पृथ्वीनारायण शाहको जन्म गोरखाका राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीको कोखबाट वि.सं. १७७९ पुस २७ विहीवार (सन् १७२२) भएको थियो (पृथ्वीनारायण शाह, विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट) । उनको पहिलो विवाह मकवानपुरका राज हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसित वि.सं. १७९४ मा भएको थियो । विवाहको समय वरको उमेर १५ र दुलहीको उमेर १३ वर्ष रहेको देखिन आउँछ । वैवाहिक सम्बन्धमा जोडिए पनि दुई राज्यबीच सुमधुर सम्बन्ध रहेको पाइन्न । वि.सं. १८१९ को भदौ महिनामा वंशराज पाँडे र केहरसिंहले संगठन गरेको सैनिकका साथै महोद्दामकीर्ति शा, दलमर्दन शा, शूरप्रताप शाह, नन्दु शा, दलजित शाहहरूका साथ पठाइएको ठूलो संख्यामा मकवानपुरमा आक्रमण गरेका थिए । करिब दश घन्टासम्म लडाइ चलेको थियो र मकवानपुरको पराजय भई मकवानपुर राज्य गोरखामा मिसिन पुगेको थियो । जब मकवानपुर राज्य गोरखा राज्यमा विलय हुन गयो तब मकवानपुर राज्यअन्तर्गतका सम्पूर्ण भूभाग स्वतः गोरखा राज्यअन्तर्गत हुन गयो ।
मकवानपुर राज्यको सीमा दक्षिणमा कहाँसम्म थियो भनेर तोकेर स्पष्ट लेखिएको पाइँदैन । यद्यपि चुरे पहाडभन्दा दक्षिणपट्टि (तलहट्टी) को क्षेत्र मकवानपुर राज्यअन्तर्गत थियो भन्ने कुरा धेरै तथ्यहरूले स्पष्ट बोलेका छन् । राजेश विद्रोहीले २०७८ वैशाख १० अन्नपूर्णपोस्ट दैनिकमा लेख्छन् ः “ … इ.स. १५१३ देखि १७६२ को अवधिमा पाल्पादेखि मोरङसम्म सेन राज्य विस्तार भएको थियो ।”
सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण शाहको सन्दर्भमा लेखेका छन् ः “सोह्रौं शताब्दीमा मकवानपुर राज्य खडा भएको देखिन्छ । पाल्पाली राज मुकुन्द सेनका प्रथम छोरा लोहाङ्ग सेन मकवानपुरका राजा भए । त्यस राज्यअन्तर्गत पर्सा, बारा, रौतहट र सर्लाही आदि भूभागहरू समावेश थिए ।”
खगेन्द्र निरौलाले नेपाल परिचय नामक पुस्तक (पृष्ठ २÷३) मा लेखेका छन् ः “इ. सम्वत १५१३ तिर खडा गरिएको सेन राज्य, जसको सीमा दक्षिणपूर्वमा दुधकोशीसम्म फैलिएको थियो, पनि पछि बुटबल, पाल्पा, तनहुँ र मकवानपुरमा टुक्रिया । पछि मकवानपुर पनि टुक्रिएर पूर्वमा विजयपुर र चौदन्डी (उदयपुर) राज्य बने ।
