प्रधानमन्त्री केपि शर्मा ओलीले विहीवार पुनर्गठन र कार्यविभाजन गरेको देशको मन्त्रिपरिषद्मा प्रदेश दुईले स्थान पाएको छ । नेपालको इतिहासमा सम्भवतः अहिलेसम्मकै मन्त्रिपरिषद्लाई हेर्ने हो भने यति धेरै संख्यामा सम्मानका साथ प्रदेश दुईलाई सम्मान दिइएको थिएन । नयाँ मन्त्रिपरिषद्को कार्यविभाजनअनुसार रघुवीर महासेठ र राजेन्द्र महतोले उपप्रधानमन्त्रीको सम्मान पाएका छन् । तीन उपप्रधानमन्त्रीमध्ये दुई यस प्रदेशका हुनु आफैँमा ठूलो सम्मान हो ।
नेपालको संविधानअनुसार बढीमा पच्चीस सदस्यीय मन्त्रिपरिषद् गठन हुने प्रावधान रहेको छ । विहीवार पूर्णता पाएको मन्त्रिपरिषद् पनि पच्चीस सदस्यीय नै भएको छ । अहिलेको संविधानले यसभन्दा बढी संख्यामा मन्त्री बनाउन रोकेको छ । विहीवार पूर्णता पाएको मन्त्रिपरिषद्मा रहेको पच्चीस जनामध्ये प्रदेश दुईका चौध जना रहेका छन् । प्रदेश दुईले इतिहासमा यति धेरै मन्त्री कहिल्यै नपाएको र भविष्यमा पाउने नपाउने निश्चित नहुने भएकोले प्रधानमन्त्री ओलीको नजरमा प्रदेश दुईको महत्व कति धेरै रहेको छ भन्ने कुरो स्पष्ट भएको छ ।
प्रधानमन्त्री ओलीप्रति प्रदेश दुईले के कस्तो दृष्टिकोण राखेको छ भन्ने कुराको लेखाजोखा आगामी निर्वाचनले गर्नेछ तर प्रदेश दुईलाई प्रधानमन्त्रीले दिएको महत्वले यो स्पष्ट भएको छ कि वर्तमान अवस्थामा प्रदेश दुई प्रधानमन्त्रीको लागि निकै महत्वपूर्ण छ । प्रदेश दुईलाई यत्ति धेरै सम्मान दिइनु आफैमा निकै महत्वपूर्ण रहेको छ ।
प्रदेश दुईको सरकारमा जति धेरै मन्त्री छैनन्, त्यत्ति धेरै मन्त्री प्रदेश दुईबाट संघीय सरकारमा हुनु निकै सुखद हो तर यस सुखद अवसरलाई भने विकास र समृद्धिको पक्षमा रुपान्तरण गर्नु आवश्यक छ । यस प्रदेशका मन्त्रीहरू जनताको नजरमा खरो उत्रियून ।