दिपेन्द्र जयसवाल,बारा जेठ ९
पर्सा र बारा अन्तर्गत पर्ने वीरगंज देखि पथलैया औद्योगिक कोरिडोरका करीब ५० भन्दा बढी उद्योग बन्द भएका छन् । निरन्तर जारी निषेधाज्ञा र अक्सिजन अभावका कारण ५० भन्दा बढी फलामजन्य उद्योग बन्द भएका हुन् ।
रगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले वीरगंज देखि बाराको पथलैया औद्योगिक कोरिडोरमा रहेका जगदम्बा, हुलास, हामा स्टील, नारायणी स्ट्रिप्स, नारायणी रोलिङ मिल, हिमालय आयरनलगायत साना र ठूला गरी ५० भन्दा बढी फलामजन्य उद्योग बन्द अवस्थामा रहेको बताएका छन् ।
उनले कोभिड महामारीको कारण पर्सारबारा र देशभरि मृत्युदर बढ्दै गएकोले उद्योगमा आवश्यक अक्सिजनको आपूर्ति बन्द गरेर अस्पताल तथा आइसोलेशन सेन्टरमा आपूर्ति गर्दा अक्सिजन अभावमा उद्योगहरू बन्द भएको उनले बताएका छन् । उनले फलामजन्य उद्योगका साथै अन्य उद्योग पनि आंशिकरूपमा मात्र चलिरहेको बताउनु भयो ।
अहिले पर्सारबाराका घर घरमा सङ्क्रमित छन्, कोरोनासँग मिल्दोजुल्दो रोगका लक्षणले ग्रसित छन्, मजदूरहरू पनि त्यही समुदायमा पर्ने र उनीहरू पनि रोगको शिकार भएकाले तथा निषेधाज्ञाले बजार बन्द भएको र माग ह्वात्त घटेकाले पनि उद्योगहरू घाटा बेहोरेर सञ्चालन गर्नुको साटो बन्द गरिएको प्रस्ट्याएका छन् । उनले उद्योगको वर्तमान अवस्थालाई ध्यानमा राखेर उद्योग सञ्चालकहरूले बाध्यतावश उत्पादनमा कटौती गर्नुका साथै उद्योगहरू बन्द गर्नुपरेको बताउनु भयो ।
पर्सा, बारा जिल्ला मात्र नभएर देशका ७४ जिल्लाका बजारहरू निषेधाज्ञाको कारण प्रभावित हुन पुगेकाले बजारबाट सामानको माग नभएको र उद्योगले बिक्री बन्द भएको अवस्थामा उत्पादन गरेर सञ्चय पनि नगरेको उनले बताएका छन्
सङ्घका उपाध्यक्ष माधव राजपालले निषेधाज्ञाको कारण बजारमा माग नरहेको र पहिलेको उधारो उठाउन पनि नसकेको कारण लगानी गरेर उद्योग चलाउने मनस्थितिमा उद्योगीहरू नरहेको बताउनु भयो । उनले कोरोना सङ्क्रमण घट्दै जाँदा स्थानीय प्रशासनले निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै जानुपर्ने सुझाव दिएका छन् ।
वीरगंजका उद्योगी सुरेश रूँगटाले खाद्यान्न र औषधि उद्योग निर्बाधरूपमा सञ्चालनमा रहे तापनि अन्य उद्योग जस्तै कपडा उद्योग, धागो, फलाम र सिमेन्ट उद्योग बढी मात्रामा प्रभावित भएको बताउनु भयो ।
औषधि चौबीसैं घण्टा तथा खाद्यान्नको लागि प्रशासनले दिनको ३ घण्टा बजार खोलिरहेको कारण केही मात्रामा भएपनि बिक्री वितरण भइरहेको उनले बताएका छन् । तर अन्य उद्योगको लागि बजार बन्द भएकोले उत्पादनको अर्थ नभएको बताएका छन् ।
जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अनिल रूँगटाले कोरोना महामारीको दोस्रो चरणमा प्रभावित हुने उद्योगका लागि नेपाल सरकारले आगामी वर्षको बजेटमा सुविधा प्रदान गर्नेगरी कार्यक्रम ल्याउनुपर्ने माग गरे । उनले अहिलेको समयमा फलाम, सिमेन्ट, पेन्ट उत्पादन गर्ने उद्योगहरू बढी मारमा परेको बताउनु भयो ।
वीरगंजका धागो व्यवसायी मुर्ली जलानले गत वर्षको लकडाउनले नेपाली धागो व्यवसायीलाई फाइदा भएपनि यसपालि कोरोना देशभरि फैलिएको र निषेधाज्ञाको वातावरण देशभरि रहेकोले आफूहरू पनि समस्यामा परेको उनको भनाई छ । उनले बजारमा उधारो उठाउने समस्याले उद्योगले सङ्घर्ष गरिरहेको बताएका छन् ।
पर्सारबारा क्षेत्रमा ७ सय ठूला र १५ सय साना गरी करीब २२ सय उद्योग रहेका छन् । जसमा खाद्यान्न, औषधि, डन्डी, पाइप, सिमेन्ट, कपडा, धागो, पेन्ट, केमिकल, मसला, गार्मेन्ट, बिस्कुट, चकलेट, मदिरा, चुरोट, जुसलगायत उत्पादन हुने गर्दछ ।
व्यवसायीहरूले कच्चा पदार्थ आयात र बिजुली महसूलमा सरकारले तत्कालै नीति बनाएर सङ्कटकालमा चलिरहेको उद्योगलाई छुट दिनुपर्ने मागसमेत गरेका छन् ।