डा. सूर्यमणि अधिकारीले नेपाली भाषाको इतिहास (पृष्ठ ६३÷६४) मा डा. सूर्यमणि अधिकारी, तनहूँ राज्यको इतिहासको स्रोतको हवाला दिँदै यसरी उल्लेख गरेका छन् ः “ मुकुन्द सेन (प्रथम) को पूर्वी नेपाल अभियान उनी पहाडखण्डको एकमात्र हिन्दू बादशाह बन्ने आकांक्षाअनुरुप सञ्चालन गरिएको परिलक्षित हुन्छ । यस उद्देश्यले पठाइएको सैन्यदल लोहाङ्गसेनको नेतृत्वमा बुटबलबाट प्रस्थान गरी नारायणी नदी तरेर चितवन, पर्सा, बारा, रौतहट हुँदै महोत्तरीमा पुगेर त्यहाँका शासक मोहन ठाकुरलाई पराजित गर्न सफल भयो । कोशी क्षेत्रका ससाना रियासतलाई हात पारी कोशी तरेर विजयपुरसमेत अधिकार गरियो । विजयपुर विजयपछि पाल्पा राज्यले पश्चिममा गुल्मी, अर्घाखाँचीदेखि लिएर पूर्वमा कनकाईसम्म महाभारत पर्वतमालाको पाश्र्वमा एक विशाल राज्यको रुप लियो ।”
यसै गरी देवीप्रसाद शर्माले आधुनिक नेपालको इतिहासमा मकवानुर राज्यमाथि गोरखाको विजय सन्दर्भमा लेख्छन् ः “मकवानपुरअन्तर्गतको समथर उर्वराभूमि –पर्सा, बारा, रौतहट, सर्लाही आदि) गोरखालाई प्राप्त भई सिमाना भारतसँग जोडिन गएकोले कम्पनी सरकारको गतिविधि अध्ययन गर्न साह्रै सजिलो पर्न गयो ।”
विभिन्न कथ्य र तथ्यबाट मकवानपुर राज्यअन्तर्गत चुरे पहाडभन्दा तलको भूभाग रहेको स्पष्ट हुन्छ तर कुन रूपमा रहेको थियो भन्ने स्पष्ट हुन सकेको देखिँदैन । पृथ्वीनारायण शाहले मकवानपुर विजय गरेपछि यस विषयमा चासो राखेका थिए ।
मकवानपुर गोरखाको अधिनमा आएपछि मकवानपुरअन्तर्गता भूभाग स्वतः गोरखाको हुन गयो । सिन्धुलीगढीको लडाइँमा पराजित भएर भागेका किनलकले पर्सा, बारा र रौतहटमा आफ्नो नियन्त्रण कायम गरी कर संकलन गर्न थालेका थिए । काठमाडौँ उपत्यका विजयपछि पृथ्वीनारायण शाहको ध्यान उक्त समस्या समाधान गर्नेतर्फ गयो । किनलकले उक्त भूभागमा वार्षिक २४ हजारजति मालपोत उठाउने गरेको उल्लेख पाइन्छ ।
समस्या समाधानका निम्ति पृथ्वीनारायण शाहले जनवरी १७७१ मा आफ्ना दूत बनाई सुब्बा दिनानाथ उपाध्यायलाई दरभंगास्थित अंग्रेज अफिसर मेजर केलीकहाँ पठाए । दिनानाथ मकवानपुरका राजा हेमकर्ण सेनका कारिन्दा थिए । त्यसकारण उनलाई मकवानपुर र कम्पनी सरकार वा भारतीय राज्यहरूसँगको सम्बन्धको गहिरो ज्ञान थियो । पुराना कागजपत्र केलाउँदा मकवानपुरका राजाले भारतका मुगलसम्राट औरंगजेबको समयदेखि वार्षिक एउटा ठूलो हात्ती दिल्लीका बादशाहलाई बुझाउने गरेको देखिन आयो । उक्त हात्ती लामो हातको १४ हातको हुनुपथ्र्यो भन्ने उल्लेख पाइन्छ । मुर्सिदावादका नबाब ठालु बनेपछि बादशाहका सट्टामा नबाबका पटनामा रहने अफिसरहरूलाई साढे १२ हातको हात्ती बुझाउने गरेको रहेछ ।
