२०६० साल अगाडि घरको बार्दलीमा पानासोनिक रेडियो झुन्डिरहेको हुन्थ्यो । रेडियो नेपालको बिहानको पहिलो धुनसँगै हामी जाग्थ्यौँअन्तिम धुनसँगै हामी निदाउँथ्यौ । रेडियोले गाउँभरि सबैले सुन्ने गरेर समाचार फुक्थ्यो । रेडियोबाट प्रसारण भएको समाचारबारेविस्तृत पढ्न प्रकाशित भएको दोस्रो या तेस्रो दिन अखबार आइपुग्थ्यो । हामी बासी समाचार पढेर ताजा हुन्थ्यौँ ।
रेडियो बिग्रनु अहिले मोबाइल बिग्रनु भन्दापनि बढी चिन्ताजनक हुन्थ्यो । बाले रेडियो खोल्दा म हेरेर छक्क पर्थे । यति सानोघरमा कस्ता कत्रा मान्छे बस्दा हुन् ? कमिलाको कथाका कमिलाको कल्पना गर्थेँ । पक्कै कमिला जस्तै मान्छे होलान् यसभित्र । तीसबै चिनी कमिला जस्तै हुनुपर्छ किनकी सबै मीठो बोल्छन् नि त । त्यतिखेर बाले भन्नुभयो ’लाटी तँ ठूली भएपछि बुझ्छेस् । यहाँभित्रमान्छे बस्दैनन् । मान्छे त टाढा बस्छन् राजाको गाउँमा । त्यहाँ ठूलो अफिस छ । त्यहीँबाट बोल्छन् । ‘ मलाई त्यतिखेरै रेडियो नेपालटाढाको लाग्यो । जसरी चन्द्रमा टाढा भएर पनि समाउने रहर लागिरहन्छ नि त्यसैगरी रेडियो नेपाल पुग्ने र ती रेडियोभित्र बसेकामान्छेहरु हेर्ने रहर भने जागिरह्यो । बाले सुन्नेपनि त्यही रेडियो थियो , हामीले सुन्नेपनि त्यही । उमेर समूह अनुसार हाम्रा छनोट त अलग थिए तर विकल्प थिएन ।सनिबार साढे एक बजेको नाटक र साथीसँग मनका कुराले विशेष बनाइदिन्थ्यो । बाँकी जे छुटोस् यी दुई कार्यक्रम कहिल्यै छुट्दैनथे। त्यसैगरी बाको घटना र बिचार कहिल्यै छुट्दैनथ्यो ।
खाए खा नखाए घिचको वातावरण बदलियो । एफएमहरू प्रशारण हुन थालेपछि सानो एफएम रेडियो घरमा प्रवेश गर्यो । त्यसपछिरेडियो नेपाल बाको मात्र भयो । हाम्रो सानो रेडियोमा एफएम मात्र घन्कन थाल्यो । दशैँको नयाँ कपडा लगाइरहन मन लागे झैँ एफएमबजाइरहन मन लाग्थ्यो । बारीका कान्ला , खरबारीका भित्ता , खेतका आली , बाँसघारी , दुधिलोको रुख , सल्लिबिरल खाँदेको खाङ्ग्रे, मलको डोको एफएम जताततै बज्यो । एफएम आएपछि गाँउका साथी मात्र साथी भएनन् । पत्रका बिटा बोकेर हुलाकी घरसम्म आए। जवाफहरु खामभित्र बन्द गरेर हामी पत्रमन्जुषासम्म पुग्यौँ । चिठी लेख्ने सबै प्रेमी प्रेमिका मात्र हुन्छ्न भन्ने मानक भत्कियो । केटापनि साथी । केटी पनि साथी । त्यतिखेर एफएम औधी प्यारो बन्यो । उसो त आफू संलग्न भएका चिज कसलाई प्यारो लाग्दैन र ? एफएमले हामीलाई समेट्यो ।सिकायो । भावनाहरु साट्ने मौका पायौँ । हाम्रो आवाज सुनाउन पायौँ । एफएम साझा बिसौनी बन्यो । एफएमहरु घन्कन थालेपछिझन हामीलाई रेडियो नेपाल टाढाको लाग्न थाल्यो जसरी अहिले टाढाका लाग्छन ठूला प्रकाशनगृहबाट प्रकाशित हुने साहित्यिक परिशिष्टाकंहरु । मान्छेलाई आफ्ना पहुँचमा हुने कुरा मात्र त नजिकका लाग्ने हो । एफएम नजिकको लाग्नुको कारण लामो समय रहर बनेर बसेको रेडियो स्टेसन पनि हो । हामीले मान्छे कसरी ब्ल्दा रहेछनदेख्यौँ । एफएमको टावरमा पिलिक पिलिक बलिरहने रातो बत्ती हाम्रो आँखा अगाडि हुन्थ्यो । एफएममा घन्किरहने आवाजहरु हामीलेचिनेका आवाज हुन्थे वा अपरिचित भएपनि परिचित हुने अवसर पाउँथ्यौं । हाम्रो गाउँको समाचार , हाम्रा अनुरोधका गीत , हाम्रालेकबेशीका भाका, हाम्रा आफ्नै भावना हाम्रो भाषा सबै कुरा हाम्रो परिवेशको बज्ने भएपछि एफ एम हाम्रो भयो ।
