अँध्यारो युगमा सामाजिक चेतनाको दियो बाल्ने अभियन्तामध्ये रौतहटमा अग्रणी नाउँ दुलम अधिकारीको आउँछ । अधिकारीको वास्तविक नाउँ दुलम राय यादव हो तर मध्य रौतहटमा दुलम अधिकारीको नाउँले नै उनी परिचित छन् । मध्य रौतहटमा कुनै पनि विद्यालय नभएको अवस्थामा धरहरीमा जय किसान स्कुल स्थापना गरी यस क्षेत्रलाई शिक्षाको उज्यालो मार्गमा डो¥याउने कार्यमा जीवन र सम्पत्ति समर्पण गरेका दुलम अधिकारीको जन्म वि. सं. १९६२ मा रौतहट जिल्लाको धरहरी गाउँ विकास समिति वार्ड नं. ३ मा भएको थियो । अधिकारीको पिताको नाउँ चेथरु राय यादव थियो ।
साधारण कृषक परिवारमा जन्मेका दुलम अधिकारीको बाल्यकाल धरहरीमा सामान्यरूपले बितेको पाइन्छ । उनले भारतको पटनाबाट कक्षा सातसम्मको औपचारिक अध्ययन गरेका थिए । दुई दाजुभाइमा कान्छो दुलम घरमा सबैका प्यारा थिए, यसैले उनले पढ्ने अवसर प्राप्त गरे । त्यो जमानामा कक्षा सातसम्मको पढाइलाई चानचुने नमान्दा हुन्छ ग्रामीण क्षेत्रको लागि । अधिकारीले चाहेका भए यति पढाइबाट नोकरी अवश्य पाउँथे तर उनको रुचि समाजसेवामा थियो । त्यत्तिबेला विद्यालय थिएन, यसैले उनले गाउँमा नै विद्यालय खोल्ने प्रण गरे ।
गाउँमा विद्यालय खोल्ने प्रेरणा उनले घरबाटै प्राप्त गरेका थिए । बुबा चेथरु राय यादवले गाउँमा विद्यालय खोल्ने प्रयास पहिलै नगरेका होइनन् तर राणाकालीन कालो रात्रीमा शिक्षण संस्था खोल्नुजस्तो उज्यालो कार्यको सोचाइमात्र पनि अपराध ठहरिन सक्थ्यो । सफलतामै पुग्न नसकेको भए पनि चेथरु राय यादवले धरहरीमा वि. सं. १९९०तिर धरहरीमा विद्यालय संचालन गर्ने प्रयास गरेका थिए । केही विद्यार्थी बटुलेर केही समय विद्यालय संचालनको अभ्यास गरेका थिए तर एक्लो वृहस्पति पनि झूठो भने झैँ कतैबाट सकारात्मक सहयोग नहुँदा उनी सफल हुन सकेनन् ।
भनिन्छ हरेक असफलताले सफलताको गोरेटो कोरेको हुन्छ । जेहन हर ओहन ठेंठा आ जेहन बाप तेहन बेटा भनेझैँ बुबाले बनाएको गोरेटोलाई अझ फराकिलो बनाउँदै बुवाको सपनालाई साकार पार्ने काममा दुलम अधिकारी दिलोज्यानले जुटे । हृदयदेखि गरेको काम कहाँ असफल हुन्छ र ! उनी मातृभाषा बज्जिकाबाहेक हिन्दी र अंग्रेजी भाषाका जानकार थिए । नेपाली भाषाको पनि सामान्य जानकारी थियो । यसैले उनलाई कुनै अड्डा जान वा कर्मचारीसित बोल्न अरु कसैको सहारा लिनु पर्दैनथ्यो । साँच काममे आँच कथिके भनेझैँ उनी आफ्नो तर्कलाई खुलस्तसित राख्दथे । स्वभावमा पनि अलि हक्की भएको कारणले उनले गरेको प्रणलाई उनले निकै दुःख कष्ट गरेर भए पनि आखिरमा पूरा गरेरै छाडे ।
केही वर्ष त्यत्तिकै बालबालिकालाई बटुलेर दुलम अधिकारी आफैँले पढाउने कार्य गरे । उनले अड्डा धाउनेदेखि लिएर विद्यार्थी खोज्ने कार्यसमेत गरिरहे । विद्यालयको प्रारूप स्थापना भएपछि पूर्वाधार र व्यवस्थापनको ठूलो अभाव महसुस भयो । अधिकारीले सबैभन्दा पहिले आफ्नो जग्गा नै विद्यालयलाई दिए । ठूलो आकारको परिवारलाई पालनपोषणको आधारको रूपमा रहेको आफ्नो पन्ध्र कट्ठाजग्गामध्ये एघार कट्ठामा विद्यालय चल्न सक्ने हाकिमहरुले बताएपछि आवश्यकताबमोजिमको जग्गा विद्यालयलाई निःशुल्क दिए । वि.सं.२००६ मा धरहरीमा जय किसान स्कुलको स्थापना उनले आफ्नो जग्गामा गराएर विद्यालय स्थापनाको आफ्नो प्रण र बुबाको इच्छालाई एकसाथ साकार पारे ।