दिनानाथमार्फत पृथ्वीनारायण शाहले पटना कौन्सिलका हाकिमलाई पठाएको पत्रको एक अंश पनि देवीप्रसाद शर्माको पुस्तकमा प्रस्तुत गरिएको छ । पुस्तकका अनुसार पत्रको अंश यस्तो रहेको छ ः“पर्सादेखि महुत्तरीसम्मको तलहट्टी मकवानपुरका राजाहरूको अधिनस्थ प्रदेश थियो । अब मकवानपुरका ठकुराइमाथि मेरो अधिकार कायम भएको हुनाले उक्त प्रदेशहरू पनि मेरा अधिकारभित्रका प्रदेश हुन आएका छन्, मकवानपुरका राजाहरूले तिरेसरहको मालवाजवी म पनि तिर्न तयार छ, ती प्रदेशहरूमा मेरो अधिकार कायम रहोस् ।”
पटना काउन्सिलका हाकिमले पुराना श्रेस्ता जाँचबुझ गरी वार्षिक ठूलो हातको १४ हातको हात्ती र विगत पाँच वर्षको बक्यौता रकम १५ हजारको माग गरे । दिनानाथले पनि माग स्वीकार गर्दै १७६६देखि १७७० इ.सम्मका हात्तीको बक्यौता रहमसमे बुझाउने कबुलियत गरिदिए । अप्रिल १७७१ मा किनल आफ्नो दलबलसहित पर्सा छाडी भारततिर लागे । कबुलियतबमोजिम दिनानाथले १५ हजार नगद इस्ट इन्डिया कम्पनीका सिभिल अफिसर हार्डीलाई बुझाई मकवानपुरतर्फ फिर्ता भए । पर्सा, बारा, रौतहटमा गोरखाको नियन्त्रण कायम भयो । नेपालको इस्ट इन्डिया कम्पनी सरकारसँगको सम्बन्धमा केही सुधार भयो भनी देवीप्रसाद शर्माको पुस्तक (पृष्ठ ९१÷९२) मा उल्लेख गरिएको छ ।
गोरखाको नियन्त्रण कायम भएको भए पनि द्वैध शासनको सम्बन्धमा स्पष्ट रहेको देखिँदैन । पाँच वर्षको बक्यौता तिरिएको भनिएको तर यसपछि तिर्न पर्ने वा नपर्ने भन्ने सन्दर्भमा केही पनि उल्लेख भएको पाइँदैन । केही वर्षपछि पृथ्वीनारायण शाहको देहान्त १ माघ १८३१ (सन् १७७४) नुवाकोटको देवीघाटमा हुन गयो । पृथ्वीनारायण शाह केवल ५२ वर्षका थिए ।
कालान्तरमा नेपाल–अंग्रेज युद्धका कारणहरूमा जुन सीमाको मुख्य समस्या अंग्रेजहरूको पक्षबाट देखाइएको थियो, त्यो बुटबल–स्युराजसँगसँगै रौतहटका पनि बाइस मौजा (सम्भवतः गाउँ) रहेको बताइएको थियो । यसबाट यो संकेत पाइन्छ कि दिनानाथ उपाध्यायले तिर्नुपर्ने बाँकी बक्यौता तिरेको र बर्सेनी तिर्नुपर्ने वा नपर्ने विषयमा कुनै ठोस सहमति हुन सकेको थिएन । सन् १७७० सम्मको हात्तीको बक्यौता रकम तिरिएको र अप्रिल १७७१ मा किनलकको टोली फर्किएको कुराले पनि सम्भवतः यही कुरातर्फ संकेत गर्दछ ।
एक ठाउँमा यसरी लेखिएको भेटिएको छ ः “बेतियाअन्तर्गत पर्सा–बारा, शिवहरपरसोनी राजाअन्तर्गत रौतहट–सर्लाही, दरभङ्गा राज्यअन्तर्गत महोत्तरी–सप्तरी थियो ।” सम्भवतः यो समस्या लामै समयसम्म रहेको थियो र नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिले सिमाना निर्धारण गरेपछि यस क्षेत्रको समस्या स्थायी रूपमा समाधान भएको थियो ।