अनि थपियो टेलिभिजन । टेलिभिजनको पहुँचसँगै हाम्रो भाषा , मेष भुषा सबै परिवर्तन भयो । कसौटी जिन्दगीकी प्रेरणाकोजस्तो सारी , मिस्टर बजाजको जस्तो कोट अनि भाषामा फाट्टफुट्ट मिसिएर आउने हिन्दी शब्द हामी नेपालमा बसेर हिन्दीमा सोच्ने भयौँ। भोली के होला मनमनै हिन्दीमै कल्पने भयौँ । मैले सिकेको हिन्दी टेलिसिरियलको उपज हो । मेरा छोराछोरीले सिकेको हिन्दीमोटुपत्लुको उपज हो ।
एसएमएस र कल गर्न मात्र मिल्ने नोकियाको टुकटुके मोबाइलबाट सुरु भएको मोबाइल यात्रा आज सबथोक बनेको छ ।मोबाइलमा नभएको केही छैन । नभेटिने केही छैन । विशेषगरी हामी एउटा पुस्ता यस्तो छौँ जो नयाँ कोर्स पढ्न पाउने विद्यार्थी जस्तै भयौँ। कक्षा ६ मा पुग्दा नयाँ कोर्स पढ्ने विद्यार्थीले १० कक्षा सम्म पुग्दा प्रत्येक वर्ष नयाँ कोर्स पढ़न पाउँछ र प्रविधिको पहुँचमा हाम्रोअवस्था त्यही छ ।
सञ्जालमा जे नयाँ आएको छ हामीले त्यसको भरपुर प्रयोग गरेका छौँ । उहिले अखबार पढ्दा समाचारदेखि लिएर विचार विमर्श, खेलकुद , कलाकारिता र वर्गिकृत विज्ञापन पनि पढ्यौँ । टेलिभिजन आउँदा त्यसै गर्यौँ । अहिले हातमा स्मार्ट फोन छ हामी सबैचिजबारे त्यसरी नै जानकारी बटुल्छौँ जसरी अखबार पढ्थ्यौँ ।
पछिल्लो डेढ दशकमा सूचना प्रविधिमा हामी नेपालीको पहुँच विकसित मुलुककै हाराहारीमा पुगेको छ । चिठीपत्रहरु पनिलेखिन्थ्यो है ! हामी आफैलाई अनौठो लाग्छ । सूचना प्रविधिको तीव्र विकासले देशको विकट भौगोलिक दूरी कम हुनाका साथै छिटो–छरितो रूपमा सूचना आदानप्रदान गर्नलसकेका छौँ । देशको ग्रामीण भेगमा पनि आधुनिक सूचना प्रविधिको प्रयोग र इन्टरनेटकोविस्तारले सबैलाई समेटिसकेको छ ।
कलादेखि लिएर औषधी उपचारसम्मका सबै जानकारी हाम्रो सहज पहुँचमा छन् । केही आएन ? गुगल गरौँ न । हामीलेजानकारी हाम्रै हातभित्र लिएर बसेका छौँ । कुन विषयमा के जानकारी लिने युट्युवमा सर्च गरे पुग्छ । अनलाइन समाचार पढ्न पाएका छौँ । घरमै बसेर विश्वबारे ज्ञान बटुल्न पाएका छौं । कुरा गर्न मेसेन्जर, भाइवर, व्हाटस अप छ । बहस सुन्न स्पेस छ । क्लबहाउस छ ।प्राइम भिडियो नेट्फ्लिक्स मा फिल्म , सेरिज छानीछानी हेर्न पाएका छौं । जे मन लाग्छ खेल खेल्न पाएका छौँ । बालबालिकादेखिबृद्धबृद्धासम्म सामाजिक सन्जालको प्रयोग सबैले गरेका छौँ ।
सुचना र प्रविधिमय भएको यो समय झट्ट हेर्दा रमाइलो त देखिएको छ तर सोच्नुपर्ने कुरा हाम्रो दैनिकी कतातिर ढल्किरहेकोछ ? मलाई त पटक पटक यत्तिकै अलमलिरहेको भान भएको छ । फेसबुक खोल्यो फेसबुकमै समय व्यतित हुन्छ । टिकटक हेर्योटिकटकमा बित्छ । ट्विटर , युट्युव ,क्लबहाउस हामी जता छिर्छौँ थाहै नपाइ त्यतै हराउँछौँ । तर यो हराइको उपादायता के त ? कतैहाम्रो सृजनशिल समय फेसबुकका भित्तामा शुभकामना र श्रदाञ्जली लेख्दालेख्दै घाईते भएको त छैन ?
अझ समाचारहरु त्यसैगरी आइदिन्छन् । के आधिकारिक के अनाधिकारिक केही थाहा हुँदैन । हामी पनि सबै विषयको अधकल्चो ज्ञानले प्रतिकृयामुखी मात्र पो भैयो कि जस्तो लाग्न थालेको छ । हाम्रो रुचि र आवश्यकता भन्दा परपर कुद्न थाल्यौँ किजस्तो लाग्न थालेको छ ।
सोचौँ । मोबाइलको बढी प्रयोगले हाम्रो बौद्धिकतालाई खुम्चाएको पो छ कि त ! हाम्रो सृजनशिलता हाम्रो कल्पना शक्तिकमजोर बनाइरहेको पो छ कि त ! कतै हामी हाम्रा बालबालिकाहरु उपकरण बन्ने पथमा पो छौँ कि ! सोचौँ र समयमै उचितव्यवस्थापन गरौँ ।