आजदेखि सूर्य दक्षिणायन हुन्छ भन्ने विश्वास रहेको छ । यो भन्नुको अर्थ के हो भने आजदेखि सूर्य अब विस्तारै दक्षिणतिर हुँदै जान्छ । आजदेखि रात लामो हुँदै जाने र दिन सानो हुँदै जाने हुन्छ भन्ने विश्वास रहेको छ । पूर्वीय संस्कृतिमा जसरी माघको एक गतेको दिनदेखि सूर्य उत्तरायन हुन्छ भनिन्छ, त्यसै गरी आज साउनको एक गतेदेखि सूर्य दक्षिणायन हुन्छ भन्ने विश्वास रहेको छ । तराई मधेसमा माघे संक्रान्तिको विशेष महत्व हुन्छ तर साउने संक्रान्तिलाई खासै ठूलो महत्वका साथ हेरिएको पाइँदैन । आजदेखि रात लामो हुँदै जाने कुरो पनि धेरैले बुझ्न सकेका छैनन्, यद्यपि कतिपय ज्येष्ठ नागरिकले भने यस कुरोलाई स्वीकार गरेका छन् । लगभग रात छ महिना लामो र यसको विपरीत छ महिना दिन लामो हुने हुन्छ । माघदेखि रात छोटो हुन सुरु हुन्छ भने साउनदेखि रात ठूलो हुन सुरु हुन्छ भन्ने कुरालाई सजिलै पत्याउन सकिन्छ ।
साउनको संक्रान्तिदेखि नेपालमा आर्थिक वर्ष प्रारम्भ हुन्छ । नेपालको आर्थिक वर्ष साउनको प्रारम्भसँगै प्रारम्भ हुने र असारको मसान्तसँगै समाप्त हुने गर्दछ । आर्थिक वर्ष प्रारम्भ हुनु भनेको औपचारिक प्रत्येक संस्थाले आजदेखि कारोबारको नयाँ सुरुआत गर्नुपर्ने हो । प्रत्येक संघसंस्थाले आजदेखि आर्थिक कारोबारको आजदेखि नयाँ हिसाब किताब राख्नु पर्ने हुन्छ । कतिपय संघसंस्थाले सम्बन्धित निकायबाट प्रमाणित गराइएको नयाँ रजिस्टर नै प्रयोग गर्नुपर्ने पनि हुन्छ । देशकै औपचारिक आर्थिक प्रणाली आजदेखि सुरु हुने हुनाले आर्थिक वर्षको दृष्टिकोणले आजको दिनको विशेष महत्व रहेको छ ।
नेपाली संस्कृतिमा आजको दिनलाई विशेष रुपमा लिने गरिएको छ । आर्थिक वर्ष बाहेकको क्षेत्रमा यदि जनजीवनलाई विचार गर्ने हो भने साउन महिनाको फरक महत्व रहेको छ । हुन त असार पूर्णिमा आउन अझै केही दिन बाँकी छ तर पनि गतेलाई मान्नेमध्ये कतिपयले आजदेखि एक महिना शाकाहार भोजन गर्न सुरु गर्दछन् । तिथिलाई मान्नेहरुले भने असारको पूर्णिमा लागेपछि एक महिना शाकाहार बस्दछन् ।
नेपालको आर्थिक क्षेत्रमा आजदेखि सुरु भएको वर्षले विशेष महत्व राख्ने देखिन्छ । अहिले नयाँ सरकार गठन भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएको छ । आशा छ नयाँ आर्थिक वर्षमा देशको आर्थिक प्रगति नयाँ किसिमले हुने छ ।