समयभन्दा केही ढिलो भइसक्छ ।
अनुमानले चालीस किलोमिटर भएकोले दुई घन्टाभन्दा बढी लाग्दैन भन्ने किशुन सरको भनाइ छ । ग्रामीण बाटो भएकोले अलिकति बढी समय लाग्नु स्वाभाविक हो तर बाटो सोधीसोधी जानुपर्ने । बाइक उनै चलाउँछन्, उनैको बाइक छ । म सधैँ उनको पछाडिको धुलो छेक्ने मान्छे । विगत चार वर्षदेखि यसै गरी उनको पछिपछि धेरै कार्यक्रमहरूमा धाइरहेछु । यसको मूल कारण भने अहिलेको युगमा पनि मैले बाइक चलाउन नजान्नु हो । तर यो वर्ष भने बडो मुस्किलले स्कुटर चलाउन सिकेको छु । तर हामी दुईजना कतै जानुप¥यो भने उनी नै चलाउँछन् ।
घरबाट निस्केको करिब एक घन्टा भएको हुनुपर्छ । अहिले सम्मmना त भएन तर एउटा नाम सुनेकै बजारमा पुग्दा एउटा टेम्पोको अगाडिको सिसामा लेखिएको पढ्न पुग्छु – मलङबाबा । सबारी साधनमा देवीदेवताको नाम लेखिनुलाई हामीकहाँ अति स्वाभाविक मानिन्छ । हिन्दू समुदायका हरेक सबारी मालिकले कुनै न कुनै देवीदेवताको नाम सार्वजनिक यातायातमा लेखेकै पाइन्छ । केही अपवाद पनि होला ।
जब मलङबाबा लेखेको पढ्छु – तत्काल मेरो मस्तिष्कमा उब्जन्छ कि मलंगवामा वा आसपासमा यस नामको कुनै मन्दिर हुनुपर्छ । सर्लाहीको सदरमुकाम मलंगवा सम्भवतः यसै नामबाट राखिएको हो । अनि किशुन सरलाई भन्छु – कतै सर्लाहीमाईको मन्दिर छ, उताबाट फर्किँदा त्यहाँ पुग्ने प्रयास हुनुपर्छ र मलंगवामा हुँदा मलङबाबाको मन्दिर पनि पुग्नुपर्छ । फरासिला विचारका किशुन सरले हो मा हो मिलाउँछन् ।
मलंगवामा श्रीमती कृष्णामती माध्यमिक विद्यालयमा हाम्रो कार्यक्रम छ – बज्जिका भाषाको इतिहासलेखन अभिमुखीकरण गोष्ठी । यसका हर्ताकर्ता हुन् डा. कमलेश्वरकुमार सिन्हा । डा. सिन्हा धेरै जिल्लाका जिल्ला शिक्षा अधिकारी र विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी हुँदै अन्य निकायमा पनि काम गरिसकेका छन् । दुई दर्जनभन्दा बढी देशको भ्रमण गरिसकेका डा. सिन्हालाई साथ दिइरहेका छन् रामनगर गाउँपालिकाका प्रमुख कृष्णप्रसाद वर्माले । कृष्णप्रसाद वर्मा, श्रीकृष्ण (बज्जिका रामायणका लेखक महाकवि अवधेश्वर अरुणले किशुनदयाल यादवको उपनाम श्रीकृष्ण राखेका छन्) र कृष्णामती विद्यालयको संयोग भएको छ । दिउँसो १२ बजे तोकिएको कार्यक्रम १ बजे सुरु हुन्छ र साढे तीन बजे सकिन्छ । सर्लाही सदरमुकाममा वास्तवमा म पहिलोचोटि केही घन्टा समय बिताउने अवसर पाउँछु ।
