समग्र मानवहितको प्रतिकूल हुने गरी परापूर्व कालदेखि प्रकृतिप्रदत्त घटनाहरू जो हाम्रासामु घट्दै आएका छन् ती सबै प्राकृतिक विपद् हुन् भन्ने कुरामा कसैको द्विविधा नहोला । यस्ता प्राकृतिक विपद् समय परिस्थिति र भूगोलअनुसार फरक–फरक हुन्छन् । जस्तो समुन्द्री छाल वा सुनामी, समुन्द्री सतह वृद्धिले पार्ने असरबाट नेपाल सुरक्षित छ भने भू–कम्प, ज्वालामुखी, बाढी–पहिरो, भू–क्षय, हिमपहिरो, हिमताल फुट्नु, चट्याङ्ग, आँधी–हुरी, तुफान, भुमरी, खडेरी, तापक्रम वृद्धिजस्ता विपद्हरू विश्वका कुनै पनि देशले भोगिरहेका छन् । यी माथि उल्लेखित प्राकृतिक विपद्भन्दा कम खतरनाक छैनन् मानव निर्मित विपद्हरू । जस्तै उदाहरणका लागि भरखरै एउटा भाइरसले चरण–चरणमा विश्व हल्लाइरहेको दर्दनाक अवस्थाबाट विस्तारै अवतरण गर्दैछौँ हामी । भलै यहाँनेर भने प्राकृतिक विपद्का बारेमा चर्चा गर्न खोजिएको छ । धर्मशास्त्रमा धेरै ब्रह््माण्डहरुको उल्लेख गरेको पाइए तापनि यहाँ हामीले बुझेको ब्रह्माण्डलाई आधार मानेर घट्नाक्रमको शृङ्खला तयार गर्ने प्रयास गरिएको छ । अझ सूक्ष्म रुपमाभन्दा हाम्रै देशमा घटेका घटनाहरुलाई जोड्न खोजिएको छ । त्यस्ता घटना, प्रतिघटना वा क्रियाकलापहरू चाहे ती प्रकृतिप्रदत्त होऊन् वा मानव निर्मित नै किन नहोऊन्, सबैको आ–आफ्नै सीमा छ, विधि छ र प्रणाली पनि छ । मान्छे वा शासन व्यवस्था कस्तो भइसक्यो भने खोला–नाला सुकेर के भो त पुल हाल्नु पर्दैन, जग्गा जमिन किनबेच गर्न पाइन्छ । वनजङ्गल विनाश भएर के भो त त्यस ठाउँमा विकास निर्माणका काम हुन्छन् । अक्सिजनका लागि सिलिण्डर छन् । तापक्रम वृद्धि भए के भो त कुलर छन् । बाढी–पहिरो आए के भो त बाँध, पर्खाल र प्रविधि छन् । जब प्रत्यक्ष प्रभाव पर्छ अनि पश्चाताप लाग्छ । जति पनि विकास निर्माणका कार्यहरू भएका छन् ती सबै प्रकृतिकै आधारमा सम्पन्न भएका छन् भन्ने मूल नारा नै छायाँमा पर्न गयो । प्रकृतिको समन्वयबिनाको विकास क्षणिक हो र यो विनाशकाले विपरीत बुद्धि भने जस्तै हो । हामी स्वार्थमा चर्लुम्मै डुब्यौँ । क्षणिक स्वार्थले कस्तो दीर्घगामी असर पार्छ भन्ने कुरा निक्र्यौल गर्न नसक्नु नै हाम्रो कमजोरी भयो जसको असरबाट हामी पीडित भइसकेका छौँ । नेपालको सन्दर्भमा कुरा गर्दा अहिले वर्षायाम सुरु भइसकेको छ । सुरुमै हामीले बाढी–पहिरोको मार खेपिसक्यौँ । लाखौँ करोडौको सम्पति बिनास भयो । दर्जनौँ वेपत्ता र त्यतिकै संख्यामा मृत्यु पनि भइसक्यो । प्रभावित क्षेत्रमा बसोवास गर्ने थुप्रै विस्थापित भइसकेका छन् । जीवन दर्दनाक र पीडादायी बनेको छ । बाँचेका पनि मरेर बाँचिरहेका छन् । यो त सुरुवाती चरण हो । वर्षाको समय अझ बाँकी छ । विशेष गरी बाढी र पहिरोबाट पहाड, हिमशृङ्खला पग्लनु वा फुट्नुबाट हिमाल र समग्रमा डुबानबाट सिङ्गो तराईले वर्षेनी यो समस्या झेलिरहनु परेको छ । यो गम्भीर विषय हो । एउटा सबैले बिर्सन नहुने पक्ष के हो भने हरेक असरमा कारण लुकेको हुन्छ । दूर्भाग्य हामी त्यही लुकेको कारण देख्दैनौँ र प्रायश्चित गर्नुको विकल्प हुदैन । बाढी–पहिरो प्रकृतिप्रदत्त घटना त हो तर यसमा हाम्रो प्रत्यक्ष वा परोक्ष संलग्नता छ कि छैन भन्ने पक्ष अति महत्वपूर्ण छ । जुन ठाउँमा घना जङ्गल छ त्यस ठाउँमा वर्षातको पानी बोटबिरुवा, झारपात, पातपतिङ्गरले खपत गर्नुको साथै खाल्डाखुल्डी र दरार आदिबाट सोसिएर जमिनमुनि जाने हुनाले पानीको बहाव कम भई बाढी–पहिरोको सम्भावना टर्दै जान्छ । यसैको कारण हो हामीसँग भएका मूल, झरना र कुनै पनि पानीका स्रोत बा¥है महिना नसुक्नु । साथै हरियाली, जैविक विविधता र अक्सिजनलगायत थुप्रै दैनिक उपभोग्य साधन स्रोतको पूर्ति हुनु र पर्यावरणीय संरक्षणमा