झन्डै सम्पूर्ण प्रदेश दुईमा आजदेखि निषेधाज्ञामा छ । यो निषेधाज्ञाको कार्यान्वयन जनताको पक्षमा छ । जनताको स्वास्थ्यको पक्षमा छ । अहिले जुन किसिमको परिस्थिति सिर्जना भएको छ, त्यसेले यही खोजेको छ कि सम्भव भएसम्म आफूलाई संयममा राखौँ । आफूलाई नियन्त्रणमा राखौँ ।
अहिलेको निषेधाज्ञा धेरै कडा रहेको छैन । आजीविकालाई प्रभावित पारेको छैन । श्रमलाई रोकेको छैन । आफ्नो गाउँठाउँमा आफ्नो काम गर्न पाइन्छ । याद राख्नुपर्ने मुख्य शर्त के हो भने सकेसम्म समूह कतै नबनाऔँ । समूहमा कुनै काम नगरौँ । धेरै जना मिलेर काम गर्दा कसबाट कसरी कतिखेर कहाँ कोरोना महामारीको भाइरस सर्दछ भन्ने नै निश्चित हुँदैन । यसर्थ सम्भव भएसम्म एक्ले गर्नुपर्ने काम पनि पूर्णतया स्वास्थ्य सतर्कता अपनाएर गरौँ । पूर्णतया सजग भएर गरौँ ।
अहिलेको समय अत्यन्त कठिन छ । यस कठिन समयलाई सबै मिलेर पार लगाउनु छ । आशा राखौँ कठिन समयपछि फेरि सुन्दर समय आउने छ । सुन्दर समय ल्याउनको लागि एक मानिसदेखि अर्को मानिसको सम्पर्क र एक समाजदेखि अर्को समाजको सम्बन्धलाई रोक्न यो निषेधाज्ञाको पूर्ण पालन गर्नुपर्ने अवस्था छ । निषेधाज्ञामा आफ्नो बलको प्रदर्शन नगरौँ, छल गरेर कतै नजाऔँ र आत्मसंयमित बनेर पालना गरौँ । अहिलेको आवश्यकता यही हो कि यो बुझ्नु आवश्यक छ – निषेधाज्ञा हाम्रो लागि हो ।