कुनै संस्थालाई जन्माउनुभन्दा कठिन त्यसलाई हुर्काउन हुँदोरहेछ । भर्खर स्थापना भएको विद्यालयलाई सबल बनाउनु, पढ्ने विद्यार्थीलाई जुटाउनु र विद्यालय संचालन गर्न आर्थिक स्रोत जुटाउनुजस्तो गम्भीर कार्यमा उनी दिनरात खटिइराखे । गाउँगाउँ डुलेर चामल, बाँस, पैसा र विद्यार्थी जुटाउने अभियानमा उनी निरन्तर लागिइरहे । विद्यालय भवन बनाउनदेखि लिएर विद्यार्थीलाई छात्रावासमा राखेर पढाउन र छात्रावासमा पढ्न बसेका विद्यार्थीलाई चार बजे नै पढ्नको लागि उठाउने कार्यसमेत उनले गरे । जो विद्यार्थी एक दिन पढ्न जाँदैनथे, उसको घरैसम्म पुगेर पढ्न नगएको कारणबारे सोध्थे । कोही साह्रै गरिब परिवारको भएको अवस्थामा उनी भन्थे “चल, तोहरा खिअबऊ, पढबऊ आ उँहमे रखबऊ ।” उनको यही लगनशीलता, दयालु भावना र शिक्षाप्रतिको अनन्त मोहले उनलाई साधारणबाट विशिष्ट मानिस बनाउँदै लग्यो । विद्यालयको साँचो अभिभावकको नाताले विद्यालय, विद्यार्थी र शिक्षकको समस्यालाई आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्या ठानेर तत्कालीन र दीर्घकालीन समाधान खोज्ने उनको बानी थियो । यसैले विद्यालयको स्थायी आर्थिक स्रोतको लागि आफ्नो घरनजिकै रहेको करिब १३ कट्ठा क्षेत्रफलको निजी पोखरीलाई समेत विद्यालयको नाउँमा गरिदिए । यस पोखरीले अहिलेसम्म विद्यालयलाई आर्थिक टेवा पु¥याइरहेको छ ।
चन्दा उठाएर विद्यालय चलाइरहेका दुलम अधिकारीले विद्यालयमा पढ्ने विद्यार्थीको अर्को गम्भीर समस्यालाई किनारा गर्ने प्रयास गरे । साँझ र बिहान विद्यार्थीलाई शौचालयको समस्या थियो । त्यत्तिखेर अहिलेको जस्तो शौचालय बनाउने चलन थिएन । विद्यालयको नजिकै पूर्वतिर रहेको करिब तीन कट्ठा ऐलानी जग्गामा पोखरी खनाउने काम गरे । ऐलानी जग्गाको पोखरीमा पानी भएपछि बाह्रै महिना विद्यार्थीलाई सजिलो भयो । यसबाट अर्को फाइदा के भयो भने दिनभरि सरेइमा चर्ने गाईवस्तु र अन्य जीवजन्तुका लागि पानी खाने ठाउँसमेत भयो ।
शिक्षाका अजस्र स्रोत अधिकारीमा व्यक्तिगत लाभको कुनै मोह थिएन । अहिलेको जस्तो काम गरूँ कि न गरूँ तर नाम चाहिँ हुनुपर्ने भन्ने सोच उनमा थिएन, नत्र उनले किसानका छोराछोरी पढ्ने भएकोले जय किसान भनेर विद्यालयको नाम राख्ने पनि थिएन । अर्को पनि कारण छ, त्यसताका रौतहटबाटै किसान आन्दोलन भएको थियो । यस कारण पनि धरहरीको विद्यालयको नाम जय किसान रहन गएको हो । जे होओस्, उनले चाहेको भए जय किसानको सट्टा आफ्नो नाम राख्दा पनि सम्भवतः कुनै विरोध हुने थिएन । आर्थिक रूपले उनले आफूलाई धराशायी बनाएर विद्यालयलाई सक्नेभन्दा बढी सम्पत्ति दिएका अधिकारी दानवीर हुन् । छ भाइ छोरा र दुई छोरी गरी आठ सन्तानका पिता बनेका अधिकारी वास्तविक अर्थमा जय किसान शिक्षालयका पिता हुन्, जन्मदाता हुन् । यस क्षेत्रकै शैक्षिक अभिभावक हुन् । उनको परिश्रम, आर्थिक लगानी र दूरदृष्टिका कारण उनले बसालेको शिक्षालयको जगमा आज बहुमुखी क्याम्पस संचालन भइरहेको र प्राविधिक महाविद्यालयसमेत संचालनको तैयारी भएको छ । यही शैक्षिक जगमा शिक्षाका अन्य विशाल प्रतिष्ठानहरूको सुखद कामना गर्न थालिएको छ ।
शिक्षाको महान ज्योतिको रूपमा मध्य रौतहटमा आफ्नो प्रकाश लामो समयसम्म छर्दै शिक्षा क्षेत्रको उज्यालो भविष्य आफ्ना उत्तराधिकारीहरूलाई सुम्पँदै अधिकारी करिब ७५ वर्षको उमेरमा वि. सं. २०३६ सालमा आँखा चिम्ले । उनको भौतिक शरीर हामीमाझ नभए पनि उनका सुकार्य र शुभ चिन्तनले सदैव रौतहटेलीलाई शिक्षाको उज्यालो मार्गमा डोरिइरहन प्रेरणा दिइरहने छ ।
(व्रजनन्दन राय यादव, राजदेव चौधरी र अन्यको सहयोगमा आधारित, प्रस्तुति ः सञ्जय साह ‘मित्र’)