टेवा पुग्नुमा पनि वनजङ्गलको शीर्ष भूमिका छ । विडम्वना ! बढ्दो जनसंख्या, वनविनाश, फितलो नीति नियम र कार्यान्वयन पक्ष, दीगो विकासका सिद्धान्तको अवहेलना, स्वार्थी र अर्थमुखी सोँच, विकासका नाममा खन्याइएको स्थानीय बजेट, शक्ति र पहुँचको दबदबाजस्ता विविध पक्षले गर्दा प्राकृतिक विपद्को भाइरस केही हदसम्म हामी पनि हौँ कि भन्न सकिन्छ । बाढी–पहिरो मात्र समस्या हैन अरु थुप्रै छन् यस्ता घटनाहरू जसमा हामी पनि सम्मिलित छौँ । यस्तो अवस्थामा ईश्वर र प्रकृतिलाई मात्र दोषारोपण गर्नु हाम्रो मूर्खताको पराकाष्ठा हो । हरेकको आ–आफ्नै बहन क्षमता र सीमा छ । क्षमताभन्दा बाहिर जानुको मतलब लक्षण देखाउनु हो र त्यसको तुरुन्तै उपचार नहुनु भनेको मृत्यु हुनु हो । यो ध्रुवसत्य कुरा हो । अहिले नेपालमा त्यही भइरहेको छ । यस्ता लक्षणको समयमै उपचार नभएमा भविष्यमा आफ्नो पालो कुर्नुको विकल्प छैन । अर्को कुरा कुनै पनि विपद् वा घटनामा प्रत्यक्ष संलग्न भएर मानवीयता देखाई सहयोग गर्नुको सट्टा रमिते बनेर क्लिक गरी पोष्ट गरेर अरुलाई थप पीडा दिनेहरूको लर्को जो छ त्यो पनि अहिलेको टड्कारो अप्रासाङ्गिक समस्या हो । विभिन्न खालका प्राकृतिक विपद्बाट नागरिकको जीउ धनको सुरक्षा दिलाउने जिम्मेवारी राज्यको हो । यसलाई राज्यले निर्माण गर्ने नीति, नियम र कार्यान्वयन पक्ष के कस्ता छन् भन्ने कुराले प्रत्यक्ष प्रभाव पार्छन । प्राकृतिक प्रकोपहरू सधै एकैनासका हुन्छन भन्ने पनि छैन । भरखरै विनाशकारी साबित मेलम्चीको बाढी फरक खालको भएको कुरा राष्ट्रिय विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ठह¥याएको छ । यसको कारणको अध्ययनको लागि एक समिति बनेको छ । सर्वप्रथम यस्ता प्राकृतिक विपद्लाई न्यूनीकरण गर्नका लागि राज्यभित्र भएका विकासका गतिविधि के कसरी भइरहेका छन् सोको अध्ययन अनुसन्धान तथा समय सान्दर्भिक निरीक्षण र सल्लाह सुझाव अपरिहार्य छ । बाटो–घाटो, नहर, तटबाँध, भवन, पुल–पुलेसालगायत जोखिमयुक्त पूर्वाधारहरुको अवस्था निरीक्षण र आवश्यकताअनुसार पुनर्निर्माण गर्नु पनि उत्तिकै जरुरी छ । आगामी विकास निर्माणका योजना कार्यान्वयन गराउँदा देशको वास्तविक अवस्था, आवश्यकता र भू–बनोटको अत्यन्तै गहन रुपबाट अध्ययन गरेर मात्र अगाडि बढ्नु पर्ने अवस्था छ । सुनिन्छ कतिपय अवस्थामा त स्थानीय निकायको प्रेसरमा पनि यस्ता कार्य हुने गरेका छन् । अहिलेको बाढी–पहिरोको एउटा प्रमुख कारण २०७२ सालको भू–कम्पले थङ्थिलो पारेको जमिनमा गहन अध्ययनबिनै कमजोर इन्जिनियरिङ्गका साथ हतार–हतारमा खनिएका बाटा–घाटा र सम्बन्धित विकास निर्माणका कामहरू हुन् भन्ने कुरा विज्ञहरुले पनि स्वीकारेका छन् । अर्को महत्वपूर्ण कुरा भनेको जोखिमयुक्त भू–भागमा बसोबास गरेका बासिन्दाहरुलाई सचेत गराउनु पनि हो । यसका साथै मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले त्यसको सम्भावित खतराको संकेत प्राप्त हुँदा वित्तिकै बिलम्ब नगरी सम्वन्धित पक्षलाई जानकारी गराउँदा पनि केही हदसम्म धनजनको साथै समग्र पर्यावरण नै जोगिन जोगाउन सक्ने देखिन्छ । अन्तमा प्रकृति नै सर्वेसर्वा हो र उसको ईच्छा नै अन्तिम हो किनभने यसको उत्पत्ति, उपयोग, संरक्षण र बिनाश पनि उसकै हातको सफाइ हो । अन्तमा सन्तुलनको जिम्मा पनि उसैले लिन्छ । तर यति भन्दै गर्दा यसको भागिदार हामी हौँ कि होइनौँ भन्ने प्रश्न गम्भीर छ । हामी पनि यसको भागीदार पक्कै हौँ । विडम्बना ! निःशुल्क प्राप्त यी असीमित साधन र स्रोतहरुमा हामीले लोभ र स्वार्थ राख्यौँ जसले गर्दा वर्षेनी यी र यस्ता अनेकौ अनपेक्षित विपद्हरुको सामना हामीले मात्र होइन सिङ्गो विश्व मानव समुदायले गरिरहेको छ । चेतना भया ।