आजबाट वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुको पवित्र महिना श्रावण सुरु भएको छ । पात्रो अनुसार आजको दिनलाई कर्कट सङ्क्रान्ति, श्रावण÷साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन र दक्षिणायन आरम्भ भनेर राखिएको छ । साउन महिनाभर मनाउने वा गरिने विभिन्न क्रियाकलापहरू अरु थुप्रै भए तापनि यो पहिलो दिनको आफ्नै महत्व रहेको छ । यो महिनालाई रंगीन महिना, किसानी महिना र झरिको महिना भनेर पनि चिन्ने गरिन्छ । अझ बुढापाकाहरूका भनाइ अनुसार असार दिदी र साउन बहिनी महिना हुन् । असारको अन्तिम दिन दिदीले बहिनीलाई छोडेर जानु पर्ने भएकोले रुदै–रुदै जान्छिन् भन्ने लोकोक्ति अहिलेसम्म पनि यथावत नै छ । सायद लामो झरी पर्ने भएकोले यसो भनिएको होला भन्ने जनविश्वास छ । आजकै दिनबाट यो वर्षका विभिन्न चाडपर्वहरू सुरु हुन्छन् र यो पहिलो पर्व पनि हो । आजको दिनलाई ठाउँ अनुसार विभिन्न तबरले मनाउने गरिन्छ । लुतो फाल्ने पर्व सुन्दा पनि बडो रमाइलो लाग्छ । यो सबै ठाउँमा मनाइन्छ भन्ने चाहिँ छैन । वर्तमान उत्तर आधुनिक युगसम्म आइपुग्दा सहरियाहरुले यसलाई मान्नु नै पर्छ भन्ने छैन । किनभने श्रावण महिनामा अत्यधिक गर्मी हुने र भारी वर्षा हुने भएकोले गर्दा प्रायः कृषकहरू आफ्नो काम गर्ने क्रममा घाम, पानी, झरी र हिलो माटोसँग खेत–बारीमा खट्नु पर्ने भएकोले गर्दा विभिन्न किसिमका चर्म रोगहरू लाग्ने भएकोले त्यसलाई हटाउनका लागि लुतो फाल्ने चलन चलि आएको हो भन्ने जनविश्वास छ जुन कुरा सहरमा त्यति प्रभावकारी नहुन सक्छ । अंग्रेजीमा स्क्याविज भनिने यो रोग खटिरा, दाद अन्तर्गत पर्ने रोग हो । यो अति नै चिलाउने रोग हो । “छोडेर जाऊँ भन्छु मलाई मुसारिरहन्छन्” भन्ने उखान पनि बनेको पाइन्छ । अति नै चिलाएर मान्छे प्रताडित भइरहदा त्यहाँनेर कन्याइरहनुको विकल्प नभएकोले गर्दा साँच्चिकै जस्तो पनि लाग्छ ।
लुतो फाल्ने आ–आफनै परम्परा र जनविश्वास छ । कतै–कतै रातो माटोले नुहाउने गरेको पाइन्छ । तर विडम्वना आजसम्म पनि साउनबाहेक अरु महिनामा रातो माटोले नुहाउनु भनेको गरिबीको पराकाष्टा हो । त्यस्तै गरी कुनै ठाँउमा अमिलो(फल) र भान्टालाई बाँसको सिन्कोले प्वाल पारी फालेर नुहाउनाले पनि लुतो जान्छ भन्ने प्रचलन छ । मध्य पहाडी भागमा लुतो फाल्ने आफ्नै किसिमको रमाइलो चलन छ । भलायो भन्ने वृक्षका हरिया पातहरू ल्याएर घरको दलिनमा घुसारिन्छ । यसै दिन घरबाट वनमा वा ख¥यानमा गइ सल्लाको रुखबाट एक किसिमको खोटोयुक्त झरिलो पलास जसलाई दियालो भनिन्छ बञ्चरोले काटेर ल्याइन्छ । जरैसहित उखेलेर ल्याइएको हरियो बाबियोले त्यस दियालोलाई घरका परिवार संख्या अनुसार एक–एक ओटा राँको बनाइन्छ र साँझ पर्नै लाग्दा घरका सम्पूर्ण सदस्यहरू आँगनको ढिकमा गएर देवी देवता पुकार्दै आफ्नो गाँउको लुतो अर्को गाँउले लैजाओस् भन्ने हेतुले केही कुरा फलाक्दै उक्त बलेको राँको आफ्नो शरीरमा मन्साएर तलतिर फालिन्छ । यी सबैको पछाडिको राज भनेको शरीरबाट अस्वस्थता उन्मूलन होस् भन्ने हो ।
लुतो फाल्ने दिनको प्रसङ्गसँगै पात्रोमै आजको दिनबाट दक्षिणायन आरम्भ भनेर राखिएको छ । शास्त्र अनुसार आजैका दिनबाट सूर्य कर्कट, सिंह, कन्या, तुला, वृश्चिक हुदै धनु राशिसम्म प्रवेश गर्ने भएकोले आजको दिनलाई कर्कट सङ्क्रान्ति भन्ने गरेको कुरा पनि पुष्टि हुन्छ । सूर्य दक्षिणतर्फ सर्दै गएको देखिने हुनाले साउनदेखि पुससम्मको समयलाई दक्षिणायन भन्ने गरिन्छ । यस समयमा रात लामा र दिन छोटा हुन्छन् । माघे सङ्क्रान्तिदेखि असार अन्तिमसम्म उत्तरायण हुन्छ जसमा सूर्य मकर राशि हुदै मिथुन राशिसम्म प्रवेश गर्छन् र पुनः सोही प्रक्रिया दोहोरिन्छ । छ–छ महिना, छ–छ राशि र छ–छ महिनामा तीन–तीन ऋतुको संयोजन नै एक वर्षको समय हो । त्यसकारण अब हामी दक्षिणायनतर्फ प्रवेश गरिसक्यौँ । दक्षिणायनमा पूजापाठ, वर्त, उपासनालगायत तमाम धार्मिक क्रियाकलाप गरिने भएकोले गर्दा प्रायः हाम्रा पर्वहरू यही समयमा पर्छन् । जस्तैःनागपञ्चमी, जनैपूर्णिमा, तीज, दसैं, तिहार, छट, कुलपूजा आदि ।
धर्मग्रन्थ अनुसार यही साउन महिनामा समुन्द्र मन्थन भएको कुरा पनि उल्लेख छ । तत्पश्चात कालकूट नामको खतरनाक विष निस्केको देखिन्छ । उक्त विषले संसारको अस्तित्व नै संकटमा पार्न सक्ने भएको हुनाले यसलाई टार्नका लागि स्वयम् भगवान शिवले विषपान गरी नीलकण्ठ भएको कुरा पुराणमा देखिन्छ । त्यसकारण भगवान शिवलाई नीलकण्ठ पनि भन्ने गरेको पाइन्छ । भगवान शिवका सय बढी नामहरू छन् । विषपान पश्चात भगवान शिवलाई एकदमै जलन हुन्छ जसको कारणले गर्दा कैलाश पर्वतमा गई सुतेर आफ्नो विषको असरलाई कम गरेको कुरा पनि उल्लेख छ । यसरी शान्त, शीतल, स्वच्छ र पवित्र ठाँउमा गएर बस्दा भगवान शिवलाई मुक्ति मिलेकोले गर्दा पनि यो ठाँउ स्वर्ग नै हो भन्ने कुरा पुष्टि हुन आउँछ । कैलाश पर्वतको चिसो वातावरण र पानीले गर्दा भगवान शिवलाई राहत मिलेपछि त्यसै कारणले गर्दा शिवलिङ्गमा जल चढाउने चलन चल्दै आएको पाइन्छ । यसरी जल चढाउँदा भगवान शिव प्रशन्न हुने र आफ्ना इच्छा आकांक्षा पूरा हुन्छन् भन्ने विश्वासले गर्दा आजका दिनसम्म मानिसहरू शिवलिङ्गमा जल चढाउँनका लागि टाढा–टाढासम्मका यात्रा तय गर्छन् । नेपालका विभिन्न शिवालय वा शिवमन्दिर र भारतका विभिन्न देवघरहरुमा यो महिनाभर जल चढाउनेहरुको घुँइचो देखिन्छ ।
