उपेन्द्र गोले रौतहट २९ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिकाका एक ब्यक्ति बैकिङ्ग कसुरमा सर्लाहीबाट पक्राउ परेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० निवासी बर्ष ३२ का रमिशन ठाकुरले किर्ते ग्राहक, तमसुक र रसिद खडा गरी झुठ्ठा ग्राहकहरुको नाम थर उल्लेख गरी ऋण प्रवाह गर्ने क्रियाकलाप गरी चुक्ता भई सकेका ६८ जना ग्राहकहरुको नाममा रकम निकालेर बैकिङ्ग कसुर सम्बन्धी हिनामिना गरेको आरोपमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ईन्फिनिटी लघुवित्त संस्था लिमिटेडको कार्यालय मलंगवा सर्लाहीमा तत्कालिन कार्यरत रहेका ठाकुरलाई ग्राहकको नाममा लाखौं रकम ऋणको रुपमा निकाली हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । लघुवित संस्थाको नाउँमा रहेको ४७ लाख ९१ हजार ३९८ रुपैंया ६ पैसा रकम हिनामिना गरी बैकिङ्ग सम्बन्धी कसूर गरेको भन्दै सोही लघुवित संस्थामा कार्यरत शाखा प्रमुख अरुण कुमार यादवले दिएको जाहेरी दरखास्तका आधारमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनु भयो । उच्च अदालत जनकपुरबाट बैकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम म्याद लिएर ठाकुर विरुद्ध अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।