घर फर्किनु छ तर उब्जेका रहरहरू बग्रेल्ती छन् । कम्तीमा दुई रहर पूरा हुन पाए हुन्थ्यो भन्ने लागेको छ । मलङबाबाको बारेमा कसैलाई थाहा भएदेखि हामी त्यहाँ पुग्थ्यौँ । कोही एकजनालाई होइन, लगभग पाँच सातजनाले सुन्ने गरी भनेको हुन्छु । कार्यक्रममा सहभागी भएका नेपाल मिथिला प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष रामचन्द्र महतो सहर्ष तयार हुन्छन् । महतो शिक्षासेवी हुन् । आफैँले विद्यालय खोलेका छन् । सेवानिवृत्त शिक्षक हुन् र पूर्व आरपि पनि । विभिन्न संघसंस्थामा अत्यन्त सक्रिय छन् । कृष्णामतीबाट महतो आफू अगाडि लाग्छन् र हामी दुईजना चाहिँ पछि लाग्छौँ । भन्सारनजिक पुग्न नपाउँदै अलिकति पूर्वतिर मोडिन्छौँ । नजिकै छ मलङबाबाको मन्दिर । पहिलेदेखि थाहा पाउनेले सजिलै चिन्दछन् तर मूल सडकबाट मन्दिर छ जस्तो बुझिँदैन । भारततिरबाट मलंगवा पस्दा दाहिनेतिर पर्ने अलिकति झाडीजस्तो देखिने र कम्पाउन्डबीच ठूलो पीपलको रुख भएको नै मलङबाबाको स्थान हो । मूल ढोका पश्चिमतिर छ कम्पाउन्डको । भित्र पस्छौँ । दुई युवा त्यहाँ भित्र देखिन्छन् । दुवैजनाले सभ्य शब्दावलीमा जुत्ता फुकालेर मन्दिरको दर्शन गर्न जान आग्रह गर्दछन् ।
हामीलाई मन्दिर, मस्जिद, गुम्बा आदिलाई हेर्नु छ भने त्यसको नियमलाई पालना गर्दा सजिलो हुन्छ । महतो सर भन्छन् – यस मन्दिरको विशेषता यो छ कि यहाँ हिन्दू र मुस्लिम दुवैले समानरूपमा पूजा गर्दछन् ।
श्रीकृण थप्छन् – हो, मेरो गाउँ (रौतहट जिल्लाको गरुडा नपा ५ महम्मदपुर)मा पनि मलङबाबाको मन्दिर छ । हामी लङौटा चढाउँछौँ ।
मलङबाबाको मन्दिरको स्थापना कहिले भयो ? यस विषयमा ती दुई युवालाई पनि थाहा छैन र महतो सरलाई पनि यस मन्दिरको इतिहासको विषयमा खासै जानकारी रहेनछ । मलंगवाको नामकरणको पछाडि यही स्थान हुनुपर्छ भन्ने अनुमानलाई आफैँले स्वीकार्दै निस्कन्छौँ । मेरो मनमा केही जिज्ञासाहरू उब्जन्छन् – दुवै समुदायले पूजा गर्ने मलङबाबा सद्भावका प्रतीक हुन् र सीमाक्षेत्र नजिकै भएकाले दुई देशका साझा देवता पनि हुन् तर यसको स्थापनाको विषयमा किन यहाँ केही उल्लेख छैन । महतो सरजस्ता प्रबुद्ध र स्थानीय नवयुवाहरुले समेत अनभिज्ञता प्रकट गरिरहँदा मलंगवाले बस्तीको आकार ग्रहण गर्दैको अवस्थामा इतिहासमा यस क्षेत्रमा कतै मलङको जङ्गल त थिएन । यद्यपि अहिले मलङको रुख कतै देखिएन । यो बस्तीको इतिहास केवल सात आठ सय वर्षजति मात्र पुरानो हो वा अझ बढी ? दुई समुदायले समान पूजा गर्नुको अर्थ यो पनि हुन सक्छ कि मधेसमा मुस्लिमको आगमन भएको केही दशक वा शताब्दीपछि मात्र बस्ती बसेको होओस् ।