यो लेखकको पनि रौतहटको गौर हुदै बिहार राज्यको बैरगनियाबाट रेल चढी सुल्तानगञ्ज पुगेर पवित्र गंगामा स्नान गरी काँवरमा जल बोकेर लगभग एकसय दस कि.मि. को यात्रा खाली खुट्टा पैदल हिड्दै झारखण्डस्थित देवघरमा पुगी जल चढाएको अत्यन्तै रमाइलो र आध्यात्मिक अनुभव छ । पहेलो वस्त्रमा यसरी जल बोकेर जानेहरुलाई वम भनिन्छ । अहिलेको भौतिकवादी दुनियाँमा जसले यस्ता यात्राको तय गर्छ ऊ आध्यात्मिक नबनी सुखै छैन । वातावरण नै त्यस्तो बन्छ । वास्तवमा आस्तिक हुनु भनेकै नकारात्मक सोंच वा काम कारबाहीबाट जोगिनु हो भन्ने कुरा यस्ता क्रियाकलापले पुष्टि गर्छन् । रौतहटको शिवनगर, बाराको शिद्देश्वर र काँटघाट, काठमाडौँको पशुपतिनाथलगायत देशका विभिन्न ठाँउहरुमा काँवरहरुको भिड देखिन्छ । यस्तो यात्रा तय गर्नु भन्दा अगाडि एकदमै संयमित भएर चोखोनितो गर्नु पर्छ ।
यस्तै विविध प्रसङ्गका साथसाथै श्रावण महिनालाई रंगीन पर्व भनिनुका पछाडि पनि अनेक आधारहरू छन् । यो महिना नै शिवमहिमाको पर्व हो भन्ने कुरा विभिन्न क्रियाकलापले छर्लङ्ग पार्छन् । यस महिनामा अविवाहित कन्याहरू हरिया चुरा र कपडा लगाइ भगवान शिवको प्रार्थना गरी वर्त, उपासना गरेमा आफूले चाहेअनुसारको वर पाइन्छ भन्ने विश्वास गर्छन् । विवाहित महिलाहरू पनि आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै प्राय गरी हरिया चुरा, पोते, मेहन्दी लगाई शिवको वर्त बस्छन् । अझ साउने सोमबारको दिनलाई विशेष दिनका रुपमा पनि लिइन्छ । शिवरात्रीमा शिवको महिमा एक दिन हुन्छ भने साउनमा पूरै महिना हुन्छ । यद्यपि यस महिनामा पनि शिवबुटी चढाउने गरिन्छ । यसै ऋतुमा पर्ने नागपञ्चमी, रक्षावन्धन, तीज जस्ता पर्वहरुमा प्राय मान्छेहरू नयाँ पहिरन र गर–गहनामा सजिएर सिङ्गै महिना नै रंगीन बनाउछन् । अर्कोतर्फ किसानहरू पनि आफ्नो कामलाई थाती राखी यी पर्व मनाउन जुट्छन् । यसरी सामुहिक रुपमा चाडपर्व मनाउनुले मानिसमा भएका रिसराग, द्वेष हट्न गई मानवीयताको नाता गाँसिन जान्छ । वास्तवमा नेपाल वहुजातीय, वहुभाषिक, वहुसाँस्कृतिक र वहुधार्मिक मुलुक भए तापनि अनेकतामा एकता भएर आजका दिनसम्म आप्mनो पहिचान कायम गरिराख्नुमा यी र यस्ता पर्व, चालचलन र विश्वासले गर्दा नै हो भन्ने कुरामा हामी सबै विश्वस्थ छौँ । यही नै हाम्रो अन्तिम जीवन जिउने कला हो र मुक्तिमार्ग पनि हो । जय भोलेनाथ !