मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्र आज परेको छ । छोटकरीमा उच्चारण गर्नेले यसलाई इद मात्र पनि भन्ने गरेको पाइन्छ । एक महिना लामो दिनभरिको उपवास सहेर आउने इदलाई पवित्र पर्वको रुपमा लिइन्छ । एक महिनाको रमजान पर्वलाई सबैतिर पवित्र महिनाको रुपमा लिइन्छ । देशमा इस्लाम धर्मावलम्बी पनि पर्याप्त छन् । अझ तराईमा मुस्लिम समुदायको उपस्थिति बढी रहेको छ । प्रदेश दुईका मुख्यमन्त्री नै मुस्लिम समुदायबाट रहेका छन् । पछिल्लो जनगणनाअनुसार संख्यात्मक हिसाबले देशको सबैभन्दा बढी मुस्लिम भएको जिल्ला यसै प्रदेशको रौतहट हो । यस जिल्लाबाट प्रदेश तथा केन्द्र दुवै संसदमा मुस्लिम समुदायका जनप्रतिनिधि पुगेका छन् । रौतहटका विभिन्न स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मुस्लिम समुदायका रहेका छन् । यो देश सांस्कृतिक विविधताको देश हो । बहजातीय, बहुभाषिक तथा बहुधार्मिक देश नेपालमा मुस्लिम समुदाय अल्पसंख्यक भए पनि सम्मानका साथ बसेका छन् । यस देशको विकासमा योगदान दिएका छन् । यसै समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व इद आज देशले मनाउँदै छ । हुन त अहिले कोरोनाको कहर छ । कोरोनाले देश नै आक्रान्त छ । यस घडीमा हरेकले स्वास्थ्य मापदन्डलाई पालन गर्दै आफ्नो सबैभन्दा ठूलो पर्व मनाउने विश्वास छ । यस महान पर्वको सबै मुस्लिम समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।