एकदमै ढिलो भइसकेको छ । अब सिधै फर्कौँ कि सर्लाहीमाईको खोजीमा निस्कौँ । महतो सरको आग्रह, स्नेह र प्रेमको चिया नखाई हामी उम्कन पाउँदैनौँ । चियामा खर्च भएको समयले महतो सरको बारेमा बुझ्न, उहाँको विचार र सक्रियताको बारेमा बुझ्न निकै सघाउ पु¥यायो । चिया खाएर त्यहाँबाट निस्कँदा मलंगवामा मैले एकजना चिनेको राम्रो मान्छे बनाएको अनुभूति गरेँ । हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पस पढ्दाको समयमा मलंगवाका एकजना साथी थिए तर अढाई दशकभन्दा लामो समय बितिसकेको छ । उनको नाम र थर अहिले केही पनि सम्झना छैन । मेरो जिल्लाको छिमेकी जिल्ला सदरमुकाममा मैले चिनेको एकजना पनि मान्छे नहुनु मेरो लागि अहिलेसम्म मलंगवा अन्धकारमै रहेको लागेको थियो । अहिले एकजना अग्रजलाई चिनेको छु भन्न पाउने भएँ ।
महतो सरसित बिदा भएर निस्कँदा सूर्यको राप र ताप कम भइसकेको छ । अन्जान ठाउँमा पुग्ने रहरले घरतिर जाने बाटोमा तगारो हालिरहेछ । महतो सरले देखाएकै बाटोतिर लम्किन्छौँ । कलिलासी नगरपालिकाको हेमपुर पुग्नु छ । नजिकै पुग्न लाग्दा पनि सर्लाहीदेवी वा सर्लाहीमाईको बारेमा सोध्दा बताउन नसक्ने अवस्थाले कहिलेकाहीँ निराशाको बादल मनको आकाशभरि ढाक्दछ । यद्यपि सर्लहियामाईको मन्दिर हेमपुरमा छ भन्ने निश्चित भएपछि उतै हानिन्छौँ । हेमपुर पुगेर सोध्दा अर्को टोलमा भनेछन् एकजना स्थानीयले तर उनले यतिबेला ? भनेर विस्मयभावको प्रश्न झुन्ड्याउँदा अलि शंका भने लाग्छ । अर्को टोलतिर अगाडि बढ्छौँ । देखाएकै बाटो हिँड्दा पनि मन्दिर आउँदैन । सडकको दाँया र बाँया हेर्दैछौ र अगाडि बढ्दैछौँ । अगाडि बढ्दैछौँ कि देब्रेतिर एउटा ठूलो पीपलको रूख देखिन्छ र अलिकति मन्दिरको आकृति पनि । एक हुल साना बच्चाहरु आइरहेका छन् अगाडिबाट । उनीहरूलाई सोध्छौँ । हो, अघि अनुमान गरेकै ठाउँ रहेछ सर्लहियामाई मन्दिर । त्यहाँ पुग्ने बाटो भने रहेनछ । अलिकति फर्किन्छौँ करिब एक सय मिटरजति । बस्तीमा गाडी बाइक सडकतिर साइड लगाएर एकजना किशोरलाई सर्लहियामाईको मन्दिर पु¥याउन आग्रह गर्छु । उनलाई भने अलिकति जोडाइ गर्न जानुपर्ने काम छ । अलिकति बल दिएर आग्रह गर्छु र उनलाई अघि लाएर हामी पछिपछि हिँड्छौँ ।
ती किशोरको नाम सुनील राम हो । सुनील साक्षर छैनन् । उमेरले त अझै पढ्दा पनि हुनेछ तर उतापटिको सोचाइ नै छैन । उनको पुख्र्यौली घर रौतहटकै रमौली हो ।
