नेपालमा मनसुन प्रवेश गरेको छ । नेपाल कृषि प्रधान देश हो । यहाँको कृषि मुख्य गरी आकाशे पानीमा निर्भर छ । यसकारण मनसुनको निकै ठूलो महत्व हुन्छ । अहिलेसम्म के देखिएको छ भने मनसुनले नेपालमा साथ दियो भने धानबाली राम्रो हुन्छ र वर्षा कम भएर सुख्खा भयो भने धानको उत्पादन कम हुन्छ । धानको उत्पादनको सन्दर्भ मनुसुनसित जोडिएको छ । यसकारण नेपाल कृषि प्रधान देश हुनुले पनि मनसुनको महत्व हुन्छ । यसपटक मौसम विभागले औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताइरहेको छ । विगतमा पनि मौसम विभागले पूर्वानुमान गरेजस्तै लगभग वर्षा भइरहेको छ । अहिले विज्ञान र प्रविधिले निकै विकास गरिसकेको सन्दर्भमा मौसमसम्बन्धी पूर्वानुमान त्यत्ति असहज हुँदैन । साथै गत बीस वर्षको हरेक वर्षको वर्षातको औषत पनि काम लाग्ने हुन्छ । सबै तथ्यहरुको आधारमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको कुरो आइरहँदा मनसुन पनि पूर्वानुमान गरिएको दिनमा नै प्रवेश गरेको छ । मनसुनले किसानको व्यस्तता बढाएको हुन्छ । किसानहरु अब खेतीपातीमा लाग्दछन् । किसानलाई चाहिने अब मल हो । धानको उत्पादनमा मलको ठूलो भूमिका रहेको छ । नेपालीहरुको मुख्य बाली धान रहेको र धानको लागि मनसुन महत्वपूर्ण तथा उत्पादनको लागि मल झन् आवश्यक रहेको हुँदा अबको समयमा नेपाली किसानले सहज र सहुलियत किसिमले मल पाउन सकून् । मलको अभाव नहोओस् र किसानले लगाएको बालीको पनि संरक्षण होओस् । कृषि प्रधान देश भएको सन्दर्भ यहाँ फेरि किन कोट्याउन चाहन्छौँ भने हामीलाई धानले पनि आत्मनिर्भर बनाउनमा सहयोग गर्दछ । सम्भव भएसम्म धानको उत्पादनमा वृद्धि गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले किसानको लागि सहयोगीको भूमिका खेलिदिनु आवश्यक छ । धानमा हामी आत्मनिर्भर बन्न सक्यौँ भने हाम्रो देश समृद्धितर्फ जानेछ । अहिले मनसुन सुरु भएको छ र किसानलाई मनसुनमा हुने सबै समस्यालाई समाधान गरी देशलाई समृद्धितर्फ लैजान सम्बन्धित सबै पक्षको योगदान हुनु जरुरी छ ।
मनसुन सुरु भयो — सम्पादकीय
2 Min Read