करिब पाँच मिनटमा हामी पुग्छौँ मन्दिरनेर । ठूलो चौर छ । चौरमा पुग्नासाथ सुनीलले जुत्ता फुकाल्न भन्छ । हामी फुकाल्छौँ मोजा पनि । बेल्ट फुकाल्नुपर्छ कि पर्दैन भनी सोध्छु । पर्दैन भन्छन् सुनील । एउटा कम्पाउन्डमा दुई साना मन्दिर छन् गहबर शैलीका । तीमध्ये एक हो बह्मस्थान र अर्को सर्लहियामाई । पहिले सर्लहियामाई दर्शन गर्दछौँ । लाग्छ गाउँको भगवती मन्दिर हो । लगत्तै दर्शन गर्छौँ ब्रह्मबाबाको । निस्कनुपूर्व सुनील भन्छन् – नजिकै राजदेवी बाबाको मन्दिर छ । राजदेवी बाबा कि राजदेवी माई ? सुनीलले राजदेवी बाबा नै भन्छन् । त्यहाँ पनि पुग्छौँ । एक मिनेटको दुरीमा मात्र छ उत्तरतिर ।
सूर्यले क्षितिजलाई छोएको छ । अब हामीले आजको लागि निर्धारण गरेको सबै गन्तव्य पूरा भएको छ । घरतिर फर्किनलाई हतार छ ।
सर्लहियामाई मन्दिर नेपाल भ्रमण वर्ष २०२० को गन्तव्यमा परेको छ कि छैन ? श्रीकृष्णजीको प्रश्न छ । उत्तरमा अनुत्तर छु । यस वर्षको लागि जिल्ला समन्वय समिति रौतहटको एकजना कार्यकर्ता म पनि हुँ । तर सर्लाहीको यो मन्दिरको विषयमा मलाई थाहा भने छैन कि यो जिल्लाको गन्तव्यमा भए पनि परेको छ कि भनेर ।
आसपासको चौक–चौराहामा पनि सर्लहियामाई मन्दिरको बारेमा धेरैलाई थाहा रहेनछ । एउटा गोरेटोसम्म पनि निर्माण भएको छैन । गहुँबारीभएर हिँड्नुपर्छ, आलीको बाटोसमेत देखिएन ।
किशुनदयाल यादव भन्ने श्रीकृष्ण सरले अघि बिहान सर्लाहीकै कुनै गाउँको सरेहको नाम सर्लाही रहेको कसैले बताएका रहेछन् । यसै गाउँको सरेहसित जोडिएको हो कि अन्त कतै हो, बुझ्न चाहिँ सकिएन । तर सर्लाहीमाई मन्दिरको नाउँबाट जिल्लाको नाम रह्न गएको भनेर सुदामाजीले बताएका थिए । अन्यत्रबाट खासै यस्तो तर्क सुनेको थिइनँ । एकजना शिक्षितबाट यस प्रकारको तर्क सुनेको र झन्डै अघि मलंगवामा पनि यससित सम्बन्धित केही कुरो गरिएको थियो ।
सर्लाही जिल्लाको नामकरण सर्लहियामाईको नामबाट भएको हुनुपर्छ । एकदम बिरानोजस्तो लाग्ने अन्जान ठाउँ लाग्छ सर्लहियामाई मन्दिर । आस्था र श्रद्धाको केन्द्रको रूपमा विकसित भएको देखिन्छ तर पर्यापत प्रचार भने हुन नसकेको देखिन्छ ।
बाइक राखिएको ठाउँसम्म पुग्नुअगावै सुनीललाई पचास रुपैया दिन खोज्छु । लिनै मान्दैनन् । हामीसँग खुद्रा नभएकोले समस्या आएको हो । खाली हातले दर्शन गर्नुहुँदैन भन्दै पाँच रुपैयाको फूलपान चढाइदिनू भन्दै अलिकति बल गरेपछि धेरै अप्ठ्यारो मानेर सुनीलले पैसो थाप्छ ।
हामीलाई असाध्यै ढिलो भइसकेको छ । बाटो फेरि अन्जान छ । अँध्यारोले धरतीलाई स्पर्श गर्न लागेको छ । हामी बाइकमा बसेर हिँड्छौँ । सुगाको एक हुल सर्लहियामाई मन्दिरतिरै गइरहेको छ ।